बर्मुडा दुबोमा खेल्ने इच्छा अधुरो



नेपाल समाचारपत्र, बाँके।

दुई वर्षदेखि ठप्प रहेको नेपालगञ्ज रंगशालाभित्रको फुटबल गतिविधि लयमा फर्किएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको समन्वयमा नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले रंगशालाभित्रको फुटबल मैदान, ट्र्याकको घाँस र प्याराफिट सरसफाइ गरिदिएपछि रंगशालामा फुटबल गतिविधि हुन थालेको हो । तर, बर्मुडा दुबोमा खेल्ने इच्छा भने अधुरै रहेको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि नेपालगञ्ज रंगशालामा बर्मुडा दुबो रोपिएको थियो । बर्मुडामा आठौं र त्यसपछि प्रदेशस्तरीय फुटबल प्रतियोगिता मात्रै भयो । त्यसपछि, रंगशालामा फुटबल गतिविधि भएनन् । लामो समयसम्म प्रतियोगिता नहुँदा ३६ लाखको बर्मुडा दुबोलाई स्थानीय घाँसले खाइदियो । अहिले बर्मुडा दुबो देख्न सकिँदैन । जिल्लाका खेलाडीको बर्मुडा दुबोमा खेल्ने सपना साकार हुन सकेन । स्थानीय खेलाडीको बर्मुडा घाँसमा खेल्ने धोका अधुरो नै रह्यो ।

यसको बाबजुद अहिले रंगशालामा दैनिकजसो नै मैत्रीपूर्ण फुटबल भइरहेका छन् । रंगशालामा फुटबल खेल्न सकिने अवस्था आएपछि क्लबस्तरीय फुटबल प्रतियोगिताको तयारी पनि भएको छ । नेपालगञ्जको रोयल फुटबल क्लबले एक लाख राशिको फुटबल प्रतियोगिता गराउने घोषणा गरेको छ । रोयलका अध्यक्ष एवं लुम्बिनी एन्फाका उपाध्यक्ष सूर्यमणि अधिकारीले असोज १५ गतेदेखि नेपालगञ्ज रंगशालामा एक लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार रहेको फुटबल प्रतियोगिता गराउने जानकारी दिनुभयो । प्रथम वागेश्वरी नकआउट फुटबल प्रतियोगिता नाम दिइएको प्रतियोगिताको उपविजेताले ५१ हजार १ सय ११ रुपैयाँ पाउनेछ ।

प्रतियोगिताका लागि असोज ११ गतेसम्म टिम दर्ता मिति तोकिएको छ । बाँके जिल्ला फुटबल संघ, राष्ट्रिय खेलकुद परिषद्, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारमध्ये कुनै एकमा दर्ता भएका क्लबले प्रतियोगितामा भाग लिन पाउने नियम बनाइएको छ । प्रतियोगितामा भाग लिने खेलाडी बाँके जिल्लावासी हुनुपर्नेछ । विभागीय क्लबको हकमा बाँके जिल्लामा कार्यरत हुनुपर्नेछ ।

बाँकेमा फुटबल संघमा ११ वटा क्लब आबद्ध छन् । त्यसबाहेक राखेप, जिल्ला प्रशासन कार्यालय वा स्थानीय सरकारमा दर्ता भएका गरी डेढ दर्जन बढी क्लबले प्रतियोगितामा भाग लिने क्लबका महासचिव दीर्घराज आचार्यले जानकारी दिनुभयो । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले नेपालगञ्ज रंगशालामा प्रतियोगिता गराउन र खेलाडीलाई अभ्यास गर्न दिन थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्