नेता, प्रशासन र समाज : को सही, को गलत ?



– रमेशकेशरी वैद्य 

थाहा छ, सबैलाई अकुत सम्पत्ति भूलभुलैया हो । दुनियाँमा यही गलत अकुत सम्पत्तिको तृष्णाले कतिपय मानिसको जिन्दगी नर्कमय भइराखेको हुन्छ । जस्तै– जेलको हावा, विदेशमा पलायनको जिन्दगी, टेन्सन र रोगले ग्रस्त जीवन, आत्महत्या आदिका कहानी हामीले नसुनेको होइन । तैपनि मानिसहरुको अझै आँखा नखुलेको देख्दा ताज्जुब लाग्नु स्वाभाविक हो । किन आखिर मानिस सन्तोषमय जीवनलाई छोडी लालचको दुनियाँमा गइराखेको हुन्छ ? गलत सम्पत्ति कमाउनका लागि किन मरिहत्ते गर्छ ? आखिर मर्ने बेलामा शरीरको कुन प्वालमा लुकाएर लग्ने हो त्यो सम्पत्ति र नगद ?

यदि यस्तो सम्पत्ति आउने पुस्ताका लागि कमाएका हुन् भने यो गलत सोच मान्न सकिन्छ । त्यसकारण यस्तो गलत कार्यबाट अकुत सम्पत्ति कमाउने सोचलाई अहिलेबाट नै तिरस्कार गर्न सक्नुपर्दछ । अनि मात्र समाज राम्रो, मुलुक राम्रो र मानिसहरुको संस्कार राम्रो हुन्छ । अन्यथा जहिल्यै अधोगतितिर गइरहन्छ । आज हाम्रो मुलुक पछि धकेलिराख्नुको कारण पनि यही नै हो, कमाउ धन्दा ।

वास्तवमा पैसा वा अन्य सम्पत्ति मानिसहरुका लागि जरुरत हो तर जिन्दगी नै पैसा होइन । आज यही गलत सोचले गर्दा मुलुकको बेहाल हामीले देखिराखेका छौं । यसका लागि हामीले नेता र राज्यलाई सधैँ गाली गर्नुभन्दा राम्रा मानिस, बुद्धिजीवी, पढेलेखेका शिक्षित वर्ग नै अग्रसर हुनुपर्दछ । उनीहरुले यस्ता कुसंस्कार रोक्नका लागि हरप्रयास गर्नुपर्छ । उनीहरुलाई अन्य नागरिकले सघाउनुपर्छ । अनि मात्र मुलुक उँभो लाग्नेछ बिस्तारै । यसका लागि राम्रा–राम्रा मानिसहरुको संगठन, संस्था, नयाँ पार्टीहरुको शुरुआत हुनु जरुरी छ । हुन त यहाँ यी कुराहरु नभएका पनि होइनन् तर नपुग छ । राम्रा कार्यहरु निरन्तररुपमा हुन सकिराखेका छैनन् । यसले गर्दा खराब मानिसहरुको हौसला बढिराखेको छ । यी कुराहरु हुनु नै राज्य र नागरिकहरु सबैका लागि हानिकारक हो । त्यसकारण एकपल्ट फेरि भन्नुपर्दा, आखिर खराब कर्मको कहिल्यै भविष्य राम्रो हुँदैन । त्यसैले भविष्यलाई सम्झेर पनि बिस्तारै यस्ता गलत कार्यबाट सम्पत्ति कमाउने सोचलाई जो–कसैले त्याग्नुपर्दछ ।

हाम्रो मुलुकमा मानिसहरु प्रायः सोझा नै देखिन्छन् । खराब नेता, सरकारी कर्मचारी, व्यापारी, बिचौलिया आदिजस्ता मानिसहरु पनि यस मुलुकमा प्रशस्त नै छन्, जसरी तलाउमुनि झ्याउहरु फैलिएर बसेका हुन्छन् । यसबाहेक हाम्रो समाजमा रहनेहरु पनि अन्याय हुँदा सहेर बसेका हुन्छन् । यसले गर्दा खराब संस्कार झन्–झन् सक्रिय भएर व्याप्त भराखेको छ, जुन कसैको लागि पनि कदापि राम्रो होइन ।

यो मुलुकमा एउटा विडम्बना के छ भने, देश चलाउनेहरु लालची, झगडालु, स्वार्थी त छँदै छन्, त्यसमाथि पनि कानुन, पुलिस प्रशासन, सरकारी कार्यालय आदि पनि कोहीभन्दा कोही कम छैनन् हुन त एक पक्षले अर्को पक्षलाई दोष दिइराखेका हुन्छन् तर आखिरमा भित्र–भित्र मिलेर जेरीको आकार लिइराखेका हुन्छन् यिनीहरु । यस्तो बेलामा जनताले कसको मुख ताक्ने ?

