मिनी रंगशालालाई १,११,१११ सहयोग



हेटौंडा, (नेस) ।

हेटौंडा–५ स्थित क्याम्पाडाँडामा निर्माण जारी मिनी रंगशालाका लागि मकवानपुर जिल्ला एथलेटिक्स संघले एक लाख ११ हजार एक सय ११ रुपियाँ सहयोग गरेको छ । पिप्ले युवा क्लबको अगुवाइमा निर्माणाधीन रंगशालाको माध्यमबाट खेलाडी उत्पादनमा सघाउ पुग्ने भएकोले सहयोग गरिएको संघले जनाएको छ ।

पिप्ले युवा क्लब अध्यक्ष सुशील घिमिरेलाई सहयोग हस्तान्तरण गरिएको हो । राज्यले गर्नुपर्ने काम कुनै एउटा क्लबले गरिरहेको भन्दै जिल्ला एथलेटिक्स संघ अध्यक्ष प्रभाकर पाण्डेले खेलकुदसँग सम्बन्धित सबै संघसंस्थाले सक्दो सहयोग गर्नु आवश्यक रहेको धारणा राखे ।

‘मिनी रंगशाला बन्दा जिल्लाको खेलकुद क्षेत्रले केही न केही फड्को मार्नेछ । एउटा क्लबको अगुवाइमा निर्माणको काम भइरहेको छ । दायित्व सम्झेर नगद सहयोग गरेका हौं’ –उनले भने । एथलेटिक्स संघको कार्यसमिति र खेलकुदलाई माया गर्ने केही व्यक्तिबाट प्राप्त रकम सहयोग गरिएको उनले बताए । क्याम्पामा एथलेटिक ट्रयाकसहितको रंगशाला निर्माण जारी छ ।

मिनी रंगशाला निर्माणका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाबाट सहयोग प्राप्त भईरहेको जानकारी दिँदै क्लब अध्यक्ष घिमिरेले संघलाई धन्यवाद दिए । रंगशालाको जगको काम सकिएको जानकारी दिँदै उनले अब पिल्लरमाथिको काम शुरू हुने बताए । सकेसम्म चाँडो मिनी रंगशाला निर्माणको काम सम्पन्न गर्ने योजना रहेको अध्यक्ष घिमिरेले सुनाए ।

क्याम्पाडाँडामा खेल मैदान तथा एथलेटिक ट्रयाक बनाउन ५ नम्बर वडा कार्यालयले चालु आर्थिक वर्षमा ११ लाख विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षमा पनि रंगशालाका लागि २५ लाख बजेट छुट्याइएको छ । हेटौंडा उपमहानगरपालिकाले मिनी रंगशालाका लागि ७५ लाख छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्