स्वर्ण बाँडेर बारसिमले सबैको मन जिते



टोक्यो, (एजेन्सी) ।

विश्वमा अहिले स्वार्थी मान्छेको कमी छैन । आफ्नो फाइदा भए हात फैलाउने, फाइदा नहुने भएपछि हात झिक्ने बानी मान्छेमा छ । तर, टोक्यो ओलम्पिकमा एक खेलाडीले स्वार्थरहित काम गरेका छन् । कतारका खेलाडी मुताज एस्सा बारसिमले विश्वलाई नै चकित तुल्याए । खेलाडीका लागि ओलम्पिकमा स्वर्ण जित्नु जीवनकै सबैभन्दा ठूलो सपना हुन्छ । तर, बारसिमले स्वर्ण बाँडेर जित्नुका साथै सबैको मन जितेका छन् ।

बारसिमले चोट भएका खेलाडी इटालीका गियानमार्को तांबेरीलाई चित्त नदुखाउने गरी स्वर्ण बाँडेका हुन् । पुरुषको हाईजम्पमा बारसिम र तांबेरी दुवैले २.३७ मिटर (७ फिट ८ इन्च) जम्प गरेका थिए । एकैसाथ दुवै जना पहिलो स्थानमा रहे । यसपछि इभेन्ट अधिकारीहरूले दुवैलाई तीन तीनपटक जम्प गर्न लगाएका थिए । दुवै जना तीनपटक जम्पमा २.३७ मिटरभन्दा माथि उफ्रन सकेनन् ।

अधिकारीहरूले उनीहरूलाई फेरि एकपटक जम्प गर्न भनेका थिए । तर, तबसम्म इटालीका धावक तांबेरी घाइते भइसकेका थिए । खुट्टाको चोटका कारण उनले नाम फिर्ता लिए । उनले नाम फिर्ता लिएपछि बारसिमलाई धेरै मिटर उचाइमा जम्प लगाएर स्वर्ण जित्ने मौका आएको थियो ।

बारसिमले अधिकारीहरूलाई सोधे कि यदि उनले पनि नाम फिर्ता लिएमा के हुनेछ । अधिकारीले नियमको पुस्तक हेरेर बताए कि यदि नाम फिर्ता लिएमा दवै जनालाई स्वर्ण दिइनेछ । यति सुन्नेबित्तिकै बारसिमले अन्तिम जम्पबाट नाम फिर्ता लिएपछि दुवैलाई स्वर्ण दिइएको थियो । तांबेरीले खुशीका साथ बारसिमलाई अंगालो मारे र दुवै जना ओलम्पिकको स्टेडियम घुमेर आफना भावना प्रकट गरेका थिए ।

बारसिमले यस्तो ऐतिहासिक निर्णय लिएपछि बताए–‘खेल जित्नु नै सबै थोक होइन । हामीले अब आउने पुस्ताको लागि सन्देश दियौं कि कसरी खेल्नुपर्छ । कसरी आफ्नो प्रतिद्वन्द्वीलाई पनि सम्मान गर्नुपर्छ र जो हकदार हुन् उनको सफलतामा साझेदारी बन्नुपर्छ ।’

पोर्टो रिकोको ट्रयाकमा ऐतिहासिक स्वर्ण

जास्मिन कामाचो क्विनले पोर्टो रिकोको लागि ओलम्पिक ट्रयाक एन्ड फिल्डमा इतिहासकै पहिलो स्वर्णपदक दिलाइन् । कामाचो क्वीनले टोक्यो ओलम्पिकमा महिलाको सय मिटर हर्डल्समा स्वर्ण जितेकी हुन् । कामाचो क्विनले १२.३७ सेकेन्डमा सय मिटर हर्डल्स पूरा गरेकी थिइन् । उनले जितपछि बताइन्–‘मैले स्वर्णपदक जित्न चाहेकी थिएँ र मैले पाएँ ।’

२४ वर्षीया धाविका क्यारिबियन आइल्यान्डबाट ओलम्पिक स्वर्ण जित्ने केवल दोस्रो खेलाडी हुन् । यसअघि रियो ओलम्पिक २०१६ मा महिला टेनिसतर्फ मोनिका प्युगले स्वर्ण जितेकी थिइन् । वल्र्ड इन्डोर च्याम्पियन केन्द्रा हेरिसनले अमेरिकाको लागि रजतपदक जितिन् । योसँगै महिलाको स्प्रिन्ट हर्डल्समा अमेरिकाले लगातार ६ ओलम्पिकमा पदक जित्ने रेकर्ड बनेको छ । ओलम्पिकको इतिहासमा एउटै इभेन्टमा एउटै राष्ट्रले पदक लगातार जित्ने नयाँ रेकर्ड बनेको हो । जमैकाकी मेगान टापरले कांस्यपदक जितेकी थिइन् ।

