२२ लाख बढी लागतमा तातोपानी कुण्डको स्तरोन्नति 



लमजुङ। 

उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ स्थित तातोपानी कुण्डको स्तरोन्नति कार्य सम्पन्न भएको छ । जगतमा रहेको तातोपानी कुण्डलाई केही वर्ष अघि मर्स्यास्र्याङ्दीमा आएको बाढीले बगाएपछि गाउँपालिकाले स्तरोन्नति गरेको हो ।

 आर्थिक वर्ष २०८०-०८१ मा संघ सरकार पर्यटन तथा भौतिक पूर्वाधार मन्त्रालबाट कुण्ड स्तरोन्नतिका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । गाउँपालिकाबाट १४ लाख रुपैयाँ र २ लाख २४ हजार ३ सय ८० रुपैयाँ जनश्रमदान गरी कुल २२ लाख २४ हजार ३ सय ८० रुपैयाँमा उक्त कुण्डको स्तरोन्नति गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । वडा नम्बर ४ जगतस्थित तातोपानी कुण्डको स्तरोन्नति कार्य पश्चात् मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, वडा सदस्य देवी जङ्ग गुरुङ, इन्जिनियर सुरेश गौतम, निर्माण उपभोक्ता समिति र स्थानीयहरूको उपस्थितिमा स्थलगत अनुगमन गरेका छन् ।

    मर्स्याङ्दी नदिको छेउमा रहेको तातोपानी कुण्डमा यस अघि पनि भौतिक संरचना निर्माण गरिएको थियो । यसअघि बनेका संरचना जिर्ण भएको र थप व्यवस्थापन गर्नुपर्ने भएकोले तातोपानी कुण्डको स्तरोन्नति कार्य गरिएको अध्यक्ष गुरुङले बताए ।

     गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार तातोपानी कुण्डमा यस अघि बनेका संरचनाको थप स्तरोउन्नती संगै थप ५ वटा पोखरी निर्माण, ढुङ्गष विच्छ्याउने र प्रोटेक्सन वाट निर्माण गरिएको छ । यस कुण्डमा विशेष गरी  चैत र कार्तिकमा नुहाउनेको भिड लाग्ने भएकोले महिला र पुरुषको १-१ वटा लुगा फेर्ने ठाउँ र आराम गर्नका लागि थप एक वटा प्रतीक्षालय निर्माण गरिएको गाउँपालिका अध्यक्षका स्वकीय सचिव सरोज गुरुङले बताए । मस्र्याङ्दी नदीको तिरैमा रहेको तातोपानीलाई व्यवस्थित गर्न सकिएमा पर्यटन प्रवर्द्धन हुने अध्यक्ष गुरुङको भनाई छ  ।

तातोपानी कुण्डमा नुहाउँदा छाला सम्बन्धी रोगहरु, बाथ तथा हाडजोर्नीका रोगहरु निको हुने विश्वास जनमानसमा छ । तातोपानी कुण्डमा नुहाउन मर्स्याङ्दी गाउँपालिकाबाहेक बेंसीसहर, सुन्दरबजार, राइनास, दोर्दी साथै बाहिरी जिल्लाका मानिसहरु आउने गर्छन् । चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटक पनि तातोपानी कुण्डमा नुहाउँछन् ।

प्रतिक्रिया दिनुहोस्