प्रदेश खेलकुदद्वारा प्रतियोगिताका लागि आर्थिक सहयोग



हेटौंडा, (नेस) ।

देशकै सर्वाधिक धनराशिको पुरस्कार भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता र प्रदेश लिग फुटबल प्रतियोगिताका लागि वागमती प्रदेश सरकारले सहकार्य गर्ने भएको छ ।

वागमती प्रदेश खेलकुद विकास परिषद् र अखिल नेपाल फुटबल संघबीच दुईवटा प्रतियोगिता सञ्चालनका लागि एक करोड रकमको सम्झौता भएको हो । प्रदेश खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत विनियोजन भएको रकमबाट शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि ५० लाख र प्रदेश लिग फुटबलका लागि ५० लाख रकम प्रदेश खेलकुद परिषद्ले उपलब्ध गराउने गरी सम्झौता भएको हो ।

सम्झौताअनुसार प्रदेश सरकारले ‘ए’ डिभिजन लिगमा हुने ९१ खेलमा प्रत्येक खेलको विजेता टिमलाई म्याचमनीका रूपमा ५० हजार रुपियाँको दरले रकम प्रदान गर्नेछ । खेल बराबरी भए दुवै टिमलाई २५/२५ हजार रुपियाँ प्रदान गरिने जनाइएको छ ।

सम्झौताअनुसार खेल सकिएको १ साताभित्रमा सम्बन्धित खेलको विजेता टिमको बैंक खातामा सामाजिक विकास मन्त्रालयले उक्त रकम उपलब्ध गराउनेछ । यसरी ९१ खेलका लागि ४५ लाख ५० हजार रुपियाँ, प्रतियोगितामा उदीयमान खेलाडी (राइजिङ प्लेयर) का लागि १ लाख रुपियाँ तथा प्रतियोगितासम्बन्धी अफिसियल खर्चका लागि ३ लाख ५० हजार रुपियाँ प्रदान गरिनेछ ।

एन्फाले प्रत्येक ७ खेलपछि फोटोसहितको म्याच रिपोर्ट परिषद्लाई पेश गर्नुपर्ने, म्याचमनीका लागि सहभागी क्लबको प्यान नम्बर, बैंकको नाम र खाता नम्बर तथा आवश्यक कागजात उपलब्ध गराउनुपर्ने र प्रतियोगिता सम्पन्न भएपछि प्रतियोगिताको प्रतिवेदन पेश गर्नुपर्ने सम्झौता भएको परिषद् सदस्यसचिव भण्डारीले जानकारी दिए ।

सामाजिक विकास मन्त्री विजय सुवेदीको उपस्थितिमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र प्रदेश खेलकुद विकास परिषद् सदस्य सचिव सूर्यलाल भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताले वागमती प्रदेशको खेलक्षेत्रलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको वागमती प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीले बताए ।

गत वर्ष कोरोना संक्रमणका कारण खेल क्षेत्र पछाडि परेको अवस्थामा खेल क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा आफू मन्त्री भएपछि खेलकुद विकास परिषद्सँग छलफल गर्दै खेलकुदलाई प्राथमिकताका रूपमा लिएको उनको भनाइ छ । मन्त्रालयका सचिव यज्ञप्रसाद ढुंगेलले नेपाली खेलकुद क्षेत्रको विकासमा उक्त सम्झौता ऐतिहासिक हुने दाबी गरे ।

एन्फाले हरेक स्थानमा फुटबलको माहोल सिर्जना गर्ने एन्फा अध्यक्ष शेर्पाले बताए । उनले राष्ट्रियस्तरको प्रतियोगितालाई प्रदेश तथा जिल्लामा पुर्‍याउने योजना रहेको भन्दै फुटबल विकासका लागि वागमती प्रदेश सरकारले उत्साहजनकरूपमा सहयोग प्रदान गरेकोमा खुशी व्यक्त गरे ।

६७ वर्ष पुरानो ‘ए’ डिभिजन लिगलाई एक सिजन ८ महिनासम्म चल्ने गरी लम्ब्याउने तयारी रहेको पनि उनले बताए । जसले खेलाडीहरूले वर्षभर खेल्न पाउने र आफ्नो जीविकोपार्जन गर्न पाउने अवस्था बन्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्