संसद्मा सुवासको उपस्थिति जनाउँदै सुहाङ



काठमाडौं ।

संविधान सभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङको देहवासनपछि इलाम क्षेत्रनम्बर २ मा उहाँको कान्छा सुपुत्र सुहाङ नेम्वाङले आफ्नो उपस्थितिलाई बलियो बनाउनु भएको छ। गत वैशाख १५ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएरसँगै उहाँले कम्युनिस्टको विरासतलाई जोगाउनुभएको हो ।

सुहाङले नेपाली कांग्रेसका नेता डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतको अन्तरले पराजित गर्दै उहाँ विजयी हुनुभयो। उहाँले २७ हजार ७ सय ७२ मत पाउनुभयो भने कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको थियो।

१९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएकोमा स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभयो। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले भने ५ हजार ५० मत प्राप्त गरेर जमानत जफत भएको छ।

सुहाङको जन्म विसं २०४६ फागुन ६ गते बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रूपमा काठमाडौंमा भएको थियो। काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गरेका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरे।

ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अष्ट्रेलिया गए । त्यहाँ दुई वर्ष बसेर उहाँ नेपाल फर्कनुभयो । स्वदेश फर्केर काठमाडौं स्कुल अफ लबाट कानुन सङ्कायमा एलएलबी, वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गरे ।

सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाउनुभएको थियो । सुहाङ पछिल्लो समय काठमाडौंको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एन्ड रिसर्च सेन्टर’ स्थापना गरी वकालत गर्दै आउनुभएको थियो। उहाँले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गर्नुभएको थियो।

पछिल्लो समय उहाँ सोही क्लबमार्फत् इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गरेका गर्नुहुन्थ्यो । फुटबल र क्रिकेटमा रुचि भएका सुहाङ पेशाले अधिवक्ता हुनुहुन्थ्यो। विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिकलाई नजिकबाट बुझ्ने अवसर पाउनुभयो। यद्यपि, उहाँ राजनीतिक गतिविधिबाट भने टाढै हुनुहुन्थ्यो । सुहाङले यसअघिसम्म कुनै पनि निर्वाचनमा मतदान समेत गरेका गर्नुभएको थिएन ।

आफ्नै बुबा उम्मेदवार हुँदासमेत मतादता नामावलीमा नाम दर्ता नभएकाले मतदान गर्न नपाउनुभएका सुहाङ राजनीतिप्रति खासै रुचि नराख्ने भएपनि परिस्थितिले सांसद बनाएको छ। नयाँ सत्ता समीकरणले संसद् छिर्न सहज बनाएको नेम्वाङलाई नेकपा (माओवादी केन्द्र), नेकपा र नेपाल परिवार दलको समर्थन पाएसँगै ३४ वर्षको उमेरमा संसद् छिर्ने अवसर पाउनुभएको छ।

सुहाङको खेलकुदमा लगाब राम्रो भएका कारण बुबा सुवासचन्द्र नेम्बाङको सल्लाहअनुसार इलाम स्पोर्टिङ डी मेची क्लब स्थापना गर्नुभएको छ। खेलकुद बुबाको पनि सपना रहेको भन्दै सुहाङले खेल क्षेत्रको विकासमा सधैं प्रेरित गर्ने गरेको बताउनुहुन्छ।

बुबासँग नौ पटकमात्र दसैं–तिहारजस्ता चाडपर्व मनाएको स्मरण गर्दै सुहाङ बुबाले आफ्नो सबै जीवन देश परिवर्तन र पार्टीका लागि नै दिएको बताउँनुहुन्छ। आफू विजयी हुँदैगर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्दा इलामको नागरिकका साझा भएको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्