अफ्रिदीको आगमनले ईपीएलमा रौनकता



फिरोज राजोपाध्याय, काठमाडौं ।

साहिद अफ्रिदी नामले नै क्रिकेटका समर्थकको शरीरमा तरंग ल्याउँछ । पाकिस्तानका ब्याटसम्यान अफ्रिदी विस्फोटक ब्याटिङ गर्ने गुणले विश्वमै परिचित छन् । यही कारणले अफ्रिदीको नेपाल आगमनबाट क्रिकेटका नेपाली समर्थकलाई रोमाञ्चक बनाएको हो । यति मात्रै होइन उनको उपस्थितिले शनिबारदेखि शुरू हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेटमा समेत रौनकता थप्नेछ । ४४ वर्षीय अलराउन्डर अफ्रिदी बिहीबार नेपाल आइपुगेका हुन् ।

चौथो संस्करणको ईपीएलमा खेल्ने विदेशी खेलाडीमध्ये निकै चर्चित व्यक्तित्वमा अफ्रिदी एक्लो खेलाडी हुन् । अफ्रिदीले ईपीएलमा काठमाडौं किंग्स इलेभेनबाट खेल्नेछन् । काठमाडौं किंग्सका कप्तान विश्व परिचित नेपाली लेग स्पिनर सन्दीप लामिछाने हुन् । अन्य खेलाडीमा दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया, जनक प्रकाश, रहमानउल्लाह गरबाज, सुवास खकुरेल, सागर पुन, दीपेन्द्र राउत, गुलसन झा, सिद्धान्त लोहनी, रयान बर्ल, अमरसिंह रउतेला, मोहम्मद सम्सद शेख, राजु रिजाल, अमित श्रेष्ठ रहेका छन् ।

अफ्रिदीले शनिबार हुने खेलमा ललितपुर प्याट्रियोटसविरुद्ध खेल्नेछन् । यस्तै, सोमबार विराटनगर वारियर्सविरुद्ध खेल्ने उनले ईपीएलमा यी दुई खेल मात्रै खेल्नेछन् । यी दुई दिन अफ्रिदीले कीर्तिपुरको त्रिवि मैदानमा दर्शकलाई मनोरञ्जन दिनेमा विश्वास गर्न सकिन्छ । अफ्रिदीको ब्याटबाट छक्का चौकाको वर्षा हुने सबैको आस रहेको छ । फ्रेन्चाइजी लिगमा उनले ५ हजार ६ सय ९५ रन बनाइसकेका छन् । साथै, उनले २ सय ६६ विकेट पनि हात पारिसकेका छन् ।

अफ्रिदीले २५ वर्षअघि केन्याको नैरोबीमा भएको एकदिवसीय खेलमा डेब्यु गरेका थिए । उनले १९९६ मा क्रिकेटमा पाइला चाल्नेबित्तिकै श्रीलंकाविरुद्ध ३७ बलमा शतक प्रहार गरेर सनसनी मच्चाए । यो एकदिवसीयमा छिटो शतकका रूपमा कीर्तिमान बनेको थियो । अफ्रिदीले उक्त खेलमा ११ छक्का र ६ चौका प्रहार गरेका थिए । यसै प्रदर्शनदेखि अफ्रिदीको नाम विश्व क्रिकेटमा विस्फोटक ब्याटसम्यानको रूपमा लिइयो र विपक्षी बलरलाई तर्साउने नामसमेत बन्यो ।

अफ्रिदीको यो कीर्तिमानलाई पछि न्युजिल्यान्डका ओपनर कोरी जेम्स एन्डरसनले छायाँमा पारे । उनले सन् २०१४ मा वेस्टइन्डिजविरुद्ध ३६ बलमा शतक प्रहार गरेका थिए । अर्को वर्षमा दक्षिण अफ्रिकाका ब्याटसम्यान एभी डिभिलियर्सले ३१ बलमा शतक प्रहार गरेर दुवैको कीर्तिमानलाई छायाँमा पारेका थिए । डिभिलियर्सले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध छिटो शतकको कीर्तिमान राखेका थिए ।

६ फिट अग्ला अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । उनी अहिले फ्रेन्चाइजी लिगमा भने खेलिरहेका छन् । उनले जुलाई २०१० मा टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए । १९९८ मा अस्ट्रेलियाविरुद्ध टेस्टमा डेब्यु गरेका उनले उक्त फरम्याटमा ५ शतक प्रहार गरे । उनले २७ टेस्टबाट केवल १ हजार ७ सय १६ रन मात्रै बनाएका थिए । उनले टेस्टमा ४८ विकेट लिएका थिए ।

यसैगरी, २०१५ मा सन्न्यास लिएका अफ्रिदीले वानडेमा ३ सय ९८ खेल खेलेर ८ हजार ६४ रन बनाए । उनले वानडेमा ६ शतकसहित ३९ अर्धशतक प्रहार गरेका थिए । उनले वानडेमा ३ सय ९५ विकेट लिएका थिए । केन्याविरुद्ध १९९६ मा डेब्यु गरेका उनले टी–२० अन्तर्राष्ट्रियमा ९९ खेल खेलेर ९८ विकेट लिनुका साथै १ हजार ४ सय १६ रन बनाए । अफ्रिदीले २०१७ मा टी–२० र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्