एउटै पोस्टबाट १.१६ मिलियन कमाउँछन् रोनाल्डो



न्युयोर्क, (एजेन्सी) ।

हालै सर्वेक्षण गरेअनुसार इन्स्टाग्राममा एक पोस्ट गरेवापत कमाइ गर्ने सेलिब्रेटीको सूचीमा क्रिस्टियानो रोनाल्डो सबैभन्दा अघि रहेका छन् । पोर्चुगलका स्टार फुटबलर रोनाल्डोले इन्स्टाग्राममा प्रति पोस्ट गर्दा १.१६ मिलियन डलर कमाउँछन् । यो भनेको नेपाली रुपियाँ १३ करोडभन्दा बढी हुन आउँछ ।

दोस्रो स्थानमा रेस्लर (डब्ल्यूडब्ल्यूएफ) ड्वेन जोन्सन रहेका छन् । वास्तविक नामले भन्दा पनि रेस्लिङ नामले उनी लोकप्रिय छन् । द रक उपनामले विश्वभरि चर्चित जोन्सनले इन्स्टाग्राममा प्रति पोस्ट गरे वापत १.१ मिलियन डलर आम्दानी गर्छन् । यो १३ करोड नेपाली रकम बराबरको हो ।

यस्तै तेस्रोदेखि पाँचौंसम्म गैरखेलाडी क्रमशः एरियाना ग्रान्डे, काइली जेनर र सेलेना गोमेज छन् । उनीहरूले एक इन्स्टाग्राम पोस्टबाट समान १.०८ मिलियन डलर कमाउने गर्छन् । छैटौं स्थानमा रहेकी सेलिब्रेटी किम कार्डासियानले प्रति पोस्टबाट १.०२ मिलियन डलर कमाउँछिन् ।

तर, विश्वका चर्चित खेलाडी लियोनल मेसी यो मामिलामा सातौं स्थानमा छन् । अर्जेन्टिनी फुटबलर मेसीले प्रति इन्स्टाग्राम पोस्टबाट ८ लाख ४० हजार डलर कमाउने गर्छन् । यस्तै आठौं स्थानमा बियोन्स नोल्स, नवौँ स्थानमा जस्टिन बीबर र दशौँ स्थानमा केन्डल जेनर रहेका छन् । बियोन्सले आठ लाख ३० हजार, जस्टिनले आठ लाख १० हजार र जेनरले सात लाख ६० हजार डलर कमाएको एक सर्वेक्षणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्