नैतिक शिक्षा खड्किएको समाज



नैतिक शिक्षाको ज्ञान र प्रयोग बाल्यावस्थाबाट नै हुनुपर्दछ । शिक्षाको माध्यम अनि त्यसको उचित प्रयोगबाट हरेक व्यक्तिले आफूलाई सक्षम बनाउन सक्दछ । नैतिक शब्दको अर्थ नीतिहरुको पालन गर्नु हो । जब मानिसबाट नीतिको पालन हुन्छ तबमात्र समाजमा सकारात्मक सोचको विकास हुन्छ । नागरिकमा आफ्नो दायित्वबोध हुँदै जान्छ । अनि समाज सकारात्मक तरिकाबाट अगाडि बढ्दै व्यक्ति अर्थात् मानिसमा सदाचार, विनम्रता, सद्भाव, प्रेमभाव, श्रद्धा, परोपकारजस्ता सकारात्मक पक्षले स्थान पाउँछन् । तर, आजको समाज यस मूल्य र मान्यताबाट निकै टाढा भएको आभास भइरहेको छ । नैतिक शिक्षा आजको अपरिहार्य आवश्यकता हुन पुगेको छ ।
यो शिक्षा मानव कल्याणका लागि हुनुपर्दछ । सामाजिक कुसंस्कार कुरीति र अन्धविश्वासलाई चिर्दै उज्यालो दिशातिर उन्मुख हुनुपर्दछ ।

समाजमा रहेका राम्रा पक्षलाई प्रेरित गर्ने खालको हुनुपर्दछ । व्यक्तिको व्यवहार, विनम्रता, आदर, संस्कारजस्ता आधारभूत आवश्यक मान्यताहरुमा विशेष जोड दिनुपर्दछ । जसबाट बालबालिकाहरु भविष्यमा असल र कुशल नागरिक भई देश, समाज र विश्वमै अनुकरणीय उदाहरण बन्न सकून् । र, सबैका सामु एउटा असल नागरिकका रूपमा आफूलाई प्रस्तुत गर्न सकून् ।

नैतिक शिक्षा आफैंमा महत्वपूर्ण विषय हुँदाहुँदै पनि यसको प्रयोगका लागि केही चुनौती पनि रहेका छन् । यो शिक्षालाई धर्मसँग जोडेर हेरिनु र व्याख्या गरिनु, आदर्श एवं काल्पनिक विषयको रूपमा हेरिनु, व्यावहारिक तथा यथार्थपरकभन्दा पनि भावनात्मक हुनु, विज्ञानले प्रमाणित गरेका कुरालाई समेत आत्मसात् गर्न नसक्नु आदि यसका चुनौतीहरू हुन् ।

– ज्ञानु दाहाल, कलंकी ।

प्रतिक्रिया दिनुहोस्