सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड



विश्व एक्काइसौं शताब्दीमा चलिरहेको छ । तर नेपाल पहिले जहाँ थियो अहिले पनि त्यहीँ छ । न सोचविचारमा परिवर्तन आयो, न त नेपालीहरुको मानसिकतामा केही फरक परेको छ । वर्षौंदेखि चलिआएको अन्धविश्वास आज पनि नेपाली समाजबाट हट्न सकेको छैन ।

अहिलेको समय अन्तरालमा पनि मानिसहरु धामीझाँक्रीलाई मान्छन् । यो प्रथा गाउँ–गाउँमा मात्र नभएर उपत्यकामा पनि अझै प्रचलित छ । खानेकुरामा मिसावटको कारणले मानिसहरुलाई विभिन्न रोग लागेको हुन्छ । व्यस्तताका कारण मानिसहरु बाटोमा राखेको गुणस्तरहीन खाना सोचविचारविना खाइदिन्छन् ।

अनि त सुगर, प्रेसर, पाइल्सजस्ता रोग लाग्छ । जति सम्पत्ति भए पनि आफ्नो ज्यानभन्दा ठूलो केही हुँदैन । सम्पत्ति नभए पनि रोग नलागोस् भन्ने मनसाय त सबैमा हुन्छ । कहिल्यै पनि अस्पताल जान नपरोस् भनेर धेरैले मनभित्रबाटै सोचेका हुन्छन् । मानिस जन्मिन्छ । थोरै अवधिको लागि बाँच्छ । तर उसले सेवा–सुविधाचाहिँ बढी खोज्छ । आफ्नो इच्छा पूरा गर्नको लागि उसले हतार–हतार पैसा कमाउन खोज्छ । पैसा कमाउने सोचमा पर्दापर्दै उसले खान बिर्सिन्छ । दौडधूप र सन्तुलित आहारको अभावमा ऊ रोगी बन्छ ।

यसको कारणले नेपालमा प्रत्येक दिन विभिन्न रोग लागेका बिरामीहरुको संख्या दर बढिरहेको छ । सरकारी अस्पतालको हाल बेहाल छ । उपचारको सट्टा झन् रोग फैलिने डर सर्वसाधारणमा छ । बेडको अभाव, डाक्टर–नर्सको अभाव छ ।

सरकारी अस्पतालका डाक्टर, नर्सहरु उपचार गर्नुको सट्टा गफमै व्यस्त हुन्छन् । सरकारले बिरामीको नाममा दिएको औषधिहरु सरकारी अस्पतालको कर्मचारीहरुले बेचेर खाएका छन् । सरकारी अस्पतालमा त बिरामी चेकजाँच गरे पनि, नगरे पनि तलब पाकिहाल्छ । जसको कारण सर्वसाधारण दिक्कै भइसकेका छन् । सित्तैमा तलब खाने बानी सरकारी अस्पतालका डाक्टर र नर्सहरुलाई परिसकेको छ ।

सरकारी अस्पतालले जनताको उपचार नगर्दा बिरामीहरु निजी अस्पताल जान बाध्य छन् । निजी अस्पतालमा उपचार गर्न पनि त्यति सजिलो छैन । निजी अस्पतालका महँगो सेवासुविधा शुल्क व्यहोर्न हरेक सर्वसाधारणको बसमा छैन ।

अन्तिममा बाँकी रहेको उपाय भनेकै वैद्य र आयुर्वेदिक औषधिहरु हुन् । अहिले त वैद्यको अस्पतालमा पनि मानिसहरुको भीड लाग्ने गरेको छ । कतिलाई त वैद्यको औषधिले ठीक पनि भएको होला । कतिको म बाँच्छु भन्ने सपना पूरा भएको छ । तर के यी आयुर्वेदिक औषधालयहरुले स्वास्थ्य मन्त्रालयबाट स्वीकुति लिएका छन् ।

के यी वैद्य औषधालयहरुले स्वास्थ्य मापदण्ड पूरा गरेका छन् ? यी औषधालयहरुमा बिरामीहरुले चेकजाँच गरेबापत तिर्नुपरेको शुल्क महँगो हो कि सस्तो ? यसबारेमा सरकारलाई ज्ञान होला ? के यसबारेमा स्वास्थ्य मन्त्रालयले कहिल्यै अध्ययन गरेको छ ?

