बक्सिङ अक्षयकोषमा ३ लाख ८१ हजार



हेटौंडा, (नेस) ।

मकवानपुरका बक्सिङ खेलाडीको हित र विकासका लागि मकवानपुर जिल्ला बक्सिङ संघले अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषमा करिब ३ लाख ८१ हजार रुपियाँ संकलन भएको मकवानपुर जिल्ला बक्सिङ संघ अध्यक्ष दीपेश जोशीले जानकारी दिए ।

शनिबार पत्रकार सम्मेलन गर्दै संघ अध्यक्ष जोशीले खेलाडी तथा संघको प्रवद्र्धनका लागि अक्षयकोष निर्माण गरिएको बताए । ‘अक्षयकोषलाई १० लाख रुपियाँसम्म पुर्‍याउने लक्ष्य छ,’ अध्यक्ष जोशीले भने–बैंकमा १ लाख ७५ हजार रुपियाँ जम्मा गरी अक्षयकोष सञ्चालनमा ल्याएका थियौं । हाल ३ लाख ८१ हजार रुपियाँ संकलन भइसकेको छ । बक्सिङ खेलप्रति खेलाडी आकर्षित हुन् भन्नाका निम्ति अक्षयकोष स्थापना गरिएको जोशीले बताए ।

अक्षयकोषका लागि संघका अध्यक्ष जोशीले १ लाख, पुरनबहादुर जोशीले १ लाख, जिल्ला बक्सिङ संघ प्रशिक्षक लालबहादुर पौडेलले ५० हजार, प्रकाश पुरीले ५१ हजार, अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी सुशील घिमिरेले २५ हजार, सुजन ढकालले २५ हजार, भूपेन्द्र विष्टले १० हजार, अनिल रावलले १० हजार र भाजुरत्न श्रेष्ठले १० हजार रुपियाँ सहयोग गरेका छन् ।

जोशीले ५ लाख रुपियाँ बराबरको बक्सिङ प्रशिक्षण सामग्री सहयोग गरेका छन् । जिल्लामा बक्सिङ खेललाई नयाँ उचाइमा पुर्‍याउन खेलाडीलाई प्रशिक्षण सामग्री आवश्यक पर्ने भएकाले व्यक्तिगत खर्चमा ५ लाख ४२ हजार ९ सय २२ रुपियाँ बराबरको प्रशिक्षण सामग्री सहयोग गरिएको उनले बताए । मकवानपुर जिल्ला बक्सिङ संघ प्रशिक्षक पौडेलले खेलाडीको प्रशिक्षणका लागि चाहिने सामग्री नहु“दा निकै कठिनाइ भोग्नुपरेको बताए ।

हेटौंडा–४ स्थित कभर्डहलमा रहेको जिल्ला बक्सिङ संघको प्रशिक्षणस्थलमा उनले बक्सिङका मुुख्य प्रशिक्षक पौडेललाई प्रशिक्षण सामग्री हस्तान्तरण गरेका छन् । बक्सिङ प्रशिक्षणका लागि काठमाडौं उपत्यकाभन्दा बाहिर हेटौंडा सबभन्दा उत्कृष्ट र प्रशिक्षण सुविधायुक्त जिल्ला भएको उनले दाबी गरे । बक्सिङ प्रशिक्षणका लागि आवश्यक थप सहयोग गरिने उनले प्रतिबद्धता व्यक्त गरे । बैठकमा द्वितीय उपाध्यक्ष नियुक्त पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी सुशील घिमिरेलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्