विम्बल्डनमा फेडरर पराजित



लन्डन, (एजेन्सी)

विम्बल्डनमा आठपटक उपाधि जितिसकेका रोजर फेडरर जारी विम्बल्डन टेनिस प्रतियोगितामा पराजित भएका छन् ।

आफ्नो प्रिय कोर्टमा धेरै समयपछि खेल्न आएका फेडरर क्वार्टरफाइनलमा हारेका हुन् । स्वीस खेलाडीलाई पोल्यान्डका हुबर्ट हुरकाजले सीधा सेटमा हराए । पहिलो र दोस्रो सेट ६–३, ७–६ ले गुमाएका फेडरर तेस्रो सेटमा ह्वाइस वास ६–० ले ह्वाइटवास हुन पुगेका थिए । उनले यो घाँसे कोर्टमा १९ वर्षपछि ६–० ले सेट गुमाएको हो । यो नतिजासँगै विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिच र फेडररबीच खेल हेर्न लालायित भएका दर्शकलाई निराशा हात परेको छ ।

फेडररले यो हारपछि अर्को वर्ष विम्बल्डनमा खेल्नेमा कुनै निर्णय लिन नसकेको बताएका छन् । ३९ वर्षीय खेलाडीले बताए–‘वास्तवमा म फेरि खेल्न चाहन्छु तर, मेरो उमेरले गर्दा भन्न सकिँदैन । मेरो टिमसँग कुरा गर्नेछु र त्यहाँबाट के हुनछ हेरौं । मैले मेरो खेललाई अझै निखार्नुपर्ने आवश्यक भएको छ । म हारेर मात्रै निराश भएँ तर समग्रमा रमाइलो नै महशुस भएको छ ।

सर्बियाका खेलाडी जोकोभिच भने सेमिफाइनलमा पुगेका छन् । उनले क्वार्टरफाइनल खेलमा हंगेरीका मार्टन फुक्सोभिक्सलाई ६–३, ६–४, ६–४ ले हराएका थिए । फेडररको हार र राफाल नाडालले नखेलेपछि जोकोभिचका लागि सर्वाधिक ग्रान्डस्लाम जित्ने कीर्तिमान बराबरी गर्न मौका मिलेको छ । मेन्स सिंगल्सतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने कीर्तिमान फेडरर र नाडालको नाममा छ । उनीहरूले समान २० ग्रान्डस्लाम उपाधि जितेका छन् । जोकोभिच भने १९ ग्रान्डस्लाम उपाधि विजेता हुन् ।

प्रतिक्रिया दिनुहोस्