बायर्न म्युनिखको जित



बर्लिन, (एजेन्सी) ।

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले जितको नतिजा निकालेको छ ।बुन्डेसलिगामा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिनेक्रममा बायर्नले घरेलु टोली ग्रिउथेर फर्थलाई ३–१ गोलअन्तरले सहजै पराजित गरेको हो ।

बायर्नको जितमा जर्मन मिडफिल्डरद्वय थोमस मुलर र योसुवा किम्मिखले गोल गर्दा एक गोल भने उपहारमा पाएको थियो । त्यस्तै, ग्रिउथेर फर्थका सेडरिक इट्टेनले एक गोल फर्काए ।

१० खेलाडीमा समेटिएको बायर्नले घरेलु टोलीविरुद्ध खेलको १०औं मिनेटमा थोमस मुलरको गोलबाट अग्रता लिएको थियो । खेलको ३१औं मिनेटमा योसुवा किम्मिखले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई पहिलो हाफसम्म २–० को अग्रता दिलाए ।

खेलको ४८औं मिनेटमा बेन्जामिन पाभार्ड सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो ।तर, ६८औं मिनेटमा सेवास्टिएन ग्रिसवेकले आत्मघाती गोल गरेपछि बायर्न सहज जिततर्फ अग्रसर बन्यो ।

निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा सेडरिक इट्टेनले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए पनि घरेलु टोलीले हार भने टार्न सकेन । जितसँगै अपराजित रहेको बायर्नको ६ खेलबाट १६ अंक भएको छ । अर्कोतिर पराजित ग्रिउथेर फर्थको मात्र एक अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्