दार्चुलामा जेठको दोस्रो साताबाट यार्सा सङ्कलन गर्न पाइने 



 दार्चुलाको ब्याँस गाउँपालिका–१ तिंकरमा रहेको हिमाली बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइने वन

दार्चुला। 

जिल्लाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन दार्चुलामा जेठ दोस्रो साताबाट गर्न पाइने अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । आइतबार एक सूचना जारी गर्दै कार्यालयले जेठ महिनाको दोस्रो साताबाट यार्सागुम्बा सङ्कलन अनुमति खुला गर्ने जनाएको हो ।

   वैशाख १६ गतेदेखि यार्सा सङ्कलन इजाजत पत्र अपीनाम्पा संरक्षण क्षेत्रको मुख्य कार्यालय खलंगा, राप्ला सेक्टर सुन्सेरा, खण्डेश्वरी सेक्टर खण्डेश्वरी, बिटुले रेञ्जपोष्ट, ब्याँस रेञ्जपोष्ट, सिप्टी पोष्ट, पारिबगर पोष्ट, दुम्लिङ पोष्ट र हिकिला पोस्टबाट वितरण हुने कार्यालयका सूचना अधिकारी इन्द्र नगारीले जानकारी दिए ।

   यार्सागुम्बा संकलनका लागि तीन रंगको अनुमति पत्र जारी गरिनेछ । संरक्षण क्षेत्र भित्रका संकलकहरुका लागि हरियो रंगको अनुमति पत्र जारी गरिने र प्रति व्यक्ति ५ सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको उनले बताए । यस्तै संरक्षण क्षेत्र बाहिरका तर, जिल्लाभित्रकै संकलकहरुका लागि पँहेलो रंगको अनुमति पत्र तथा २ हजार शुल्क र जिल्ला बाहिरका संकलकहरुका लागि रातो रंगको अनुमति पत्र जारी गरिने र ३ हजार शुल्क निर्धारण गरिएको सूचना अधिकारी नगारीले बताए ।

 यार्सागुम्बा सङ्कलन गर्ने अवधि जेठ महिनाको दोस्रो साताबाट असार मसान्तसम्म हुने संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । यस्तै सङ्कलन अनुमति पत्र नलिई यार्सागुम्बा सङ्कलन गरेको भेट्टिएमा वा ओसारपसार गरेको पाइएमा कानून बमोजिम कारवाही हुने बताइएको छ । मुख्यगरी दार्चुलाको ब्याँस गाउँपालिका र अपिहिमाल गाउँपालिकाका हिमाली क्षेत्रमा बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्