केर्बर चौथोपटक विम्बल्डन सेमिफाइनलमा



लन्डन, (एजेन्सी)  । 

जारी विम्बल्डन टेनिस प्रतियोगिताअन्तर्गत वोमेन्स सिंगल्सतर्फ जर्मनीकी एन्जेलिक केर्बर सेमिफाइनलमा पुगेकी छन् ।

केर्बरले चौथोपटक विम्बल्डनको सेमिफाइनलमा पुग्ने क्रममा चेक रिपब्लिककी केरोलिना मुचोभालाई ६–२, ६–३ ले पन्छाएकी हुन् । २०१८ को विम्बल्डन विजेता केर्बरले विश्व नम्बर एक खेलाडी एस्लिग बार्टीसँग खेल्नेछिन् । अस्टे«लियाकी बार्टीले आफ्नै राष्ट्रकी अज्ला टोमलानोभिचलाई ६–१, ६–३ ले हराएकी हुन् । बार्टी पहिलोपटक विम्बल्डन सेमिफाइनलमा पुगेकी हुन् ।

यस्तै चेक रिपब्लिककी केरोलिना पिलीस्कोभा, बेलारूसकी अरीना सबालेन्का पनि अन्तिम चारमा पुगे । पिलीस्कोभाले स्विट्जरल्यान्डकी भिक्टोरिया गोलुबिचलाई ६–२, ६–२ ले हराएकी थिइन् । उनको सामना सबालेन्कासँग हुनेछ । सबालेन्काले ट्युनिसियाकी ओन्स जाबियरको चुनौती ६–४, ६–३ ले समाप्त गरेकी थिइन् ।

हरेक वर्ष तेस्रो ग्रान्डस्लामको रुपमा हुने विम्बल्डनको मेन्स सिंगल्सअन्तर्गत अन्तिम १६ मा भने स्तब्ध नतिजा निस्केको छ । १४ औं वरीयता प्राप्त पोल्यान्डका हुबर्ट हुरकाजले दोस्रो वरीयताका खेलाडी डेनिल मेदभेदेभलाई हराएर स्तब्ध नतिजा नकालेका हुन् । लन्डनस्थित सेन्टर कोर्टमा भएको उक्त प्रतिस्पर्धामा हुरकाजले रूसका मेदभेदेभलाई २–६, ७–६, ३–६, ६–३, ६–३ ले हराएका थिए । मेदभेदेभले यस वर्ष अस्टे«लिया ओपनको फाइनल खेले भने फ्रेन्च ओपनमा क्वार्टरफाइनलको यात्रा तय गरेका थिए ।

हुरकाजले क्वार्टरफाइनल खेलमा विम्बल्डनमा आठपटक उपाधि जितेका रोजर फेडररसँग सामना गर्नेछन् । स्विटरजरल्यान्डका फेडरर विम्बल्डनको क्वार्टरफाइनल पुग्ने सबैभन्दा पाको खेलाडीसमेत बनेका छन् । हुरकाजले प्रि–क्वार्टरफाइनल पुग्नुअघिसम्म जारी प्रतियोगितामा एक पनि सेट गुमाएका थिएनन् । तर, ओपनिङ सेटमा मेदभेदेभले उनको सर्भिस दुई पटक तोडेका थिए । पहिलो तीन सेटसम्म मेदभेदेभ २–१ सेटले अघि थिए ।

सोमबार उक्त स्कोर हुँदासम्म मेदभेदेभले अन्तिम आठमा एक पाइला टेकिसकेका थिए । तर, सोही समयमा वर्षा भएपछि त्यसदिनको खेल रोक्नु परेको थियो र खेललाई सेन्टर कोर्टमा शिफ्ट गरिएको थियो । मंगलबार खेल शुरू भएपछि बाँकी दुई सेटमा हुरकाजले आफ्नो नाम गरेर मेदभेदेभलाई प्रतियोगिताबाट बाहिर जान बाध्य तुल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्