जनावरको बाँच्ने अधिकारको रक्षा होस्



हरेक जीवजन्तुले स्वतन्त्ररुपमा बाँच्न पाउँछन् । नेपालमा जति पनि घरपालुवा जनावरहरु छन् तिनीहरुको मालिकले आफ्नो फाइदा होउन्जेल पाल्ने अनि ती जनावरहरुलाई बूढो भएपछि सडकमा लगेर छोड्ने प्रचलन पहिल्यैदेखि नै जारी छ । गाईवस्तु दूधको लागि पालिन्छ । त्यही दूध बेचेर हजारौं मान्छेले जीविकोपार्जन गरेका छन् ।

त्यही दूध पिएर मानिसहरु पुष्ट भएका छन् । तर त्यही गाईलाई यत्रो हेला । गाईले दूध दिउन्जेल पाल्ने जब गाई बूढो हुन्छ, दूध दिन असमर्थ हुन्छ, उसलाई बाटोमा लगेर छाडिदिन्छन् । गाई हामी नेपालीहरुको राष्ट्रिय जनावर हो । राष्ट्रिय जनावरलाई त यस्तो व्यवहार गर्छन् भने अन्य जनावरहरुको हाल के होला ? गाई पाल्छन् । गाईले गोरुलाई जन्म दियो भने बाटोमा लगेर छोडिदिन्छन् । बिचरा त्यो गोरुको के गल्ती ? आफ्नो बच्चालाई त्यसरी बाटोमा लगेर छोडेको भए पो आमाको दुःखको प्रत्याभूति हुन्थ्यो ।गाईगोरुको नेपालमा पूजाअर्चना गरिन्छ । वर्षको एकदिन सबैलाई गाईगोरुको आवश्यकता पर्छ । अनि अरु दिन त्यही गाईगोरुलाई देखी सहँदैनन् । यो पनि मानवता हो ? गाइकोे दूध पानी मिसाएर बेचेर आफू धनी बन्ने अनि गाईले दूध दिन छाडेपछि बाटोमा लगेर छोडिदिने ।

यस्तो प्रचलनले गर्दा सडक दुर्घटना निकै बढेको छ ।गाई बिरामी भयो भने राति सुटुक्क कसैले नदेख्ने गरी आफ्नो घरभन्दा टाढा लगेर छाडिदिने, यस्तो व्यक्तिलाई कारबाही गर्न जरुरी देखिन्छ । बाटोमा पनि गाईवुस्तले कहाँ स्वतन्त्रताको सास फेर्न पाएको छ । भोक लाग्छ, बाली खान गयो भने मान्छेले लखेट्छन् । लौराले पिट्छन् ।कसैको गोठमा बिरामी गाई म-यो भने बाटोमा लगेर फ्याँक्छन् । यसले गर्दा निकै नै दुर्गन्ध बढेको छ । फाइदा एउटाले लिन्छ । यसबाट रोगको सिकारचाहिँ हजारौ बन्छन् । आफ्नो वडा, नगरपालिकामा कति जना व्यक्ति के काम गर्छन् भन्ने तथ्यांक यिनीहरुसँग छैन । गाई पाल्ने फर्महरुको दर्ता छैन । यसबाट राज्यले राजस्व पाएको छैन । एकातिर राजस्व छली अर्कातिर पशुहरुमाथि यत्रो दुव्र्यवहार । गोबरबाट बालीनाली एकदमै राम्रो उब्जिन्छ । गाईको मूत्रबाट घर चोख्याइन्छ । त्यही पनि गाईमाथि नराम्रो व्यवहार किन ?गाउँमा गोरुले खेतबारी जोत्छ । गोरुले गर्ने काम अन्यले गर्नुपर्दा लाखौँ रुपियाँ खर्च हुन्छ । गोरुलाई बाटोमा लगेर छोड्नुभन्दा खेत जोत्ने कामको लागि प्रयोग गर्ने हो भने करोडौं रुपियाँ बच्छ । गाई जन्मेचाहिँ आफूसँग राख्छन्, गोरु जन्मिनेबित्तिकै बाटोमा लगेर छोडिदिन्छन् ।

