पाँच सय परिवारलाई खाद्यान्न वितरण



काठमाडौं, (नेस) ।  

काठमाडौंमा जारी निषेधाज्ञाका बीच पनि राहत वितरण कार्य रोकिएको छैन । हालै हजुरलाई नमस्ते परोपकारी संस्थाले पाँच सय परिवारलाई विभिन्न चरणमा गरी राहत वितरण गरेको छ । प्रत्येक परिवारलाई एक बोरा चामल, दुई किलो दाल, एक पाकेट तेल र एक पाकेट नुन वितरण गरिएको छ ।

मजदुर, रिक्सा चालक, ठेलामा व्यापार गर्नेहरू, शारीरिक तथा बौद्धिक रूपमै अशक्त, फरक क्षमता भएकाहरूलाई सो अभियानका अभियान्ता ताराबहादुर कुँवरले आफ्नै पहलमा राहत वितरण गर्नुभएको हो । कुँवर चक्रपथ सरसफाइ अभियानको संयोजक पनि हुनुहुन्छ ।
रोग र भोकबाट कोही पनि नमरून् भनी उहाँले बेलाबेलामा स्वास्थ्य शिविर पनि चलाउँदै आएको बताउनुभयो । सधैं दालचामल मात्रै कति बाँड्नु भनेर उहाँले काभ्रेको भुम्लु गाउँपालिका सिम्थलीमा सौन्दर्य प्रशोधनका सामग्री पनि वितरण गर्नुभएको छ । पाँच सय ५५ घरपरिवार पुग्ने गरी शनिबार एक कार्यक्रम गरी स्वास्थ्य चौकी इन्चार्ज र वडा अध्यक्ष कृष्णकुमार कार्कीको रोहवरमा स्वयम्सेविकालाई ती सामग्री हस्तान्तर गर्नुभयो ।

एक लाख ७५ हजार रुपियाँ बराबरका ती सामग्री हस्तान्तरण गरिएको कुँवरको भनाइ छ । सिम्थली आफ्नो जन्मभूमि पनि भएकाले त्यहाँ ती सामग्री वितरण गरिएको कुँवरले जानकारी दिनुभयो । वितरित सामग्रीमा प्रत्येक परिवारलाई साबुन दुई वटा, तेल, पाउडर तथा क्रिम रहेका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गत आफूले कार्य गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्