आज नेपाल र ओमानबीच भिडन्त



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोली अहिले कतारमा छ । आगामी अक्टोबर १ देखि माल्दिभ्समा आयोजना हुने साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपको तयारीका लागि गत साता नेपाली टोली कतार पुगेको हो । नेपाली टोलीका प्रमुख प्रशिक्षक अहमद अल्मुताइरीको प्रशिक्षणमा नेपाली राष्ट्रिय टोली अहिले साफ च्याम्पियनसिपको तयारीमा व्यस्त छ ।

साफ च्याम्पियनसिप तयारीअनुरूप नै नेपालले आइतबार राति ओमानको राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण म्याच खेल्दैछ । नेपालले कतार युनिभर्सिटी ग्राउन्डमा ओमानको सामना गर्नेछ । यसअघि, पनि नेपालले साफलाई मध्यनजर गरी दशरथ रंगशालामा भारतसँग दुईवटा मैत्रीपूर्ण म्याच खेलेको थियो ।

जसमा नेपाली टोलीले पहिलो खेलमा १–१ गोलको बराबरीको नतिजा निकालेको थियो भने दोस्रो म्याचमा २–१ ले पराजय बेहोरेको थियो । तर, आइतबार हुने खेलमा भने नेपालले तुलनात्मकरूपमा भारतभन्दा बलियो फुटबल टोलीसँग खेल्दैछ ।

ओमानले गत सेप्टेम्बर २ तारिखमा भएको एसियाली क्षेत्रको फिफा विश्वकप छनोटअन्तर्गत तेस्रो चरणको म्याचमा जापानजस्तो सशक्त टिमलाई उसैको घरेलु रंगशालामा १–० ले हराएर आफ्नो शक्ति देखाइसकेको छ । पछिल्लो फिफा वरीयता हेर्ने हो भने ओमान ७८औं स्थानमा छ । नेपाल भने नब्बे स्थान तल अर्थात् १ सय ६८औं स्थानमा छ ।

नेपाल र ओमानबीचको तथ्यांक हेर्ने हो भने ओमानले शतप्रतिशत जित निकालेको छ । नेपालले अहिलेसम्म ओमानसँग कुल १० म्याच खेलेको छ । तर, ती सबै खेलको नतिजा ओमानको पक्षमा गएको छ । नेपालले ओमानविरुद्ध खेलेका १० खेलमा एक मात्र गोल गरेको छ भने ४२ गोल व्यहोरेको छ ।

तथ्यांकमा नेपाल र ओमान

नेपालले सन् १९८४ को अक्टोबर ३१ मा ओमानसँग पहिलोपटक खेलेको थियो । उक्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचमा नेपाल ओमानसँग ८–० को फराकिलो गोलअन्तरले पराजित भएको थियो ।

त्यसैगरी, सन् १९९४ को एसियन गेम्समा समूह चरणको अन्तिम खेलमा दोस्रोपटक ओमानसँग भेट हुँदा नेपाल १–० को झिनो गोलअन्तरले पराजित भएको थियो । त्यसपछि १९९६ को एसियन कप छनोट खेलमा भने नेपाल ओमानसँग ७–० र २–१ गोलअन्तरले पराजित भएको थियो ।

त्यसपछि, सन् १९९७ मा भएको फिफा विश्वकप छनोटमा भेट हुँदा नेपालले ओमानलाई १–० र ६–० ले नतिजा सुम्पेको थियो । त्यसपछि, सन् २००३ को एसियन कप छनोटको ड्र अनुसार ओमानसँग भिडेको नेपालले पहिलो खेल ७–० र दोस्रो खेल ६–० ले गुमाएको थियो ।

त्यसपछि सन् २००७ मा भएको फिफा विश्वकप छनोट चरणअन्तर्गत मस्कट र काठमाडौंमा भएको होम एन्ड अवे को दुवै म्याचमा नेपाल ओमानसँग समान २–० गोलअन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्