इटाली र इंग्ल्यान्डबीच उपाधि भिडन्त



लन्डन, (एजेन्सी) ।

इतिहासमै पहिलोपटक युरो कप फुटबलको फाइनल प्रवेश गरेको इंग्ल्यान्डले अब उपाधिका लागि इटालीसँग खेल्नेछ ।

दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । एकपटकको विजेता इटली नौ वर्षपछि फाइनल पुगेको हो भने इंग्ल्यान्ड पहिलोपटक पुगेको हो । सन् १९६६ मा घरेलु मैदानमै विश्वकप जितेको इंग्ल्यान्ड त्यसयता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको हो । ११ देशका शहरमा एकसाथ आयोजना भएको युरोकपमा यसपटक दुवै आयोजक फाइनल पुगेका छन् ।

प्रतियोगिताअन्तर्गत बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै पहिलोपटक युरो कपको फाइनल यात्रा गरेर इतिहास रचेको हो । साथै, इंग्ल्यान्ड ५५ वर्षपछि पहिलोपटक कुनै पनि ठूलो प्रतियोगिताको फाइनल पुगेको छ । यसअघि सन् १९६६ मा आफ्नै घरेलु भूमिमा विश्वकपको उपाधि जितेयता यो टिम कुनै पनि मुख्य प्रतियोगिताको फाइनल प्रवेश गरेको थिएन ।

सन् १९९२ को युरो च्याम्पियन डेनमार्क र पहिलोपटक उपाधि जित्ने होडमा रहेको इंग्ल्यान्डबीच लन्डन सहरस्थित वेम्बली रंगशालामा भएको भिडन्तमा घरेलु टोलीले अतिरिक्त समयमा २–१ को जित निकाल्दै फाइनल प्रवेश गर्न सफल भयो । यो जितसँगै इंग्ल्यान्डले उपाधि भिडन्तमा इटालीसँगको भेट पनि पक्का गरेको छ । इटालीले पनि मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएर फाइनल पुगेको थियो ।

आफ्नो भूमिमा भएको खेलमा इंग्ल्यान्डले खेलमा पछि परेको स्थिति उल्टाएर पुनरागमन जित निकाल्दा कप्तान ह्यारी केनले अत्तिरिक्त समयमा निर्णायक गोल गरे । खेलमा पहिले पाहुना टोली डेनमार्कले शानदार गोलमार्फत् अग्रता बनाएको थियो । खेलको ३०औं मिनेटमा डेनमार्कका युवा खेलाडी मिकेल ड्याम्सगार्डले फ्रि किकमार्फत् दर्शनीय गोल गरेर अग्रता दिलाएका थिए । उनले हानेक फ्रि किक प्रहार इंग्लिस गोलकिपरले रोक्न प्रयास गरे पनि सकेनन् ।

त्यसपछि, खेलको पहिलो हाफमै इंग्ल्यान्ड खेलमा फर्कियो । डीबक्स भित्रबाट इंग्यान्डका रहिम स्टर्लिङले प्रहार गरेको बल डेनमार्कका कप्तान सिमोन केयरले छेक्नेक्रममा आफ्नै गोलपोस्टमा छिराएपछि पहिलो हाफको खेल १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि दोस्रो हाफको निर्धारित समयसम्म दुवैतर्फबाट थप गोल हुन नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयसम्म लम्बियो ।

थप समयमा दुवै टोली विजयी गोलका खोजीमा रहेका बेला एक सय चार मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पायो । सो पेनाल्टी कप्तान ह्यारी केनले प्रहार गरे पनि डेनिस किपर क्यास्पर स्माइकल्सले छेकेका थिए । तर, रिबाउन्डमा केनले नै प्रहार गर्दै गोल गरेपछि इंग्ल्यान्डले खेलमा २–१ को अग्रता बनायो । त्यसपछि डेनमार्क खेलमा फर्किन नसकेपछि खेल इंग्ल्यान्डले जित्यो ।

