रियलको सहज जित



मेड्रिड, (एजेन्सी) ।

स्पेनिस ला लिगा फुटबलमा रियल मेडिड्रले सहज जित निकालेको छ । स्पेनिस ला लिगाअन्तर्गत बुधबार राति भएको खेलमा रियलले मालोकाविरुद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको हो । घरेलु मैदानमा रियलले मालोर्कालाई ६–१ गोलअन्तरले हराएको हो । रियलको जितमा विंगर मार्काे असेन्सियोले ह्याट्रिक पूरा गर्दा कप्तान करिम बेन्जेमाले पनि दुई गोलको योगदान गरे । उक्त खेलमा गरेको दुई गोलसँगै बेन्जेमाले जारी लिगमा व्यक्तिगत गोल संख्या ८ पुर्‍याएका छन् । त्यस्तै, रियलका लागि थप एक गोल इस्कोले गरेका थिए । मलोर्काका तर्फबाट काङ इन लिले सान्त्वना गोल फर्काएका थिए ।

रियलले खेलको तेस्रो मिनेटमै बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । २४औं मिनेटमा मार्काे असेन्सियाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । २५औं मिनेटमा काङ इन लिले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि २९औं मिनेटमा असेन्सियाले गोल गर्दै पहिलो हाफमा रियललाई थप बलियो बनाए । दोस्रो हाफमा थप सशक्त देखिएको रियलले ५५औं मिनेटमा अर्को गोल थप्यो । असेन्सियोले करिम बेन्जेमाको पासमा ह्याट्रिक पूरा गरे । ७८औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दे रियलको अग्रता फराकिलो बनाए । ८४औं मिनेटमा इस्कोले भिनियिस जुनियरको पासमा गोल रियललाई फराकिलो जित दिलाएका थिए । ६९ प्रतिशत बल पोसेसन राखेको रियलले खेलभर लगातार गोलको अवसर बनाएको थियो । ह्याट्रिक पूरा गरेका असेन्सियो ‘म्यान अफ दि म्याच’ बने । जितसँगै लिगमा अपराजित यात्रा जारी राखेको रियल ६ खेलबाट १६ अंक बनाएको छ ।

बुधबार राति नै भएको अर्को खेलमा सेभियाले पनि भ्यालेन्सियालाई ३–१ गोलले हरायो । सेभियाको जितमा पपु गोमेजले तेस्रो र राफा मिरले २२औं मिनेटमा गोल गरेका थिए । सेभियाले तेस्रो गोल भने भ्यालेन्सियाबाट आत्मघाती उपहार पाएको थियो । भ्यालेन्सियाका लागि हुगो डुरोले ३१औं मिनेटमा सान्त्वना गोल गरेका थिए । हारपछि १० अंक बनाएको भ्यालेन्सियाको १० अंक मात्र रहेको छ । अन्य खेलमा स्पान्योलले अलाभेस र भिल्लारियलले इल्चेलाई ४–१ गोलले पराजित गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्