त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ ठगहरूको कब्जामा

दैनिक सयौं सर्वसाधारणदेखि ट्याक्सी चालक ठगिँदै



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ माफियाको कब्जामा हुँदा सर्वसाधारण जनता र ट्याक्सी चालकले महँगो शुल्क तिरेर पार्किङ गर्नुपर्ने बाध्यता व्यहोर्दै आएका छन् । त्यहाँ हुने ठगीका कारण सर्वसाधारण पीडितसमेत हुँदै आएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरेबापत आईएमएस एयरपोर्ट सर्भिस नामक कम्पनीले सवारी प्रवेश गर्नेबित्तिकै प्रतिसवारी ४० देखि १ सय ५० रुपियाँसम्म शुल्क लिने गरेको छ। गत बुधबार बेलुका ८ बजे गोरखाका ट्याक्सी चालक रूपेश खवास पार्किङ क्षेत्रमा यात्रु पर्खिएर बसिरहनुभएको थियो।

उहाँले ट्याक्सी पार्क गर्नेबित्तिकै एकै मिनेटमा यात्रु पाए पनि १ घण्टाकै पैसा तिर्नुभयो। उहाँले अन्त कतै ट्याक्सी रोक्ने ठाउँसमेत नहुँदा सर्भिसकै पार्किङ प्रयोग गर्नुपर्ने बाध्यताले महँगो शुल्क तिर्नुपर्ने परेको गुनासो गर्नुभयो।

त्यसै गरी सर्वसाधारण कतै झुक्किएर सर्भिसको पार्किङभित्र सवारी प्रवेश गराउँदा चर्को रकममा पर्ने गरेका छन् । सर्लाहीका अभिषेक दाहाल ठगिनेमध्येकै एक हुनुहुन्छ। उहाँले आफन्तलाई जापान पठाउन मोटरसाइकल पार्किङ गर्न भनी मोटरसाइकल प्रवेश गराउनेबित्तिकै ४० रुपियाँ तिर्नुपरेको गुनासो गर्नुभयो।

ओखलढुङ्गाका जीवन शर्माले पनि मोटरसाइकल प्रवेश गराउनेबित्तिकै ठगेको गुनासो नेपाल समाचारपत्रलाई गर्नुभएको छ। शर्माले केही दिनअगाडि काम विशेषले एयरपोर्टमा गएको सर्भिसको पार्किङमा आफू अन्जानमा प्रवेश गरी निस्कँदा ४० रुपियाँ तिर्नुपरेको गुनासो गर्नुभयो।

आईएमएस एयरपोर्ट सर्भिसले बसको १ सय ५०, माइक्रो बस १ सय, कार ८०, ट्याक्सी ६० र मोटरसाइकलको ४० रुपियाँ लिने गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले सो कम्पनीले ५१ रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएको बताउनुभयो । उहाँले निजी क्षेत्रले जति पनि शुल्क लिन पाउने भएको हुनाले रकम लिनु ठूलो विषय नभएको बताउनुभयो ।

लाखौं उठाउँदै

कम्पनीले दैनिक पार्किङ शुल्क र बैंक, होटलले भाडा गरेर मासिक करोडौं उठाउँदै आएका छन्। एउटा ट्याक्सी एक दिनमा १० पटकसम्म आउने गरेको छ। पटककैपिच्छे पार्किङ शुल्क दिनुपर्छ। त्यसै गरी होटलको मेनु पनि महँगो रहेको छ।

जुन सर्वसाधारणले भोक लागे पनि किनेर खान सक्ने अवस्था छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खानेपानी यात्रु प्रतीक्षालयमा बस्नका लागि पर्याप्त बेन्चलगायतको अभाव देखिएको छ। अन्तर्राष्ट्रिय र राष्ट्रिय व्यक्ति आउजाउ गर्ने ठाउँमा मानिसको घुइँचो व्यवस्थापन नहुँदा पाकेटमारदेखि सुरक्षा चुनौतीसम्म देखिएको छ ।

ट्याक्सी व्यवसायीको आन्दोलन

केही महिनाअगाडि पार्किङ शुल्क महँगो भएको भन्दै त्रिभुवन विमानस्थल क्षेत्रभित्र ट्याक्सी चालकले हड्ताल गरेका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा ट्याक्सी चालकहरूले त्रिभुवन विमानस्थलबाट सेवा बन्द गरेका हुन् । त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपियाँ लिँदै आएकोमा सर्भिस कम्पनी आएपछि ८० रुपियाँ लिइएको थियो ।

आईएमएस एयरपोर्ट सर्भिसको सेटिङ

आईएमएस एयरपोर्ट सर्भिसले सेटिङ मिलाएर महत्वपूर्ण स्थानमा रहेको ५१ रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिन सफल भएको हो । ७ कात्तिक २०६९ मा साविक ‘रसुवा केडी जेभी’सँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले वार्षिक करिब ७० लाख रुपियाँ भाडा लिने गरी ३० वर्षका लागि जग्गा भाडामा लगाउनेसम्बन्धी सम्झौता गरेको थियो।

जेभीका सञ्चालक बिमल पोद्दार ३३ किलो सुन प्रकरणमा मुछिएपछि सर्भिस कम्पनीले सेटिङमा जग्गा र निर्माण भएको भौतिक संरचना राजनीतिक दलको मिलेमतोमा मिलाएको हो।

तत्कालीन समयमा अर्थ मन्त्रालयसहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माण, व्यवस्थापन, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा प्रवेशद्वार सँगैको जग्गामा हवाई यात्रु बाहिर निस्कने मार्ग, आगन्तुक प्रतीक्षा कक्ष, चमेना गृह, पर्यटकका लागि मनोरञ्जन पार्क, बगैंचा, बालबालिका क्रीडास्थल, व्यावसायिक भवनलगायत बनाउन विमानस्थल कार्यालयलाई स्वीकृति दिए पनि सम्झौताअनुसार बगैंचालगायत सर्वसाधारण जनताको पहँुचमा नहुने तरिकाले सर्भिस कम्पनीले सर्वसाधारण जनतालाई ठगिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्