फाइनलमा अर्जेन्टिनाको प्रतिद्वन्द्वी ब्राजिल



रियो दि जेनेरियो, (एजेन्सी)  । 

४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिनाले ब्राजिलको सामना गर्ने भएको छ ।

प्रमुख उपाधि दाबेदारमध्येको एक अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेसँगै उपाधि लागि घरेलु टोलीको चुनौती पाएको हो । प्रतियोगिताअन्तर्गत बुधबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा बलियो टोली कोलम्बियामाथि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरमा जित निकाल्दै फाइनल प्रवेश गर्न सफल भएको हो । यससँगै १४औं पटकको कोपा च्याम्पियन अर्जेन्टिना १५औं उपाधि जित्नबाट एक खेल मात्रै टाढा रहेको छ ।

ब्राजिलको स्थानीय इस्टाडियो नाचिओनल डे ब्राजिल रंगशालामा भएको सो खेलको निर्धारित ९० मिनेटको समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेल सोझै पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जारी कोपामा निर्धारित ९० मिनेटसम्म पनि हार–जित नभए अतिरिक्त समय नखेलाई सोझै पेनाल्टी सुटआउटमार्फत् निर्णय हुँदै आएको छ । जसअनुसार बुधबारको खेलमा निर्धारित ९० मिनेट र ५ मिनेटको इन्जुरी समयमा पनि दुवै टोलीले विजयी गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जहाँ कोलम्बियामाथि जित निकाल्दै अर्जेन्टिना अघि बढेको हो ।

प्रतिस्पर्धात्मक खेलमा पछि परेको अवस्थामा पुनरागमन गरेर कोलम्बियाले अर्जेन्टिनाविरुद्ध शानदार प्रदर्शन गर्दै खेललाई पेनाल्टी सुटआउटसम्म लम्ब्याएको थियो । तर, अर्जेन्टिनी गोलकिपरले पेनाल्टी सुटआउटमा तीनवटा पेनाल्टी बचाएपछि फाइनल पुग्न सफल भयो । अर्जेन्टिनाको फाइनल यात्रामा गोलकिपर इमिलियानो मार्टिनेज नायक बने । उनले पाँचमध्ये तीनवटा पेनाल्टी बचाएर टिमका लागि फाइनल यात्रा पक्का गरे ।

अर्जेन्टिनाले कोलम्बियाविरुद्ध उत्कृष्ट शुरूवात गर्दै खेलको सातौं मिनेटभित्रै अग्रता बनाएको थियो । युवा फरवाड लौटारो मार्टिनेजले वान टचमै बललाई जाली चुमाएर टिमलाई अग्रता दिलाएका थिए । जारी कोपामा उनको यो तेस्रो गोल हो । उनको गोलमा कप्तान लिओनल मेसीले निकै राम्रो असिस्ट गरेका थिए । जारी कोपामा मेसीको यो पाँचौं असिस्ट हो । सातौं मिनेटमै गोल गरेको अर्जेन्टिनाले त्यसपछि भने लगातार संघर्ष गर्नुपरेको थियो ।

दोस्रो हाफमा कोलम्बियाको आक्रमणलाई रोक्न अर्जेन्टिनालाई हम्मेहम्मे परेको थियो । दोस्रो हाफको शुरूआतबाटै कोलम्बियाले आक्रामक खैल खेल्दै अर्जेन्टिनामाथि लगातार दवाब सिर्जना गरेको थियो । सोहीक्रममा खेलको ६१औं मिनेटमा लुइस डियाजले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । बराबरी गोल गरेपछि कोलम्बिया अर्जेन्टिनामाथि झनै हाबी भयो । कोलम्बियाले गोलपोस्टमा लगातार मुभ बनाउँदा अर्जेन्टिनी डिफेन्सलाई बल छेक्न भ्याइनभ्याइ भएको थियो ।

अन्ततः ९० मिनेट र पाँच मनेटको इन्जुरी समयमा पनि हार–जितको निर्णय नभएपछि खेल पेनाल्टीमा गयो । पहिलो पेनाल्टी हानेका कोलम्बियाका जुआन काउडराडोले गोल गर्न सफल भए । त्यसपछि अर्जेन्टिनाका लिओनल मेसीले गोल गरेर खेल १–१ बनाए । त्यसपछि लगातार दुई पेनाल्टी प्रहार गोल हुन सकेन । कोलम्बियाका ड्याभिन्सन सान्चेजको पेनाल्टी अर्जेन्टिनी गोलकिपरले बचाए भने लगत्तै अर्जेन्टिनाका रोड्रिगो डे पाउलको पेनाल्टी भने गोलपोस्टभन्दा निकै माथिबाट आकासियो ।

