लिभरपुलको सहज जित



लन्डन, (एजेन्सी)।

मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस फुटबल लिग (ईएफएल) कपको तेस्रो राउन्डको खेलमा प्रिमियर लिग प्रतिद्वन्द्वी नर्विच सिटीलाई सहजै पराजित गरेको छ ।

लिभरपुलले नर्विच सिटीलाई उसैको मैदानमा ३–० गोलअन्तरको सहज जित निकालेको हो । लिभरपुलको सहज जितमा ताकुमी मिनामिनोले दुई र डिभोक ओरिगीले एक गोल गरे । जितसँगै लिभरपुलले चौथो चरणमा स्थान पक्का गरेको छ ।

कारो रोड नर्विचमा मंगलबार राति भएको खेलको चौथो मिनेटमा नै ताकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनले डिभोक ओरिगीको पासमा गोल गरेका थिए । ४२औं मिनेटमा घरेलु टोली नर्विचले पेनाल्टीमार्फत खेललाई बराबरीमा ल्याउने अवसर पाए पनि क्रिस्टोसको पेनाल्टी काइओमहिन केल्लेहरले बचाउँदै लिभरपुलको बराबरी टारे ।

५०औं मिनेटमा डिभोक ओरिगीले कोन्स्टानटिनोस टिसिमकासको पासमा गोल गर्दै लिभरपुलको अग्रत दोब्बर पारे । ८०औं मिनेटमा ताकुमी मिनामिनोले एलेक्स अक्सलेड चेम्बरलेनको पासमा गोल गर्दै लिभरपुललाई ३–० को सहज जित दिलाए । उक्त खेलमा प्रशिक्षक योर्गेन क्लोपले नर्विचविरुद्धको पाँच युवा खेलाडीलाई मौका दिएको थियो । १६ वर्षीय विंगर काइडे गार्डाेन, १८ वर्षीय डिफेन्डर कोनोर ब्राडले, २२ वर्षीय गोलरक्षक काइओमहिन केल्लेहर र १८ वर्षीय मिडफिल्डर टेलर मोर्टनले मौका दिएको थियो ।

प्रतियोगिताअन्तर्गत नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले पनि वेकम्ब वान्डेरर्समाथि सानदार पुनरागमन जित निकाल्यो । सिटीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै बेकम्बमाथि ६–१ को फराकिलो जित निकालेको हो । सिटीको फराकिलो जितमा रियाद महारेजले दुई तथा केभिन डि ब्रुएन, फिल फोडेन, फेरान टोरेस र कोल पाल्मेरले समान एक गोल गरे । वेकम्बका ब्रान्डन हानलानको गोल सान्त्वना बन्यो ।

इतिहाद स्टेडियममा गोलको वर्षा भएको खेलमा पाहुना टोली वेकम्बले २४औं मिनेटमा ब्रान्डन हानलानको गोलबाट अप्रत्यासित अग्रता लिएको थियो । उनले रायन टाफाजोलीको पासमा गोल गरेका थिए । तर, त्यो अग्रता लामो समय टिकेन । २९औं मिनेटमा केभिन डि ब्रुएनले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई खेलमा फर्काए ।

४३औं मिनेटमा रियाद महारेजले जोस विल्सन इसब्रान्डको पासमा तथा पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा फिल फोडेनले रियाद महारेजको पासमा गोल गर्दै सिटीलाई ३–१ को अग्रता दिलाए ।

सिटी यतिमै रोकिएन । ७१औं मिनेटमा फेरान टोरेसले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई खेलमा ४–१ ले अघि बढाए । ८३औं मिनेटमा रियाद महारेजले रहिम स्टर्लिङको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो । ८८औं मिनेटमा सब्सिच्युट फरवार्ड कोल पाल्मेरले लुक मेवेट तावुको पासमा गोल गर्दै सिटीलाई ६–१ को फराकिलो जित दिलाए । पाल्मेर ७२औं मिनेटमा फेरान टोरेसको स्थानमा मैदान छिरेका थिए । मंगलबार राति नै भएका अन्य खेलहरूमा ब्रेन्टफर्डले ओल्डहम ७–० ले हराउँदा बर्नलेले पनि रोचडालेलाई ४–१ ले तथा प्रेस्टनले चेल्टेनहमलाई ४–१ ले पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्