फोहोरका डंगुरले भरिँदै छन् उपत्यकाका चोकहरु



केही दिनयता उपत्यकाको गल्ली, चोक र सडक किनारामा फोहोरको डंगुर थुप्रिएको छ । बाटोमा फैलिएको फोहोरलाई फैलाउनको लागि कुकुरले झन् सहायता पुप्याइरहेको छ । उपत्यकाको सडकमा हिँडिसक्नु छैन । जताततै दुर्गन्ध फैलिएको छ । त्यसमाथि वर्षातको समय । नाकमुख छोपेर हिँड्दा पनि फोहोर यस्तो गन्हाएको छ कि कुरै छोड्देऔं । महानगरपालिकाले समयमै फोहोर उठाउन नसक्दा उपत्यकामा फोहोरभन्दा अरु केही पनि छैन । काठमाडौंको सडकमा हिँड्न सक्ने स्थिति छैन । त्यसमाथि कोरोनाकालमा अर्को महामारी फैलिने हो कि भन्ने चिन्ता छ ।

यस्तो अवस्थाको जिम्मेवार को बन्ने ? सरकारले सडकको छेउछाउ फोहोर नफाल्न आग्रह गरे पनि कसैले टेरपुच्छर मानेका छैनन् । यसको जिम्मेवार घरधनी पनि बन्ने कि ? काठमाडौं महानगर आफ्नो जिम्मेवारी बहनमा चुकेको छ । जसको प्रतिफल जनताले भोग्नुपरेको छ । महानगर फोहोर विसर्जन गर्ने ठाउँ अर्थात् सिसडोल जाने बाटो बिग्रेको छ भनी आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । बाटो बिग्रेको छ भनेर समस्याको समाधान हुन्छ ?

महानगरको कमी–कमजोरीले गर्दा उपत्यकाको सुन्दरतामा ह्रास आएको छ । जेठयता फोहोर नियमितरुपमा संकलन हुन सकेको छैन । तैपनि सर्वसाधारणले महिनापिच्छे फोहोरको पैसा तिर्नुपरेको छ । घाम नलागेसम्म फोहोर नउठ्ने महानगरले जनाएको छ । पानी परिरह्यो भने सडकमै फोहोर फालिरहने । हेर हाम्रो देशको स्थिति ।

महानगरका अनुसार फोहोर व्यवस्थापन मौसममा भर पर्छ । त्यसो भए पानी परेको बेला फोहोर नै नहुनु हो । फोहोर त हरेक मौसममा हुन्छ । फोहोर संकलनको लागि पनि अब मौसम हेर्नुपर्ने दिन आयो । कहिले आन्दोलन त कहिले मौसम । यो समस्याको स्थायी रुपमा समाधानचाहिँ कहिले हुने हो ? महानगरपालिकाले नाराचाहिँ स्वच्छताको लाउँछ, कामचाहिँ बेवास्ताको गर्छ । जथाभावी फोहोर फाल्नेलाई जरिबाना र कैद सजाय गर्ने भनेर सडकको छेउछाउ होडिड बोर्ड टाँसेको छ । तर कसैले टेरेका छैनन् । नटेर्नुको कारणचाहिँ फितलो अनुगमन र महानगरको व्यस्तता नै हो ।

कामभन्दा बढी कार्यक्रम हुने देशको स्थिति यस्तै नै हो । फोहोर व्यवस्थापन कसरी गर्ने भन्नेमा ध्यान छैन । दिनहुँ प्रचारबाजीमा हिँडेका छन् महानगरका कर्मचारी । फोहोर नगरौं भन्ने होडिड बोर्डमा करोडौं खर्च भएको छ । यदि यो पैसाको सदुपयोग गरेको भए अहिले यस्तो स्थितिको सामना शायदै गर्नुपर्ने थिएन होला ।

घर बनाइसकेपछि आफ्नै घरभित्र कम्पोस्ट मल बनाउने ठाउँ छोड्नुपर्ने होइन ? तरकारीको बोक्रादेखि खानासमेत बाटैभरि छरिएको छ । योबाट कति दुर्गन्ध फैलिएको छ ? उपत्यकामा ७७ वटै जिल्लाका मानिसहरु बसोबास गर्छन् । यत्रो जनसंख्या भएको, पर्यटकीय क्षेत्रको स्थितिको त यस्तो छ । अरु जिल्ला त परको कुरा भयो । राजधानी भन्नेबित्तिकै सबैको मनमा सफासुग्घर, सौन्दर्यले भरिएको ठाउँ हो भन्ने कुरा झट्ट दिमागमा आइहाल्छ । यहाँ नेतादेखि बुद्धिजीवीसम्म बस्छन् । तर उपत्यकाजस्तो फोहोर र दुर्गन्धित स्थल देशको कुनै पनि कुनामा शायदै छ होला ?