औषधालयले लिएको बेडको चार्ज सरकारले तोकेको हो ? उपचार र औषधिको रकम सरकारले निर्धारण गरेको हो ? वैद्य औषधालयले स्वास्थ्यको नाममा जनता ठगेको छ । स्वास्थ्य मापदण्डको पनि परिपालना भएको छैन । हाम्रो उपचारबाट यतिजना ठीक भएका छन् भन्दै अफवाह फैलाएका छन् वैद्य औषधालयहरुले ।

विभिन्न मान्छेहरुलाई मिडियामा ल्याएर विज्ञापन गरेका छन् । उपचारको नाममा सर्वसाधारण ठगिएका छन् । तर वैद्य अस्पतालमाथि कारबाही भएन । यसरी स्वास्थ्य र उपचारको नाममा जनता ठग्दा पनि सरकार टुलुटुलु हेरेर बसेको छ । निःशुल्क उपचार गर्ने भनेर विज्ञापन फुकेका छन् । तर निःशुल्क उपचार कसैले पनि पाएका छैनन् ।

कतिपय आयुर्वुदिक औषधिहरु म्याद गुज्रिएका हानिकारक छन् । कुन रोगको लागि कुन जडीबुटीको प्रयोग हुन्छ भन्ने ज्ञान यिनीहरुसग छैन । यस्ता वैद्यहरुले बनाएका औषधिहरु स्वास्थ्य मन्त्रालयबाट प्रमाणित भएका छन् त ? । यी औषधिको प्रयोगबाट कसैले ज्यान गुमाउँछ भने यसको जिम्मा कसले लिन्छ ?

आर्थिक कमजोर भएका, अशिक्षित मान्छेहरुलाई वैद्य औषधालयहरुले सहज तरिकाले ठगेका छन् । तर पनि यिनीहरुविरुद्ध कसैले आवाज उठाउन सकेका छैनन् । वैद्य औषधालयहरुले कति सर्वसाधारणलाई पैसा दिएर विज्ञापन गर्न लगाएका छन् । सरकारले बनाएको स्वास्थ्य कानुनअनुसार उपचारको लागि हामीकहाँ आउनु भनेर विज्ञापन गर्न पाइँदैन । स्वास्थ्य विज्ञापन गरेर व्यापार गर्ने क्षेत्र होइन । यसरी मिडियाबाजी गरेर झुटो आश्वासन देखाई जनता ठग्न पाइँदैन ।

गाउँका सीधा मानिस रोग बढ्दै गएपछि विभिन्न भूतप्रेत लागेको भनी झारफुक गर्नतर्फ लाग्छन् । अन्त्यमा आएर उपचार गर्न ढिलो भएकोले आफ्नो ज्यान गुमाउँछन् । रोगबाट पन्छिनको लागि माताहरुकहाँ पनि पुग्छन् तर अस्पताल भने जाँदैनन् । भूतप्रेत लागेको हो भनी फुकफाक गर्छन् । तपाईंको श्रीमान्श्री/मती अर्कोसँग लागेको छ भनेर घरझगडा गराउने र घरमा विवाद उत्पन्न गर्नेमा माताहरुको ठूलो हात छ । पति–पत्नीबीच विवाद उत्पन्न गराई सम्बन्ध विच्छेद गराउने कार्य पनि हुने गरेको देखिन्छ ।

मानिसहरुलाई मर्नु न बाँच्नुको परिस्थतिमा पु¥याउन माताहरुको अहं भूमिका हुन्छ । माता र धामीझाँक्रीको नाममा चोरफटाहाहरु बसेका छन् । पैसा कमाउनको लागि जे पनि गर्छन् माताहरु । पढाइलेखाइ केही छैन । नामका माताहरु, अरुको घरपरिवार बिगार्ने पनि माता । घरपरिवार बिगारेर बच्चाहरुलाई अनाथ बनाइदिएको छ, एउटा हात हेरेको पनि मनलाग्दी पैसा उठाएको छ । यो लुटको धन्दा होइन र ? यसप्रति सरकारले अनुगमन किन गरेन ? यिनीहरुलाई छिटो कारबाही गरिनुपर्छ ।

माताहरुले कानुनविपरीत काम गरेका छन् । आर्थिक कमजोर भएकालाई माताहरुले ठगेका छन् । सरकारले धामीझाँक्रीलाई मान्यता दिएको छैन । सीधासाधा महिला, एकल महिलाहरुलाई कतिले बोक्सीको आरोप लगाएका छन् । माताहरुले नै बोक्सीको आरोप लगाएर गाउँले उचाल्ने र पछार्ने काम गरेका छन् ।

बेक्सीको आरोपमा कति महिलाले सामाजिक अपहेलना व्योहोरेका छन् । कतिलाई मलमूत्र खुवाएका छन् । कतिलाई कुटपिट गरेका छन् । कति महिलालाई गाउँ छोडेर हिँड्न बाध्य बनाएका छन् । माताको नाममा व्यापार गरेर कतिले कत्रो घर बनाएका छन्, कति सम्पत्ति जोडेका छन् । यस्ता माताहरुको सम्पत्ति खोजतलास गर्नुपर्छ । माताहरुलाई कानुनको दायरामा ल्याउनै पर्छ । यस्ता सबै कुरामा सरकार मुकदर्शक भएर बस्नुहुँदैन ।

– अनुशा थापा, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्