चेतनाको फल



कोरोना संक्रमणको दर उच्च बिन्दुमा पुगेसंँगै नागरिकमा चेतनाको दर पनि वृद्धि हुन थालेको छ । हिजोसम्म कोरोना संक्रमण केही होइन भन्ने मानसिकतामा परिर्वतन आएको अनुभूति हुन थालेको छ । सरकारले लागू गरेको निषेधाज्ञालाई समेत बेवास्ता गर्दै हिँड्ने नेपालीहरु अहिले छिमेकमा नै कोरोना संक्रमणले ज्यान लिएको, अर्का छिमेकी भेन्टिलेटर नपाएर छटपटिएको समाचार सार्वजनिक भएपछि कामबिना घरबाहिर हिँड्न छोडेका छन् । कम्तीमा लापरबाह बनेर पहिला जसरी शहर–बजारमा नागरिकको संख्या देखिन्थ्यो, त्यो अहिले छैन वा त्यस प्रकारको परिमाणमा कमी आएको छ । यसैले पनि हुन सक्छ, केही दिनयता कोरोना संक्रमणको दरमा समेत केही कमी आएको आभास हुन थालेको छ ।

कोरोना संक्रमणको दरमा केही कमी आएको भए पनि मृत्युदर भने अझै उच्च रहेको छ । त्यसैले तत्कालै प्रसन्न हुन र मुक्तिको सपना देख्न मिल्दैन । सबैतिरको अवस्था नियाल्दा कोरोना संक्रमणबाट मुलुकले तत्कालै मुक्ति पाउने सम्भावना भने देखिँदैन । बितेको हप्तामा जसरी कोरोना संक्रमणले मुलुकलाई तवाह बनाएको थियो अहिले भने त्यसमा केही कमी आएको पक्कै हो । राजधानीलगायत देशका प्रमुख शहरमा अस्पतालमा भर्ना नपाएर बिरामी बाटोमा नै मर्नुपर्ने अवस्थाबाट भने केही राहत मिलेको अनुभव सर्वसाधारणले गर्न थालेका छन् । सरकारको पर्याप्त तयारी नहुँदा अक्सिजन नपाएर झण्डै ३ दर्जन नेपालीले अकालमा ज्यान गुमाउनुपरेको थियो । सरकारले पूर्वतयारीमा ध्यान नदिएकै कारण जनताले अकालमा मृत्युवरण गर्नुपरेको समाचार सार्वजनिक भएपछि सरकार अक्सिजन सिलिन्डरको जोहोमा जुट्न थाल्नुले राज्यको तयारी कमजोर रहेका बारेमा जनताले बुझ्ने मौका पाए । तयारीबिना बस्ने सरकार र कोरोना संक्रमण केही होइन भन्ने नेपाली जनतालाई भने पछिल्लो कोरोना संक्रमणले राम्रो पाठ सिकाएको छ । कोरोना संक्रमणविरुद्धको लडाइँमा एक ठाउँंमा हुनुपर्ने प्रमुख राजनीतिक दल सत्ताको तानातानमा लागेकै कारण समस्या जटिल बनेको हो । दलहरुको गाईजात्रे तालले जनतालाई राहत होइन आहत मात्रै थपिदिएको आभास सबैले गरे । अहिले विदेशमा पसिना बगाएर काम गरिरहेका मजदुरहरुले नेपालको अवस्था देखेर आफ्नो गाँस कटाएर भए पनि सहयोग गर्ने क्रमलाई निरन्तरता दिन थालेपछि सम्पन्न देशमा बसेर सामाजिक सञ्जालमा नेपाल र नेपालीका बारेमा तथानाम भन्नेहरु भने अहिले तैं चुप मै चुपको अवस्थामा देखिएका छन् । उनीहरुको दरिद्रताको मापन गर्ने मौका पनि नेपाली जनतालाई मिलेको छ ।

बितेको दुई हप्ताअघिको अवस्थासँग तुलना गर्दा आजको परिस्थितिमा सुधार आए पनि अहिले नै हौसिने अवस्था नआएकाले सतर्कता र पूर्वतयारीबाट राज्य विमुख हुन मिल्दैन । विज्ञहरुले यही आशयको सुझाव दिएका छन् । यसलाई नियामक निकायले ध्यान दिनु जरुरी देखिन्छ । संघ, प्रदेश र स्थानीय तहबीचको द्वन्द्वले पनि कोरोना संक्रमितलाई मारमा परेको छ । अहिले कसले यश लिनेभन्दा पनि जनतालाई कसरी बचाउन सकिन्छ भन्नेतर्फ सबै एक भएर लाग्नुको विकल्प छैन । कसले के ग¥यो भन्दा पनि ज्यान जोखिममा परेकालाई कसरी जोगाउने भन्नेतर्फ लाग्नु नै आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्