जथाभावी फैलिएको फोहोरले मानिसको ज्यान लिने भयो । जनताको बाँच्ने अधिकारमा महानगरपालिकाले ताला लगाउन खोज्दै छ । फोहोर उठाएबापत हरेक सर्वसाधारणले महिना–महिनामा महानगरले तोकेजति रकम तिरेका छन् । एउटा कोठाको फोहोरको पैसा बहालमा बस्नेले १०० रुपियाँको दरले तिरेका छन् । एउटा घरमा १० वटासम्म कोठाभाडामा छ । यत्रो कोठाभाडामा छ भने फोहोर कति होला ? एउटा कोठाबाट १०० रुपियाँ लिँदा पनि १० वटा कोठाको १ हजार रुपिायाँ हुन्छ । महानगरले फोहोरको कति रुपियाँ तोकेको छ, यसको ज्ञान त महानगरलाई नै होला ।

महानगरपालिकाले निजी कम्पनीलाई पनि फोहोर उठाउन ठेक्का दिँदो रहेछ । फोहोर उठाएबापत हामी कोठा बस्नेले पैसा त तिर्छौं तर बिल पाउँदैनौं । हामी बहालमा बस्नेले फोहोरको पैसा कति तिर्नुपर्ने हो ? सरकारले कति तोकेको छ ? कसैलाई पनि जानकारी छैन । हरेक कोठामा बस्नेले १०० रुपियाँ तिरेका छन् । यसबाट राज्यको ढुकुटीमा कति राजस्व गएको छ ? अहिले हामीले जति पनि फोहोर उठाएबापत रकम तिरेको छांै यो सरकारले तोकेको होइन । यो रकम वडाध्यक्ष र फोहोर उठाउन जिम्मा पाएको ठेकेदारको मिलोमतोमा तोकिएको हो । फोहोर उठाउने कर्मचारीको तलब कति छ ? अति न्यून तलब दिएर उनीहरुको शोषण गरिएको छ । वडाध्यक्षहरुले आफन्तलाई फोहोर उठाउन ठेक्का दिने गरेका छन् । वडाध्यक्ष र ठेकेदार मिलेर फोहोर उठाएको पैसा आफू हत्याउने गर्छन् ।

अनि राज्यको ढुकुटी जहिले पनि रित्तै । राज्य जहिले पनि हेरेको हेर्‍यै छ । नेपाल कमिसन र भ्रष्टाचारमा टिकेको देश रहेछ । अरुमा तकमिसन खाए तर फोहोरमा पनि ठेक्कापट्टा गरेर कमिसन खानबाट पछि परेनन् । फोहोर उठाउने कसको जिम्मेवारी हो ? फोहोर उठाउने कर्मचारीलाई कम तलब दिएर उनीहरुको शोषण भइरहेको छ । फोहोर उठाउने कर्मचारीहरुको बेहाल छ । न हातमा पञ्जा छ, न मुखमा मास्क छ । खुट्टामा लाउने बुटको त कुरै छोड्देऔं । के उनीहरु मान्छे होइनन् ?

फोहोर उठाउने कर्मचारीको आर्थिक स्थिति कमजोर छ । त्यसैले त फोहोर उठाउन आएका हुन् । फोहोर उठाउन कसलाई रहर लाग्छ ? फुटेको सिसा, किलाहरु जथाभावी फोहोरको पोकोमा हालिदिएका हुन्छन् । यसबाट कसैको हातखुट्टा काट्न सक्छ । के नेपाली जनतामा मानवता हराएकै हो ? उनीहरुले सरकारबाट पाउनुपर्ने सेवा–सृविधा पनि पाएका छैनन् । ठेकेदार राखेर फोहोर उठाउन दिँदा उनीहरुले भनेको बेलामा तलबसमेत पाउँदैनन् । सरकार आफैंले कर्मचारी राखेर फोहोर उठाउनुपर्ने होइन र ? फोहोर संकलन गरेबापत लिएको रकम सीमित व्यक्तिको खल्तीमा जाने कि राज्यको ? ठेक्कापट्टामा फोहोर संकलन गर्ने जिम्मा दिँदा राज्यले बर्सेनि अर्बौं रुपियाँको राजस्व गुमाउनुपरेको छ ।

राज्य आफैंले फोहोरको पैसा उठाउने हो भने सबै जनतालाई फोहोर संकलन गरेको सरकारी रेटबारे जानकारी हुन्थ्यो । सर्वसाधारणले पनि केही सर्वसुलभता पाउथे । वडाध्यक्ष र मेयरहरुले आफ्नो व्यक्तिगत फाइदाबारे सोच्दा राज्य घाटामा गइरहेको छ । ठेकेदारहरुले जनता ठगे तर राज्य थाहा नपाएजसो गरी टुलटुलु हेरेर बस्यो । नेपालको ७ वटै प्रदेशमा रहेको महानगरपालिकाले भनेको बेलामा फोहोर उठाउनेतर्फ चासो दिँदैन । यसबाट विश्वमै नेपालको कस्तो प्रभाव पर्न गएको छ ? यो त हाम्रो देशको बुद्धिजीवीहरुले सोच्नुपर्ने कुरा होइन र ? आफ्नो घरबाट निस्केको फोहोरलाई व्यवस्थित गर्नु हरेक नागरिकको जिम्मेवारी हो । तर यतिको सोचविचार उपत्यकावासीले गरेको छैनन् ।

सडकमा मात्र नभई खोलाछेउछाउमा समेत फोहोर फालेका छन् । नेपालीहरुको यस्तो बानी व्यवहारले गर्दा खोलानाला, सडक जथाभावी फोहोरै फोहोर छ । महानगरपालिका पनि हात बाँधेर बेवारिसेझैँ बसेको छ । एक ठाउँमा मात्र फोहोर विसर्जन गर्न सम्भव छैन भन्ने कुराको ज्ञान हुँदाहुँदै पनि ट्वाल्ल परेर हेरेर बस्नु उचित हो ? यो त महानगरको गैरजिम्मेवारी हो ।

– अनुषा थापा, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्