पर्यटन व्यवसायको टेवाका लागि साइकल यात्रा



मिला दरै, तनहुँ ।

कोभिड–१९ का कारण पर्यटनले थिलोथिलो पारेको पर्यटन व्यवसायलाई चलायमान बनाउन साइकल यात्रीले टेवा पुर्‍याउन साइकल यात्रा अभियान थालेको छ । नेपालीहरूको घुम्ने संस्कृति विकासका लागि विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा थालिएको अभियान थालिएको हो । इलामदेखि रारासम्मको साइकलयात्रा अभियानका सहभागीलाई बुधबार दमौलीमा स्वागत गरिएको छ ।

व्यास नगरपालिकाको आयोजनामा ४० साइकलयात्रीलाई स्वागत तथा सम्मान गरिएको थियो । तनहुँ व्यास नगरपालिका–१० दुम्सीका साइकल यात्री विनोद सापकोटासमेत सहभागी टोलीलाई व्यास नगरपालिकाले आफ्नै कार्यालयमा एक कार्यक्रम गरी सम्मान गरेको छ ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेले व्यास नगरपालिकाले समेत पर्यटकीय प्रवद्र्धनका लागि विगतमा म्याराथन र महिला दौड प्रतियोगिता गरेको भन्दै साइकल यात्रा पनि टेवा पुग्ने बताउनुभयो । दमौलीमा महर्षि वेदव्यासको एक सय आठ फिट अग्लो मूर्ति निर्माणको काम थालिएको भन्दै उहाँको जन्मथलोको प्रचारमा समेत साइकलयात्रीहरूबाट सहयोगको अपेक्षा न्यौपानेले गर्नुभयो ।

नगरपालिकाले कृषिसँगै पर्यटनमा समेत जोड दिएको उहाँले बताउनुभयो । नगर उप–प्रमुख मिरा जोशीले व्यास नगरपालिकाको गौरव बढाउने गरी यात्रा गरेको बताउनुभयो ।

नगरप्रमुख न्यौपानेलाई झापाको बिर्तामोडको तर्फबाट पठाइएको चिनो हस्तान्तरण गर्दै साइकलयात्री शाहले कोभिडका कारण पर्यटन व्यवसाय नै ठप्प भएको अवस्थामा यसलाई सञ्चालन घुम्ने संस्कृतिको विकास गर्न र पर्यटन प्रवद्र्धनमा लागिपरेको उहाँले बताउनुभयो । उहाँले ४० बढी साइकलयात्रामार्फत पर्यटन प्रवद्र्धन र विश्वसामु प्रचारप्रसार गर्न लागिपरेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले नगरपालिकाले यसरी साइकल यात्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । रोटरी क्लब अफ दमौलीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले पर्यटन प्रवद्र्धनको पवित्र उद्देश्य पूरा गर्न यात्रीहरूलाई शुभकामना दिनुभयो ।

सिर्जनशील युवा मञ्चका अध्यक्ष पवन पौडेलले यात्रीलाई व्यासभूमिले स्वागत गरेको भन्दै पूर्वीय दर्शनका प्रमुख ग्रन्थकार महर्षि वेदव्यासको भूमिबारे प्रचारमा यात्रीहरूबाट सहयोग पुग्ने बताउनुभयो । रारासम्म पुग्ने यात्राका क्रममा टोली बुधबार भने पोखरामा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्