थ्री नेसन्स विजेता नेपाली खेलाडीलाई पुरस्कार



नेपाल समाचारपत्र, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतमा सम्पन्न थ्री नेसन्स कप उपाधि विजेता नेपाली टिमका खेलाडीलाई आइतबार पुरस्कार रकम वितरण गर्नुभएको छ ।

उक्त प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशलाई हराएर उपाधि जितेको थियो । तेस्रो टिम किर्गिस्तानको यू–२३ थियो । सो अवसरमा नेपाली टिमका कप्तान किरण कुमार लिम्बु चेम्जोङ, रञ्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, सन्जोक राई, रवि पाशवान, तेज तामाङ, अन्जन विष्ट, अभिषेक रिजाल, विकेश कुथु, निशान खड्का, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, एरिक विष्ट विशाल राई, सुनिल बल, दर्शन गुरुङ, भरत खवास, दीप कार्कीले जनही ४/४ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरे । टिमका प्रशिक्षकहरू बालगोपाल महर्जन, किरण श्रेष्ठ र विकास मल्ललाई दुई लाख रुपियाँ नगदसहितको सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रधानमन्त्री ओलीले साफ च्याम्पियनसिप नेपालले नै आयोजना गर्ने बताउनुभयो । विगत लामो समयदेखि आयोजन हुननसकेको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आयोजना गर्ने पालो बंगलादेशको हो । गत वर्ष रोकिएको यो प्रतियोगिता यस वर्ष पनि हुने भन्ने टुंगो लागेको छैन । यसै प्रसंगमा नेपाली टिमका कप्तान चेम्जोङले सो प्रतियोगिता बंगलादेशले आयोजना गर्ने सम्भावना टर्दै गएको अवस्थामा नेपालले नै गर्दा राम्रो हुने बताएका थिए । त्यसैतर्फ संकेत गर्दै प्रधानमन्त्रीले प्रतियोगिता नेपालले आयोजना गर्ने र त्यससँगै नेपाली टिम पनि जित्ने मानसिकताका साथ उत्रिनुपर्ने बताउनुभएको थियो ।

‘साफ खेलमा यदि तपाईंहरू जित्न चाहनुहुन्छ भने हामी आयोजना गर्छौं ।’ साथै उहाँले खेल खेल्ने मात्र हैन जित्ने आत्मविश्वास खेलाडीमा हुनुपर्ने त्यसका लागि निरन्तरको अभ्यास, व्यायाम र संयम आवश्यक रहेको धारणा प्रधानमन्त्रीको थियो । नेपालीहरूलाई खेलमा जित्ने बानी बिस्तारै पर्दै जान थालेको बताउँदै प्रधानमन्त्रीले अब अमेरिकी गायक बब एवेगेनले जस्तो हामी जित्ने छौं एक दिन नभनी हामी आजै जित्ने छौं भन्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्