कोरोनाबाट ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य श्रेष्ठको मृत्यु



नवलपुर । कोरोना सङ्क्रमणका कारण नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठको निधन भएको छ । कोरोना सङ्क्रमणबाट स्वास्थ्यमा गम्भीर समस्य आएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको थियो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का श्रेष्ठको कोरोनाका कारण मङ्गलबार राति अस्पतालमा मृत्यु भएको उनका दाजु संविधानसभा सदस्य जीवन श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वासमा समस्या देखिएपछि भरतपुरको चितवन मेडिकल कलेजमा भेन्टिलेटरको सहायतामा उपचारकै क्रममा उनको मृत्यु भएको दाजु श्रेष्ठले बताए ।

श्रेष्ठ ब्याडमिन्टन संघ नवलपरासीका पूर्व अध्यक्ष एवं निर्माण व्यवसायीसमेत थिए । कोरोना सङ्क्रमणका कारण हालसम्म नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ५८ जनाको मृत्यु भइसकेको छ । हाल जिल्लामा एक हजार ९७ जना सक्रिय कोरोना सङ्क्रमित रहेका स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिए। चापागाईकाअनुसार पछिल्लो २४ घण्टामा १०७ जना कोरोना सङ्क्रमित थपिदा ९७ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्