उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ



न्युज अफ नेपाल, काठमाडौं ।

उपत्यकामा कोभिड–१९ संक्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप कडाई गरिने भएको छ ।मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीका अनुसार थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन । बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल भने खोल्न पाइनेछ ।पराजुलीका अनुसार सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ । अब ती क्षेत्रका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने छन् ।

निर्माणका कार्यलाई पनि प्रशासनले एक साताका लागि रोक लगाउने निर्णय गरेको छ । विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ । साथै, हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज भएको छ ।निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेशअनुसार उल्लंघन गरे १ वर्ष कैद हुन सक्ने र आदेश नमान्नेलाई एक लाख रुपैयाँ र संस्था पाँच लाखसम्म जरिवाना हुन सक्ने छ ।

दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै सरकारले कोरोनाभाइरसको संक्रमण रोक्न वैशाख १६ गतेदेखि दुई साताका लागि भनेर निषेधाज्ञा गरेको थियो । पछि उक्त निषेधाज्ञा दुई साताका लागि थपिएको थियो ।

प्रतिक्रिया दिनुहोस्