हाम्रो मुलुकमा एउटा कहावत छ– काम पनि छैन फुर्सद पनि छैन । यो कहावतलाई मानिसहरुले राम्ररी बुझेका छन् । यस प्रकारका प्राणीहरु पनि धेरै छन् यहाँ, जस्तै– धेरै नेता र कार्यकर्ताहरु । एक हिसाबले भन्ने हो भने, यिनीहरुलाई राज्यले उत्पादनमूलक रोजगार दिन सक्नुपर्दछ । अझ यसबाहेक पनि हामीले काम नभएर कुरा मात्रै गर्ने अनि विनाकाम लखरलखर हिँड्ने मानिसहरुलाई रोजगार दिन सक्नुपर्दछ । अन्यथा हामीले यस्ता व्यक्तिहरुलाई बिहानैदेखि पागल, जँड्याहा, कुरौटे, फाल्तु मानवका रुपमा यत्रतत्र देख्न बाध्य हुन्छौं । जबसम्म यस्ता व्यक्तिहरुलाई सही ट्रयाकमा ल्याउन सकिन्न तबसम्म यस्ता अल्लडहरुले मुलुकलाई असर गरिराखेका हुन्छन् ।

हामीले माथि कुरा गरेजस्तै एक मनले भन्ने हो भने यस्ता मानिसहरुलाई मात्र किन दोष दिने ? देशको मिडियालाई हेरौं, अखबारहरु आदिलाई हेरौं, प्रायः सधैँ अनावश्यक नेताहरुसँग अन्तर्वाता लिइराखेको पाउँछौं । अखबार पढ्छौं, प्रायः अनावश्यक राजनीतिक कुराहरु धेरै पाउँछौं । यस्तै हिंसा वा दुःखदायी कुरा तथा प्राकृतिक प्रकोपले सर्वनाश भएका कुराहरु मात्र पढ्न पाउँछौं । तर यही माध्यमले नेता, मुलुक तथा समाजमा भइराखेका विकृतिलाई औंल्याएर सरकार, समाजलाई सही ट्रयाकमा ल्याउने समाधानको खोजी गर्नु आवश्यक छ, जुन अपुग छ ।

शिक्षा, ज्ञान, उपदेश नै एउटा यस्तो माध्यम हो जसले हरेक पक्षलाई सही ट्रयाकमा ल्याउँछ । त्यसैले त्यस्ता कुराहरु जनसमक्ष आउनुपर्छ । अहिले मुलुकमा ठूलो समस्याको जड भनेकै कानुन, बेरोजगार, भ्रष्टाचार, त्यसमाथि रोगको माहामारीजस्ता कुरा हुन्, जसको समाधानका लागि सबै पक्ष परिवर्तन हुनु जरुरी छ । तर यो मुलुकमा सतीको सराप छ कि, देश चलाउनेहरुको मन सधैँ हब्सीको छालाजस्तै कालो भएर हो कि, हामी जनता सधैँ दाल–भात र अल्लड भएर हो कि, यो मुलुकको द्रुत विकास कहिल्यै भएन । कसलाई मात्र दोष दिने ? त

अब आशा गरौं, मुलुकको लागि एकपल्ट हामी सबै परिवर्तन होऔं । नयाँ मुहार, नयाँ व्यक्तिहरु अब त केही गर्न पर्‍यो भनेर नयाँ–नयाँ पार्टी खोलौं । अवश्य यो देश बन्न समय लाग्ने छैन । यति मात्र होइन, प्रत्येक नागरिक खाली आशा गर्नु र अरुको मुख ताक्नुभन्दा आपूm नै सक्षम हुनु जरुरी छ । अन्यथा लोकतान्त्रिक मुलुकमा पनि राज्यले अर्थात् जुनसुकै सरकार आए पनि तपाईं–हामीलाई लुटी नै राखेको हुन्छ । हामी छटपटिएर बस्नुपर्ने हुन्छ ।

अन्त्यमा एउटा कुरा के छ भने, नेताहरुले आफ्नो जमात देखाएर जनतालाई तर्साउने मात्र होइन, मुलुकमा भइराखेको गतिविधि जस्तै– छिमेकी राष्ट्र चीनको प्रलोभन, भारतको भाइ–भाइ सम्बन्ध र अमेरिकी एमसीसी प्रणालीलाई राम्ररी बुझेर निर्णय गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्