अर्जेन्टिना १५औं पटक च्याम्पियन, अर्जेन्टिनाबाट मेसीको पहिलो उपाधि



रियो दि जेनेरियो,(एजेन्सी) ।

अर्जेन्टिनालाई १५औं पटक कोपा अमेरिका च्याम्पियन बनाउँदै कप्तान लिओनेल मेसीले पहिलोपटक राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय उपाधि जितेका छन् ।

लिओनल मेसीको टिम अर्जेन्टिनाले २८ वर्ष लामो उपाधिविहीन यात्रामा पूर्णविराम लगाउँदै कोपा अमेरिका फुटबलको उपाधि जित्दा मेसीले पहिलोपटक राष्ट्रिय टिमको जर्सीमा अन्तर्राष्ट्रिय उपाधि उचाल्दै इतिहास कोरेका हुन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा पाहुना टोली अर्जेन्टिनाले घरेलु टोलीलाई १–० गोलअन्तरले हराउँदै उपाधि पोल्टामा पार्न सफल भएको हो ।

यससँगै, अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मञ्चमा सन् १९९३ पछि पहिलो उपाधि जित्न सफल भएको छ । कप्तान लिओनल मेसीले पनि आफ्नो लामो करिअरमा पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएका छन् । ३४ वर्षको उमेरमा मेसीले देशको जर्सीमा पहिलो उपाधि जित्दै आफूमाथि लाग्दै आएका आरोप र आलोचनाको जवाफ दिएका छन् ।

ब्राजिलस्थित रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा सात हजार आठ सय दर्शक उपस्थित भएको उक्त फाइनल खेलमा अर्जेन्टिनालाई उपाधि जिताउनका लागि एक मात्रै विजयी गोल एन्जल डी मारियाले गरेका थिए । सोही अग्रता बाँकी समयभरि जोगाएर अर्जेन्टिनाले उपाधि जित्न सफल भयो । अर्जेन्टिनाका लागि यो समग्रमा कोपाको १५औं उपाधि हो । ब्राजिल भने यसपटक १०औं पटक कोपाको उपाधि जित्ने दौडमा थियो । यसअघि, २०१९ मा ब्राजिलले मेसीसहितको अर्जेन्टिनालाई सेमिफाइनलमा २–० ले हराएर उपाधि होडबाट घर फर्काइदिएको थियो । तर, त्यसको दुई वर्षपछि फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई उसैको घरेलु मैदानमा हराएर मिठो बदलासमेत लिन सफल भएको छ ।

अन्तिमपटक अर्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यसपछि सन् २००४ र २००७ मा लगातार दुई संस्करणमा अर्जेन्टिना ब्राजिलसँग फाइनलमा पराजित भएको थियो । त्यसपछि सन् २०१४ को फिफा विश्वकपको फाइनलमा जर्मनीसँग १–० ले हारेको अर्जेन्टिना सन् २०१५ र २०१६ लगातार दुई वर्ष चिलीसँग कोपाको फाइनलमा पराजित भएको थियो । सन् १९९३ मा उपाधि जितेर २८ वर्षका बीचमा पाँचवटा फाइनल हारेको अर्जेन्टिनाले अन्ततः २०२१ मा उपाधि जित्न सफल भयो ।

अर्जेन्टिनी कप्तान लियोनल मेसी र ब्राजिली स्टार नेयमार भने संयुक्तरूपमा ४७औं कोपा अमेरिकाको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । मेसीले सर्वोत्कृष्ट खेलाडीसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि पनि जित्न सफल भए । दक्षिण अमेरिकी फुटबल फेडेरेसनको प्राविधिक टोलीको छनोट समितिको अध्ययनपछि मेसी र नेयमारलाई संयुक्तरूपमा कोपाको सर्वाेत्कृष्ट खेलाडी घोषणा गरिएको हो । कोपाको इतिहासमा पहिलोपटक दुई खेलाडीले सर्वाेत्कृष्ट खेलाडीको अवार्ड बाँडेका छन् । समापन समारोहमा भने मेसीले मात्रै अवार्ड ग्रहण गरे । उक्त छनोट समितिले दुईमध्ये एक खेलाडीलाई मात्रै छान्न असहज भएकाले दुवै खेलाडीलाई कोपाको सर्वाेत्कृष्ट खेलाडी घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कोपा अमेरिका विजेता अर्जेन्टिनाका कप्तान तथा मुख्य खेलाडी लिओनल मेसीले व्यक्तिगतरूपमा भने दुई अवार्ड जितेका छन् । मेसीले ‘टप गोल स्कोरर अफ द टुर्नामेन्ट’ र ‘बेस्ट प्लेयर अफ द टुर्नामेन्ट’ गरी दुई अवार्डमा बाजी मार्न सफल भए । फाइनल खेलमा मेसीले गोल र असिस्ट गर्न नसके पनि प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका आधारमा उनलाई प्रतियोगिताको सर्वोेत्कृष्ट खेलाडी र सबैभन्दा धेरै गोलका लागि सर्वाधिक गोलकर्ताको अवार्ड दिइयो । कोपामा कुल ७ खेलमा सहभागी हुँदै मेसीले चार गोल र पाँच गोलमा असिस्ट गरेका थिए । ती सात खेलमध्ये मेसी चार खेलमा ‘म्यान अफ द म्याच’ घोषित भएका थिए ।

