७० लाखको ब्याडमिन्टन कोर्ट बन्दै



बाँके, (नेस) । 

नेपालगञ्जको धम्बोझीमा ७० लाखको लागतमा ब्याडमिन्टन कोर्ट बन्ने भएको छ । संघीय कार्यान्वयन इकाइ बाँकेको कार्यक्रमअन्तर्गत सघन शहरी विकास कार्यक्रमको सहयोगमा नेपालगञ्जको वडा नम्बर १, धम्बोझीमा ब्याडमिन्टन कोर्ट बन्न थालेको हो ।

पाँच महिना तयार गर्नेगरी काम थालिएको ब्याडमन्टिन कोर्टको बुधबार वडाध्यक्ष प्रमोद रिजालले विधिपूर्वक शुभारम्भ गर्नुभयो । उहाँले धम्बोझीमा सबै प्रकारका खेलका संरचना बनाउने रणनीति बनाइएकोमा त्यो क्रमशः पूरा हुँदै गएको बताउनुभयो । धम्बोझीमा सवा करोड बढी लागतमा स्पोर्टस एकेडेमी निर्माण गरिएको छ । त्यहाँ ग्रासरूट फुटबल प्रशिक्षण सञ्चालन गर्ने तयारी रहेको छ । त्यहीभित्र सफ्ट टेनिस, लन टेनिस, बास्केट बल, क्रिकेट पिच बनाइएको छ ।

धम्बोझीमा खुल्ला जिम बनाइएको छ । वाटरपार्कको छेउमा रहेको सार्वजनिक जग्गामा ब्याडमिन्टन कोर्ट बन्दैछ । यी सबै संरचनाहरू पूरा हुँदा धम्बोझी जिल्लामै खेलकुदको हब हुने विश्वास गरिएको छ । धम्बोझीमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडीको बसोबास रहेको छ । हालै नेपालगञ्जमा सञ्चालन भएको प्रदेश च्याम्पियनहरूको लिग फुटबलमा धम्बोझी क्लव दोस्रो हुँदै ‘ए’ डिभिजन प्रतियोगिताका लागि छनोट भएको छ । धम्बोझी स्पोर्टस क्लवका पूर्वअध्यक्षसमेत रहेका वडाध्यक्ष रिजालले वडामा खेलकुद संरचना बनाउन सक्दो सहयोग गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्