पुरुषभन्दा महिला नै अघि

ओलम्पिकमा महिला र पुरुष खेलाडीले बराबरी इभेन्टमा प्रतिस्पर्धा गरेका हुन्छन् । तर, जारी टोक्यो ओलम्पिकमा पदक तालिकाको शीर्ष पाँच देशको पदक तालिका हेर्दा महिला खेलाडीले बढी पदक जितेका छन् । टोक्योमा पुरुषको तुलनामा पदक जित्नेमा महिला खेलाडी ६७ प्रतिशतले बढी छ । अहिलेसम्म महिला खेलाडीले एक सय ९४ पदक जितिसकेका छन् । जबकी पुरुष खेलाडीले एक सय १६ पदक मात्र जितेका छन् ।

पदक तालिकामा शीर्ष स्थानमा रहेको चीनका महिला खेलाडीले पुरुषको दाँजोमा दोब्बर पदक जितेका छन् । जबकी अमेरिकाका महिला खेलाडीले पुरुषको तुलनामा तेब्बर पदक हात पारेका छन् । यस्तै, जापान रूस र अस्ट्रेलियाका खेलाडीमा पनि महिलाले नै बढी पदक दिलाएका छन् । यदि, चीन र अमेरिकाका महिला खेलाडीले पुरुष सरह पदक जितेको भए यी देशहरू पदक तालिकामा जापान, अस्ट्रेलियाभन्दा पनि तल रहने थिए ।

टोक्योमा अहिलेसम्म दुईभन्दा बढी पदक जित्नेमा ३५ महिला खेलाडी छन् भने पुरुष खेलाडी १९ जना छन् । अस्टे«लियाकी स्विमर एम्मा मेककीओन एक्लैले ७ वटा पदक जितेकी छन् । ३ पदक जित्नेमा ८ खेलाडी रहेकोमा ५ महिला खेलाडी रहेका छन् । २ पदक जित्नेमा कुल ४५ खेलाडी रहेकोमा २९ खेलाडी महिला छन् ।

छिमेकीले हरायो अमेरिकालाई

पाँचौं पटक ओलम्पिक फुटबलमा स्वर्ण जित्ने लक्ष्यमा रहेको अमेरिकी महिला सकर टिम जारी ओलम्पिकको सेमिफाइनलमै पराजित भएको छ । गत रियो ओलम्पिकमा कांस्यपदक जितेको टिम क्यानडाले अमेरिकालाई १–० ले स्तब्ध तुल्याएको हो । अमेरिकाको छिमेकी क्यानडाको लागि पेनाल्टी प्रहार सदुपयोग गर्दै जेसी फ्लेमिङले क्यानडालाई फाइनलमा पुर्‍याएकी हुन् ।

पेनाल्टीको निर्णय लिइएपछि क्यानडाले गोल गर्न सफल भएको थियो । अमेरिकाविरुद्धको यो जित क्यानडाको २००१ पछिको हो । हारसँगै अमेरिकाले अब कांस्यपदकका लागि कोशिस गर्नेछ । अमेरिका गत रियो आलम्पिकमा क्वार्टरफाइनलबाट बाहिरिएको थियो । अमेरिका १९९६, २००४, २००८, २०१२ ओलम्पिकका स्वर्णपदक विजेता टिम हो ।

बाइल्सले बिममा प्रतिस्पर्धा गर्ने

सिमोन बाइल्सले टोक्यो ओलम्पिकमा मंगलबार हुने बिम फाइनलमा प्रतिस्पर्धा गर्नेछिन् । बाइल्सले यसअघि जिम्नास्टिकको चार इभेन्टमा खेल्न असमर्थता जनाएकी थिइन् । २४ वर्षीया अमेरिकी जिम्नास्टले टोक्यो ओलम्पिकमा ६ स्वर्णपदक जित्ने लक्ष्यमा रहेकी हुन् । तर, चोटका कारणले उनले यसअघि भएका इभेन्टबाट नाम फिर्ता लिन बाध्य भइन् ।

बाइल्सले गत रियो ओलम्पिक २०१६ अन्तर्गत बिम इभेन्टमा कांस्यपदक जितेकी थिइन् । उनले जारी ओलम्पिकमा टिम इभेन्टमा रजत पदक जितेकी छन् । यदि बिम इभेन्टमा पदक जितेमा उनको ओलम्पिक करियरमा सातौं पदक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्