काठमाडौं किंग्सको जित



नेपाल समाचारपत्र, काठमाडौं ।

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० मा काठमाडौं किंग्स इलेभेनले जित हात पारेको छ ।शनिबार भएको उद्घाटन खेलमा काठमाडौं किंग्सले ललितपुर प्याट्रियट्सलाई ७ विकेटले हराएको हो ।

ललितपुर प्याट्रियट्सले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले ३ विकेटको क्षतिमा १ सय ६० रन बनाएर भेटाएको थियो । काठमाडौंले यति रन बनाउन मात्र १४.२ ओभर मात्रै खेलेको थियो ।

काठमाडौंको जितमा रायन बर्लले ३४ बलमा ७ छक्का र ३ चौकासहित ७३ रन बनाए । यस्तै, ओपनर रहमानउल्लाह गुरबाजले ३६ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ५६ रनको योगदान दिएका थिए ।

अन्यमा राजु रिजालले १९ रन बनाए भने सुवास खकुरेल शून्यमा र अमित श्रेष्ठ ४ रनमा रनआउट भएका थिए । ललितपुरका बलरमा पवन सर्राफले एक विकेट लिएका थिए ।

यसअघि, त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ५७ रन बनाएको थियो । टोलीका लागि पवन सरार्फले सर्वाधिक ६१ रनको योगदान दिए । त्यस्तै, योगेन्द्रसिंह कार्कीले ३३ रन बनाए ।

काठमाडौंका बलरमा जितेन्द्र मुखियाले ४ विकेट लिए भने गुलसन झा र रायन बर्लले २/२ विकेट हात पारे । तर, स्टार बलरद्वय सन्दीप लामिछाने र साहिद अफ्रिदी विकेटविहीन हुँदै महँगो सावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्