इन्टर मिलानको सानदार जित



रोम, (एजेन्सी) ।

इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जित दर्ता गरेको छ ।

सब्सिच्युट फरवार्ड इडेन जेकोको दुई गोल तथा मिडफिल्डर फेडरिको डिमार्काेको दुई असिस्टमा सानदार जित निकालेको हो । मिलानोमा शनिबार राति भएको खेलमा घरेलु टोली इन्टरले बोलोग्नामाथि ६–१ को फराकिलो जित आत्मसात् गरेको हो । लोउटारो मार्टिनेज, मिलान स्क्रिनिएर, निकोलो बरेल्ला र माटिएस भिसिनोले समान एक गोल गरेका बोलोग्नाका अर्थर थिएटले एक गोल फर्काए ।

गोलको वर्षा नै भएको खेलमा घरेलु टोली इन्टरले खेलको छैटौं मिनेटमा लोउटारो मार्टिनेजको गोलबाट अग्रता लिएको थियो । उनले डेन्जल डमफ्रेजको पासमा गोल गरेका थिए । खेलको ३०औं मिनेटमा मिलान स्क्रिनिएरले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । उनले फेडरिको डिमार्काेको पासमा गोल गरेका थिए ।

खेलको ३४औं मिनेटमा निकोलो बरेल्लाले गोल गरेपछि इन्टरले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो । डेन्जेल डमफ्रेजले एक डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई डी सिल्भेसट्रीले बचाउने प्रयास गरे पनि नभेट्दा बरेल्लाले सहज फिनिस गरेका थिए । ५४औं मिनेटमा माटिएस भिसिनाले गोल गर्दै इन्टरलाई सहज जिततर्फ अघि बढाए । उनले फेडरिको डिमार्काेको पासमा गोल गरेका थिए ।

त्यसपछिको इन्टरको दुवै गोल इडेन जेकोको नाममा रह्यो । २९औं मिनेटमा चोट बोकेका जोआक्विन कोरेआको स्थानमा मैदान छिरेका जेकोले ६३औं मिनेटमा मार्सेलो ब्रोजोभिकको पासमा गोल गर्दै इन्टरलाई ४–० ले अघि बढाए । ६८औं मिनेटमा अर्काे सब्सिच्युट फरवार्ड एलेक्सिस सान्चेजको पासमा जेकोको व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गर्दै इन्टरलाई फराकिलो जिततर्फ अग्रसर गराए । त्यस्तै, खेलको ८६औं मिनेटमा अर्थर थिएटले बोलोग्नाका लागि सान्त्वना गोल फर्काए ।

जितसँगै अपराजित रहेको इन्टर चार खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै, सिरी ‘ए’ को अर्काे खेलमा फियोरेन्टिनाले जिनोआलाई उसैको मैदानमा २–१ ले पराजित गर्दा एट्लान्टाले सालेरनिटानालाई १–० ले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्