अर्जेन्टिनालाई समूह चरणबाट फाइनलसम्म पुर्‍याउनका लागि मेसीले प्रतियोगितामा नायकको भूमिका खेलेका थिए । शुरूवाती तीन खेलमा केही सुस्त देखिए पनि मेसीले त्यसपछि आफ्नो लय समातेका थिए । उनले टिमलाई च्याम्पियन बनाउनेक्रममा चार गोल मात्रै गरेनन्, टिमका अन्य सहकर्मीलाई पाँच गोलका लागि असिस्टसमेत दिए । यसैकारण उनी प्रतियोगिताभरका सर्वोत्कृष्ट खेलाडी बने ।

फाइनल खेलमा मेसी गोलविहीन र असिस्टविहीन बने । खेलको अन्तिम समयमा मेसीले वान भर्सेस वानमा गोल गर्ने सुनौलो अवसर पाएका थिए । तर, उनले ब्राजिलियन गोलकिपरलाई बिट गर्न नसक्दा मौका सदुपयोग गर्न सकेनन् । मेसीका लागि सो अवसर खेलभरिकै सबैभन्दा सुनौलो अवसर थियो । ब्राजिललाई हराएर उपाधि जिते पनि मेसीले यो टिमविरुद्ध आजसम्म कुनै पनि अफिसियल खेलमा गोल र असिस्ट गर्न सकेका छैनन् ।

त्यस्तै, अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज कोपाको उत्कृष्ट गोलरक्षक बने । उनी यो उपाधि जित्ने पहिलो अर्जेन्टिनी खेलाडी हुन् । सेमिफाइनलमा मार्टिनेजले पेनाल्टी सुटआउटमा कोलम्बियाको तीन पेनाल्टी बचाएका थिए । फाइनलमा पनि मार्टिनेजले केही सुन्दर बचाउ गरेका थिए । दोस्रो भएको ब्राजिलले ‘फेयर प्ले’ अवार्ड जितेको छ । ११ जुनबाट शुरू भएको कोपामा दक्षिण अमेरिकाका १० राष्ट्रले सहभागिता जनाएका थिए ।

राष्ट्रिय टिममा मेसीको केही कीर्तिमान

विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिकामा मेसीले सर्वाधिक ३४ म्याच खेलेका छन् । योसँगै मेसीले कोपामा सर्वाधिक ३४ म्याच खेल्ने चिलीका सर्जियो लिभिङस्टोनको कीर्तिमानसँग बराबरी गरेका छन् । सन् २००७ देखि कोपा खेल्न थालेका मेसीले ६ संस्करण खेल्दै उक्त कीर्तिमानसँग बराबरी गरेका हुन् । उनले २००७, २०११, २०१५, २०१६, २०१९ र २०२१ मा गरी कुल ३४ म्याच खेले । जसमा २१ खेलमा जित हात पारे । त्यस्तै २०१५ र २०१६ को फाइनलको पेनाल्टी सुटआउटबाहेक जम्मा तीन खेलमा मात्र मेसी सम्मिलित अर्जेन्टिना पराजित भएको थियो ।

मेसी गोल गर्न मात्र नभई गोलका लागि सहयोग गर्नसमेत माहिर छन् । उनले कोपामा ३४ म्याच खेल्दा अहिलेसम्म १५ असिस्ट गरेका छन् जुन अर्को कीर्तिमान हो । मेसीले राष्ट्रिय टिमका लागि सर्वाधिक म्याच खेल्ने कीर्तिमान पनि बनाएका छन् । कोपाअघि मेसीले राष्ट्रिय टिमबाट एक सय ५१ म्याच खेलेका छन् । भर्खरै सम्पन्न कोपाको समूह चरणमा चिली, उरुग्वे र पाराग्वेसँग खेल्दै ज्याभिएर मास्केरानोको नाममा रहेका एक सय ४७ खेलको कीर्तिमान बराबरी गरेका मेसीले बोलिभियाविरुद्ध खेल्दै उक्त कीर्तिमान तोडेका थिए । त्यसपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलेका मेसीले अर्जेन्टिनाका लागि आफ्नो खेलसंख्या एक सय ५१ पुर्‍याएका हुन् ।

मेसी ६ संस्करण कोपा अमेरिका खेल्ने पहिलो खेलाडीसमेत बनेका छन् । यसमा पनि उनले मास्केरानोकै कीर्तिमानलाई उछिने । मास्केरानोले पाँच संस्करण कोपा खेलेका थिए । सन् २००७ मा कोपामा डेब्यु गरेका मेसीले त्यसयता लगातार ६ संस्करण खेलेका हुन् । मेसीले कोपा अमेरिकामा ६ संस्करण खेल्दा कुल १३ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्