त्यसपछि, तेस्रो पेनाल्टीमा कोलम्बियाका येरी मिना चुके । उनको पेनाल्टी गोलकिपरले बचाएर अर्जेन्टिनाको सम्भावना बढाए । त्यसपछि अर्जेन्टिनाका लागि चौथो पेनाल्टी लियान्द्रो पाराडेशले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । त्यसपछि कोलम्बियाको चौथो पेनाल्टीमा मिगुएला बोर्जाले गोल गरे भने लगत्तै अर्जेन्टिनाका लौटारो मार्टिनेजले पनि गोल गरेर ३–२ बनाए । त्यसपछि कोलम्बियाका इडविन कार्डोनाको पाँचौं पेनाल्टी प्रहार अर्जेन्टिनाका गोलकिपरले बचाएपछि अर्जेन्टिनाले पाँचौं पेनाल्टी प्रहार नै नगरी खेल ३–२ ले जित्यो ।

अर्जेन्टिना फाइनल पुगेसँगै उपाधि भिडन्तमा ब्राजिलसँगको भेट पक्का गरेको छ । सेमिफाइनलमा ब्राजिलसँग पराजित पेरू र अर्जेन्टिनासँग पराजित कोलम्बियाले अब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् भने फाइनलमा ब्राजिल र अर्जेन्टिनाको रोमाञ्चक खेल हुनेछ । ब्राजिल र अर्जेन्टिना १४ वर्षपछि कोपा अमेरिकाको फाइनलमा आमने सामने हुने भएका छन् । अर्जेन्टिनाले १४ पटक कोपाको उपाधि जितिसकेको छ र यसपटक च्याम्पियन बने सर्वाधिक १५ पटक जित्ने उरुग्वेको कीर्तिमानसँग बराबरी गर्नेछ । यता सर्वाधिक पाँचपटक फिफा विश्वकप जितेको ब्राजिलले भने नौपटक मात्र कोपा जितेको छ । ब्राजिल सर्वाधिक कोपा अमेरिकाको उपाधि जित्नेमा तेस्रो स्थानमा छ ।

अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लोपटक कोपा जितेको थियो । त्यसयता कुनै पनि ठूलो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । २००४ यता अर्जेन्टिनाले चारपटक कोपाको फाइनल र एकपटक विश्वकपको फाइनल खेलिसकेको छ । ब्राजिलले भने सन् २००४ यता तीनपटक उपाधि जितेको छ । ब्राजिल २००४ र २००७ को फाइनलमा अर्जेन्टिनालाई हराएर उपाधि जितेको थियो । त्यस्तै, २०१९ मा भने पेरूलाई घरेलु भूमिमा ३–१ ले हराएर उपाधि जितेको थियो । अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो । मेसीलाई फाइनलमा हार्नुको पीडा राम्रोसँग थाहा छ । सन् २००७, २०१५ र २०१६ मा फाइनल हार्दा मेसी अर्जेन्टिनी टिमको सदस्य थिए । पछिल्लो दुई फाइनलमा मेसी नै कप्तान थिए । अर्कोतिर ब्राजिलियन स्टार नेयमारले भने २०१९ को कोपा चोटका कारण गुमाएका थिए ।

कोपाको फाइनल इतिहास हेर्दा भने अर्जेन्टिना हाबी देखिन्छ । ब्राजिल र अर्जेन्टिना कोपाको फाइनलमा अहिलेसम्म १० पटक भिड्दा आठपटक अर्जेन्टिनाले जितेको छ । ब्राजिलले अर्जेन्टिनाविरुद्ध दुई फाइनल मात्र जितेको छ । अहिलेसम्म २८ पटक फाइनल खेल्दा अर्जेन्टिना १४ पटक च्याम्पियन र १४ पटक नै उपविजेता बनेको छ । त्यस्तै, २० पटक फाइनल पुगेको ब्राजिलले नौपटक उपाधि जित्दा ११ पटक उपविजेता बनेको छ । जसमा आठपटक अर्जेन्टिनासँग नै पराजित भएको थियो भने  दुईपटक उरुग्वे र एकपटक पाराग्वेसँग पराजय बेहो¥यो । ब्राजिलले अहिलेसम्म घरेलु मैदानमा खेलेको सबै कोपाको उपाधि जितेको छ । सन् १९१९, १९२५, १९२९, १९३७ र २०१९ मा आयोजक हुँदा ब्राजिलले उपाधि जितेको थियो ।

२०१९ को कोपाको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिना १९ खेलसम्म अपराजित छ । ब्राजिललाई अन्तिमपटक हराउने टिम पनि अर्जेन्टिना नै हो । २०१९ को नोभेम्बरमा अर्जेन्टिनासँग हारेयता ब्राजिल १३ खेलसम्म अपराजित छ । नेपाली समयनुसार फाइनल खेल आगामी जुलाई ११ आइतबार बिहान पाँच बजेर ४५ मिनेटमा शुरू हुनेछ । त्यसको एक दिनअघि भने तेस्रो स्थानका लागि खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्