कोरोनाको असर सांस्कृतिक पक्षमा पनि, परम्परागतरूपमा मात्र मनाइयो गाईजात्रा



कविराज नेपाल, पाल्पा ।

दिवंगत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यंग्य र ख्यालठट्टा गरी नेवार समुदायको बसोबास रहेको स्थानमा मनाइने यो गाईजात्रा (साँपारु) पर्व मनाउन त मनाइयो तर केवल औपचारिकतामा मात्रै । यसपटक कोरोना महामारीका कारण बाध्य भएर घर–परिवारका व्यक्तिहरु मात्र जम्मा भएर तानसेनमा गाईजात्रा मनाइएको थियो ।

विगत लामो समयदेखि जात्राको रौनकमा दुई वर्षयता कोरोना महामारीले गर्दा पूर्णविराम लागेको स्थानीय कलाकार किरण चित्रकार बताउनुहुन्छ । विगतका हरेक वर्षहरुमा पाल्पाली नाट्यकला सांस्कृतिक समूहद्वारा जिल्ला सदरमुकाम तानसेनका विभिन्न टोलमा गरिँदै आएको समसामयिक हास्यव्यंग्य कार्यक्रम पनि यसपाली महामारीका कारण सम्पन्न हुन नसकेको उहाँको कथन छ ।

कोरोना महामारी नभएको भए सोमबारदेखि पाल्पा जिल्लाको सदरमुकाम तानसेन जात्रामय बन्ने थियो । मानिसको भीडभाड । व्यापार व्यवसायमा वृद्धि अनि बेग्लै उमंग र उल्लास । तर, विश्वव्यापीरूपमा देखा परेको कोरोना महामारीले सांस्कृतिक पक्षलाई पनि पिरोल्नसम्म पिरोल्यो । त्यसैले महामारी र स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै परम्परा मात्रै धानियो पहिले जस्तो रौनक देखिएन ।

पातलो संख्यामा निस्किएका जात्राका सहभागीहरू मास्क र स्यानिटाइजर प्रयोग गरेर जात्रामा सहभागी भएका थिए । परम्पराअनुसार पाल्पालगायत देशभर सोमबार गाईजात्रा पर्व मनाइने प्रचलन छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार कोरोना फैलिने र भीडभाड गर्दा संक्रमण समुदायस्तरसम्म पुग्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउनका लागि जिल्लामा कुनै पनि जात्रापर्व, महोत्सव नगर्न आम नागरिकलाई आग्रह गरिएको जानकारी दिनुभयो । महामारीको जोखिम कायमै रहेको हुनाले सबैले सतर्कता अपनाउनुको अर्को विकल्प नभएको उहाँले बताउनुभयो ।

विशेष गरी नेवार समुदायले मनाउने यो पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन चल्छ । गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराइने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ । मल्लकालमा छोराको निधन भएपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको मानिन्छ ।

तानसेनमा सोमबार विभिन्न टोलबाट निकालिएको गाईजात्राका सहभागीले शीतलपाटी, टक्सारटोल, वसन्तपुर, भगवतीटोल, मखनटोललगायत मुख्य बजार क्षेत्र परिक्रमा गरेका थिए । पाल्पाको सदरमुकाम तानसेनवाहेक वर्तुङ्ग हार्थोक, रिडी, ताहु, सिलुवा, वीरकोटलगायतका ठाउँमा पनि गाईजात्रा निकालिएको थियो । तर, ती ठाउँमा पनि मानिसको उपस्थिति रहेन, केवल औपचारिकताका लागि मात्रै जात्रा भए ।

यसपाली सबै कार्यक्रमहरु केवल ओपचारिकतामा सीमित संख्यामा मानिस जुटेर परम्परा धान्नुपर्ने बाध्यता आइलागेको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्