स्पोर्टस् नेपाल ओआरजीको उद्घाटन

470
Shares

काठमाडौं, (नेस) ।

नेपाली खेलकुद इतिहासका विविध पक्ष समेटिएको स्पोर्टस् नेपाल ओआरजी वेब साइटको शुरूवात भएको छ ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले सो वेबसाइटको मंगलबार उद्घाटन गर्नुभएको हो । कमिटिको विशेष सहयोगमा ओलम्पिक सोलिडारिटी अन्तर्गत नेपाल ओलम्पिक संग्रहालयले यो वेबसाइट सञ्चालनमा ल्याएको हो । नेपाली खेलकुदको डिजिटल अभिलेखीकृत प्रोजेक्ट (२०२०–२०२१) को पहिलो चरणमा नेपाली खेलकुदको इतिहाससँग जोडिएका सामग्रीको संकलन र अभिलेखिकरण शुरू भएको छ । यसका लागि सोलिडारिटी कार्यक्रमबाट १५ हजार डलर प्राप्त भएको थियो र यसको औपचारिक शुरूआत पछिल्लो मंसिर १ बाट शुरू भएको हो ।

कमिटीका अध्यक्ष श्रेष्ठले अनलाइन संस्करणले नेपाली खेलकुदको पुरानो र नयाँ पुस्तालाई जोड्ने काम गर्ने बताउनुहुँदै नेपाली खेलकुद इतिहास निकै पुरानो भएपनि यसलाई अभिलेखीकरण गर्नुपर्ने काम धेरै भएको बताउनुभयो । उहाँले नेपाली खेलकुदको इतिहासको संरक्षणमा नेपाल ओलम्पिक कमिटीको सहयोग सधैं रहने पनि बताउनुभयो । कार्यक्रममा नेपाल ओलम्पिक म्युजियमका अध्यक्ष क्षितिज अरूण श्रेष्ठले वेबसाइटको विविधपक्षबारे बताउनुभएको थियो ।