एट्लेटिकोको जितमा स्वारेज नायक



मेड्रिड, (एजेन्सी) ।

उरुग्वेली स्ट्राइकर लुइस स्वारेजले नायकको भूमिका निर्वाह गरेपछि एट्लेटिको मेड्रिडले स्पेनिस ला लिगामा गेटाफेविरुद्ध पुनरागमन जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई उसैको घरेलु मैदानमा २–१ गोलले हराउँदा स्वारेजले दुवै गोल गरे । १० खेलाडीमा समेटिएको गेटाफे भने सुरुवाती अग्रता लिएर पनि हार खेप्न बाध्य भयो । खेलमा शुरुआती गोल भने गेटाफेका स्टेफन मित्रोभिकले गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा गेटाफेले ४५औं मिनेटमा अग्रता लिएको थियो । स्टेफनले हेड गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । तर, गेटाफेको खुसी लामो समयसम्म भने टिकेन । खेलको ७४औं मिनेटमा गेटाफे १० खेलाडीमा समेटियो । कार्लेस एलेना दोहोरो पहेंलो कार्ड पाउँदै बाहिरिएपछि गेटाफे दबाबमा देखिएको थियो । जसको फाइदा पाहुना टोली एट्लेटिकोले उठाउन सफल भयो ।

खेलमा ६८ प्रतिशत बल पोसेसन राखेको एट्लेटिकोले ६८औं मिनेटमा बराबरी गोल फर्काएको थियो । स्वारेजले मारियो हर्मोसोको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि इन्जुरी समयमा स्वारेजले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए । स्वारेजले सिम भर्सलज्कोको पासमा हेड गोल गरेका थिए । यससँगै स्वारेजले जारी सिजन तीन गोल गरेका छन् । स्वारेज ‘म्यान अफ दि म्याच’ भए ।

जितसँगै एट्लेटिकोले लिगमा अपराजित यात्रालाई पनि निरन्तरता दिएको छ । जितसँगै एट्लेटिकोको ६ खेलबाट १४ अंक भएको छ । पराजित गेटाफे भने अझै पनि अंकविहीन नै छ ।

मंगलबार राति नै भएको अर्को खेलमा रायो भालेकानोले एथ्लेटिक बिल्बाओलाई उसैको मैदानमा २–१ गोलले हरायो । रायो भालेकानोको जितमा अल्भारो गार्सियाले पाँचौं र राडामेल फाल्काओले दोस्रो हाफको इन्जुरी समयमा गोल गरे । बिल्बाओले भने आत्मघाती गोल उपहार पाएको थियो । खेलको ३३औं मिनेटमा रायो भालेकानोका पाथे सिसको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । त्यस्तै, अर्को खेलमा सेल्टा भिगोले पनि लेभान्तेलाई २–० गोलले पराजित गर्दै तीन अंक बटुल्यो ।

प्रतिक्रिया दिनुहोस्