इंग्ल्यान्ड र इटालीबीच उपाधि भिडन्त आज



नेपाल समाचारपत्र, काठमाडौं ।

इंग्ल्यान्डको फुटबल टिमले ५५ वर्षको लामो उपाधि खडेरी समाप्त पार्ने लक्ष्यका साथ युरोकप २०२० को फाइनलमा उत्रनेछ । इंग्ल्यान्डले घरेलु मैदान वेम्बली रंगशालामा खेल्ने भएको हुँदा उपाधि हात पार्ने सम्भावना धेरै छ । तर, गेरेथ साउथगेटको टिमलाई इटालीजस्तो सशक्त टिमको चुनौतीबाट गुज्रनु पर्नेछ । उपाधि जित्न त्यति सजिलो चाहिँ हुने छैन ।

इंग्ल्यान्ड लामो समयपछि उपाधि जित्ने धुनमा हुनेछ । इंग्ल्यान्ड सन् १९६६ को विश्वकप जितेपछि कुनै पनि युरोपियन च्याम्पियनसिप र फिफा विश्वकपको फाइनलमा समेत पुग्न सकेको थिएन । यो टिम १९९० को विश्वकप र १९९६ को युरोपियन च्याम्पियनसिपमा फाइनल निकट पुगेको थियो । तर, दुईपटक नै सेमिफाइनलबाट बाहिरिएको यो टिमलाई दुवैपटक जर्मनीले हराएको थियो । यसपटक भने जर्मनीको खतरनाक चुनौती अन्तिम १६ मै पन्छाएर इंग्ल्यान्ड फाइनलमा पुग्न सफल भयो ।

मेनेजर साउथगेटले इटाली गजबको टिम भन्दै आफ्ना खेलाडीलाई सचेत भने तुल्याइरहेका छन् । यस्तै इंग्लिस कप्तान हेरी केनले इटाली कठिन प्रतिद्वन्द्वी भएको बताए । केनले जारी युरोकपमा चार गोल गरिसकेका छन् । डेनमार्कविरुद्ध सेमिफाइनल खेलमा विजयी गोलसमेत गरेका उनी गोल्डेन बुटको होडमा निकै नजिक पनि छन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पाँच गोल र एक असिस्टका साथ पहिलो नम्बरमा रहेका छन् ।

उता रोबेर्टो मान्चिनीको इटाली पछिल्ला ३३ खेलमा अपराजेय भएको टिम हो । २०१८ को विश्वकपमा छनोट हुन नसकेको यो टिम अहिले युरो २०२० को फाइनल खेल्दैछ । विश्वकप सकेपछि सेप्टेम्बर २०१८ देखि इटालीले निकै राम्रो प्रदर्शन गर्दै आएको छ । मान्चिनी आएदेखि इटालीको खेलमा फरक देखिएको विंगर फेडेरिको बर्नार्देस्चीले बताए । उनले मान्चिनीलाई म्याडम्यानसमेत भनेका छन् । इटालीले सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएर फाइनलको यात्रा तय गरेको हो ।

इटालीका प्रमुख प्रतियोगिताहरूमा इंग्ल्यान्डविरुद्ध राम्रो रेकर्ड छ । अहिलेसम्म इटालीले इंग्ल्यान्डविरुद्ध प्रमुख प्रतियोगितामा हार बेहोरेको छैन । इटालीले चारपटकको भेटमा तीनमा जित र एकमा बराबरी खेलेको छ । युरो १९८० मा इटालीले इंग्ल्यान्डलाई १–० ले हराएको थियो । यस्तै १९९० र २०१४ का विश्वकपमा इटाली समान २–१ ले जितेको थियो । युरो २०१२ क्वार्टरफाइनलमा इटालीले पेनाल्टी सुटआउटमा जितेको थियो ।

फाइनल यात्रा

इटाली इंग्ल्यान्ड
टर्की ३–० क्रोएसिया १–०
स्विटजरल्यान्ड ३–० स्कटल्यान्ड ०–०
वेल्स १–० चेक रिपब्लिक १–०
अस्ट्रिया २–१ जर्मनी २–०
बेल्जियम २–१ युक्रेन ४–०
स्पेनविरुद्ध १–१
(पेनाल्टीशूटआउटमा जितेको) डेनमार्क २–१

हेड टु हेड

खेलः २७
इटाली जितेकोः ११
इंग्ल्यान्ड जितेकोः ८
ड्रः ८

अघिल्ला ५ खेलका भेट :

२०१८ इंग्ल्यान्ड १–१ इटाली (मैत्रीखेल)
२०१५ इटाली १–१ इंग्ल्यान्ड (मैत्री खेल)
२०१४ इंग्ल्यान्ड १–२ इटाली (विश्वकप)
२०१२ इंग्ल्यान्ड २–१ इटाली (मैत्री खेल)
२०१२ इंग्ल्यान्ड ०–० इटाली (युरो क्वार्टरफाइनल)
(टाइबे्रकरमा इटाली ४–२ ले विजयी)

इंग्ल्यान्ड जित्छः अनिल गुरुङ (फुटबलर)

इटाली र इंग्ल्यान्डबीचको खेल रोमाञ्चक हुने आस गर्न सकिन्छ । उपाधि जित्ने कुरामा इंग्ल्यान्डले नै जित्नेछ । जित्ने आधारहरू छन् । जस्तै प्रतियोगिताभर राम्रो खेलेको छ । दोस्रो योंग प्लेयरहरूले राम्रो प्रदर्शन गरिरहेका छन् । अर्को होम क्राउडको फाइदा पनि इंग्ल्यान्डलाई नै हुनेछ । बेन्चका खेलाडीले समेत राम्रो प्रदर्शन गरिरहेका छन् । सुपरस्टार खेलाडी हुँदा र नहुँदाको फरक पनि यो टिमले देखाएको छ । यसअघि, डेभिड बेकह्याम, वायन रुनीजस्ता खेलाडी हुँदा टिमले केही गर्न सकेका थिएनन् ।

तर, यसपटक सुपरस्टार खेलाडी नभए पनि युरोको फाइनलको यात्रा तय गरिसकेको छ । यसैले यसपालि इंग्ल्यान्डले उपाधि जितेर इतिहास रच्नेछ भन्ने मलाई लागेको छ । हुन त इटाली पनि शसक्त टिम हो । फाइनलसम्म पुगेको हिसाबले इटाली यसपटक राम्रै टिम हो ।

प्रतिक्रिया दिनुहोस्