अब फाइनल खेल आगामी आइतबार इंग्ल्यान्डकै घरेलु मैदान वेम्बलीमा हुनेछ । इंग्ल्यान्डले क्वार्टरफाइल बाहेकका सबै खेल घरेलु मैदान वेम्बलीमा खेलेको थियो । यता, समूह ए मा रहेको इटलीले समूह चरणको सबै खेल घरेलु मैदानमा खेलेको थियो । समूह चरणको तीनवटै खेल जितेको इटलीले कुनै गोल बेहोरेको थिएन । इंग्ल्यान्डले क्वार्टरफाइनलसम्म एक गोल पनि खाएको थिएन भने सेमिफाइनलमा एक गोल बेहोर्‍यो ।

इटालीले यसअघि सन् १९६८ मा घरेलु मैदानमै युरोकपको उपाधि जितेको थियो । त्यसयता सन् २००० र २०१२ को फाइनलमा पुगेको इटाली पराजित भएको थियो । फाइनलसम्म पुग्दा अपराजित रहेका दुवै टोली त्यसलाई कायम राख्दै उपाधि जित्ने दाउमा छन् । इंग्ल्यान्ड पहिलोपटक फाइनल पुगेपछि अहिले ‘फुटबल कमिङ होम’ भनेर इंग्लिस मिडिया र फ्यानमार्फत ठूलो चर्चा भइरहेको छ । केहीले भने ‘फुटबल गोइङ टु रोम’ समेत भनिरहेका छन् । इटालीले फाइनल पुग्दा १२ गोल गरेको छ भने तीन गोल बेहोरेको छ । उता इंग्ल्यान्डले भने अहिलेसम्म १० गोल गर्दा एक गोल मात्र बेहोरेको छ । इंग्ल्यान्डका कप्तान ह्यारी केनले चार गोल गरेका छन् भने रहिम स्टर्लिङले तीन गोल आफ्नो नाममा लेखाएका छन् । इटालीका पाँच खेलाडीले दुई–दुई गोल गरेका छन् ।
इटाली र इंग्ल्यान्डको फाइनल यात्रा

समूह ‘ए’ मा रहेको इटलीले प्रतियोगिताको उद्घाटन खेलमा टर्कीलाई ३–० ले हराएर सुखद् यात्रा थालेको थियो । त्यसपछि समूहको दोस्रो खेलमा स्वीट्जरल्यान्डलाई ३–० ले हराएको इटालीले वेल्सविरुद्ध १–० को जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका थिए । जहाँ अष्ट्रियाविरुद्ध २–१ को जित आत्मसात् गर्दै क्वार्टरफाइनलमा बलियो बेल्जियमको चुनौती पाएको थियो । तर, विश्व वरीयताको शीर्ष टोली बेल्जियमलाई पनि २–१ ले हराउँदै इटालीले सेमिफाइनलमा स्थान सुरक्षित गरेपछि इटालीको सामना बलियो स्पेनसँग भएको थियो । तुलनात्मकरूपमा कठिन प्रतिद्वन्द्वी स्पेनलाई पनि पेनाल्टी सुटआउटमा ४–२ ले हराएपछि फाइनलमा इटालीको भेट इंग्ल्यान्डसँग भएको छ ।

अर्कोतिर इंग्ल्यान्डले पनि समूहचरणको पहिलो खेलमा क्रोएसियालाई १–० ले हराएर युरो कप यात्रा शुरू गरेको थियो । समूहको दोस्रो खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिए पनि इंग्ल्यान्डले समूहको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० ले हराउँदै अन्तिम १६ को यात्रा तय गरेको थियो । जहाँ बलियो जर्मनीलाई २–० ले हराउँदै क्वार्टरफाइनल पुगेको इंग्ल्यान्डले युक्रेनलाई पनि ४–० ले हराउँदै सेमिफाइनल यात्रा सम्भव पारेका थिए । सेमिफाइनलमा डेनमार्कको चुनौती पाएको इंग्ल्यान्डले अतिरिक्त समयमा २–१ को जित निकालेपछि इतिहासमै पहिलो पटक युरो कपको फाइनल यात्रा तय गर्‍यो । जहाँ अब उपाधि जित्नका लागि भने इटालीको चुनौतीलाई पन्छाउनु पर्नेछ ।
रोनाल्डो अघि

सर्वाधिक गोल गर्ने सूचीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो अघि रहेका छन् । उनले ५ गोल र १ असिस्ट गरेका छन् । त्यस्तै, चेक रिपब्लिकका प्याट्रिक सिकले पनि ५ गोल गरेका छन् । फ्रान्सका करिम बेन्जेमा ४ गोलसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्