मान्छेहरु पशुको त शोषण गर्न पछि हट्दैनन् भने गरिब जनताको हरेक धनी व्यक्तिले शोषण गरिरहेको हुन्छ । गाईगोरु सडकमा लगेर छोडिदिँदा कति सवारीसाधनले किचेर मारेको छ । कति मानवता नभएकाहरुले लौरोले होनर गाईवस्तु घाइते बनाएका छन् । आफूलाई कसैले हिर्काउँदा कस्तो लाग्छ । पशुलाई पनि दुख्छ भन्ने कुराको ख्याल मान्छेको मनमा किन नआएको होला ? ती बेसहारा पशुहरुलाई नगरपालिकाले बस्ने र खाने व्यवस्था मिलाउनुपर्दैन ? घामपानीमा ओत छैन, भोक लाग्यो खान छैन, कस्तो बिजोग ?
त्यसरी गाईगोरु बाटोमा लगेर छोड्ने फर्म मालिकहरुलाई नगरपालिकाले कानुनको दारामा ल्याउनुपर्छ । गाई फर्महरु पनि दर्ता भई सञ्चालनमा आउनुपर्छ । बिरामी भएका गाईवस्तुलाई बाटोमा लगेर छोड्ने होइन, तिनीहरुको उपचार गर्नुपर्छ । गाईवस्तु मरेपछि तिनीहरुको उचित व्यवस्थापन गर्नुपर्छ ।अहिले प्रायः व्यक्तिले कुकुर पालेका छन् । कतिले रहरले पालेका छन् त कतिले देखाउनको लागि । हुन त पैसा हुनेले मात्र कुकुुर पाल्छ ? आफ्नो रहर र स्वार्थ पूरा गर्नका लागि कुकुर पाल्ने अनि कुकुरलाई दिसापिसाबचाहिँ बाटोमा लगेर गराउँछन् ।
गरिबको शोषण गर्ने, आफू सुकिलो भएर हिँडने, सीधासाधा बाबुआमाका छोराछोरीलाई घरको काममा राख्ने अनि बिहान कुकुर डो¥याउँदै बाटोमा हिँड्ने ।

कुकुरलाई दूधभात निल्ने कि ओकल्ने बनाएर राख्ने, ती गरिबका छोराछोरीलाई पेटभरि खान पनि दिएका हुँदैनन् ।कुकुरलाई खाटमा सुताउने, काम गर्ने मान्छेलाई भुइँमा सुत्न पनि ठाउँ नदिने । कस्तो दिन आयो ? मान्छेभन्दा कुकुर ठूलो हुन थाल्यो । कुकुर पाल्ने, दिसापिसाब बाटोमा ल्याएर गराउने, दुर्गन्ध र रोग फैलाउनमा कुकुर पाल्नेहरुले ठूलो भूमिका खेलेका छन् । घरपालुवा कुकुरले बाटो हिँड्ने मान्छेलाई देखिसक्दैन । छुट्यो कि टोक्न गइहाल्छ । बाटो हिँड्ने मान्छेलाई टोके पनि त्यसको मालिकले मेरो कुकुरले टोक्दैन भनी पन्सिन्छ । मान्छेहरु कति स्वार्थी हुन्छन् ? घरपालुवा कुकुर पनि बूढो र बिरामी नहोउन्जेल मात्र त्यसको मालिकलाई कुकुरमाथि माया लाग्छ । त्यसपछि कुकुरको बिजोग ।कति कुकुरलाई सवारीले हानेर बाटोमै मारिदिएको छ । त्यस्तो सवारीसाधनलाई ट्रफिक महाशाखाले कानुनको दायरामा ल्याएको छैन । सबै जीवजन्तुले बाँच्न पाउनुपर्छ । सवारीसाधनको लापरबाहीले कुनै पनि जीवजन्तुको बाच्ने अधिकारमाथि ताला लगाउन पाइँदैन ।सडकमा बत्ती छैन । करोडौंको गाडी चढ्नेले १०० रुपियाँको बत्ती किनेर आफ्नो घरको बाहिर लगाउन सक्दैनन् । हरेक घरधनीले आफ्नो घरबाहिर एउटा बत्ती राखिदिने हो भने अँध्यारोमा कुकुरले मान्छे टोक्न पनि कम हुन्थ्यो । कुकुर जहाँ र जुन ठाउँमा जन्मिन्छ । त्यो टोल छोडेर कुकुर अर्को ठाउँ जान सक्दैन । त्यहीँ बस्छ, त्यहीँ टोलको सुरक्षा गर्छ । तर पनि कुकुुरलाई यस्तो अपहेलना किन ? यता भस्याहा कुकुरलाई सुईको व्यवस्था गरिएको छैन । सुई नलगाएका कुकुरले टोक्दा विभिन्न रोग लाग्न सक्छ । रेबिजको खोप नपाएर कति सर्वसाधारणको मुत्यु भएको सुनिन्छ ।

सवारीसाधनले पशु मा-यो भने त्यस सवारीको लाइसेन्स खारेज गर्नुपर्छ । गाईवस्तु कुट्ने मान्छेलाई जरिबाना र कैद सजायको व्यवस्था गर्नुपर्छ । सडकमा लाचार अवस्थामा छोडिएका गाईवस्तुलाई गाँस, बासको व्यवस्था सरकारले मिलाउनुपर्छ । कुकुुर र गाईवस्तुको खानामा विष मिसाएर मारिएका घटनाहरु पनि धेरै सुन्नमा आएका छन् । यसरी जिउँदन पशु मार्न पाइँदैन ।
– अज्ञात, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्