निष्ठावान् नेता पशुपति चौलागाईंप्रति श्रद्धाञ्जलि



चिरञ्जीवी मास्के

अस्ति २८ गतेको रात । समय १० बाट उकारो लाग्दै थियो । इन्द्रबहादुर राईको सर्वाधिक चर्चित उपन्यास ‘आज रमिता छ’ पढ्दै थिएँ र त्यसका मुख्य पात्र ‘जनक’को राजनीतिक सादगीपनको बारेमा मनमनै बहस पनि गर्दै थिएँ ।त्यति नै बेला नेकपा एमालेका नेता पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएको खबर सामाजिक सञ्जालमा भाइरल भयो । उफ् ! कस्तो अप्रिय संयोग । जनकको राजनीतिक सादगीपनबारे बहस गरिरहँदा नेकपा एमालेका त्यस्तै सादगी नेता प्रिय दाजु पशुपति चौलागाईंको निधनको अप्रत्यासित र अकल्पनीय खबर सुन्नुप-यो । मलाई ‘आज रमिता छ’ उपन्यासको विषयवस्तु र जनकको राजनीतिक उतारचढाव तथा अवसानको कथाले जसरी रनथन्याइरहेको थियो पशुपति दाइको निधनको खबरले त्यसलाई उत्कर्षमा पु-याइदियो ।

‘आज रमिता छ’ का पात्र जनकले राजनीतिमा देखाएको त्याग, समर्पण र सादगीपनले उनलाई व्यक्तिगतरुपमा कहिल्यै सुविधा दिएन । जनकको अवसान दुःखद बन्यो । तर जनकले राष्ट्रिय एकता, भाषा, संस्कृति र संस्कारको संरक्षणजस्ता कुरामा कहिल्यै गलत सम्झौता गरेनन् । हो, त्यस्तै पशुपति दाइले पनि ४० वर्षभन्दा बढी समय राजनीतिमा सक्रिय बनेर त्याग, समर्पण र सादगीपन मात्र देखाउनुभयो । उहाँले राजनीतिलाई व्यक्तिगत लाभको लागि कहिल्यै सम्झौता गर्नुभएन । उहाँको अवसान पनि दुःखद र पीडादायी नै बन्न पुग्यो । त्यसैले २०७८ वैशाख २८ गतेको रात अप्रिय संयोग भयो ‘आज रमिता छ’ का मुख्य पात्र जनक र पशुपति दाइको सादगीपनको ।कानुन व्यवसायी मित्र सुब्बा श्रेष्ठले हिजो २९ गते बिहानै एउटा फोटो पठाएछन्, पशुपति दाइ प्रमुख अतिथि भएको कार्यक्रममा मसमेत सहभागी बनेको फोटो । २०५३ साल जेठ १ गते अनेरास्ववियुले सदरमुकाम चरिकोटको गौरीशङ्कर बहुमुखी क्याम्पसमा आयोजना गरेको कुनै कार्यक्रमको फोटो थियो त्यो । त्यति बेला राजेन्द्र मानन्धर (हाल सञ्चारमन्त्रीका प्रेस विज्ञ) अनेरास्ववियु दोलखाको सचिव थिए र म प्रजातान्त्रिक राष्ट्रिय युवा संघ दोलखाको सचिव ।

राजनीतिकरुपमा म पशुपति दाइसँग २०५० सालदेखि निकट छु । मलाई मेरो घरको नाम ‘मञ्जु’ भनेर बोलाउने थोरैमध्येको हुनुहुन्थ्यो पशुपति दाइ । २०४७ सालअघि म नेकपा माक्र्सवादीमा आबद्ध थिएँ । २०४७ सालमा नेकपा माक्र्सवादी र नेकपा माले एकीकरण भएर नेकपा एमाले बनेको भए पनि म एमाले भइसकेको थिइन । २०५० सालमा नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेल (हाल नेकपा एमाले बागमती प्रदेश अध्यक्ष) ले म र राजेन्द्रलाई एमालेमा सङ्गठित हुने वातावरण बनाउनुभयो । त्यति बेला नेकपा एमाले दोलखाको सचिव पशुपति चौलागाईं हुनुहुन्थ्यो ।२०५० सालमा म र राजेन्द्रले पशुपति दाइको हातबाट, उहाँले हस्ताक्षर गरेको नेकपा एमालेको संगठित सदस्यता प्राप्त ग-यौं । र, म युवा संघको सचिव भएँ, राजेन्द्र अनेरास्ववियुको सचिव भए । त्यसपछि झन्डै २७ वर्ष हामीले पशुपति दाइसँग राजनीतिकरुपमा निकट रहेर काम ग-यौं ।पशुपति दाइ वास्तवमै राजनीतिक चरित्र भएको सादगी नेता हुनुहुन्थ्यो । २७वर्षको राजनीतिक एवं पारिवारिक निकटतामा पनि उहाँले कहिल्यै आदेश र दबाब दिनुभएन । व्यक्तिगतरुपमा कसैलाई नजिक राख्ने या टाढा पठाउने काम गर्नुभएन । कार्यकर्ताको काम र चरित्रको लेखाजोखा गरेर सोही अनुसारको व्यवहार गर्नुहुन्थ्यो पशुपति दाइ । तर कसैलाई पनि चिढ्याउने काम गर्नुभएन ।

कम्युनिस्ट पार्टीको एकता र मुलुकको समृद्धि उहाँको सपना थियो । पछिल्लो राजनीतिक खिचातानीमा उहाँ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निकट हुनुहुन्थ्यो तर उहाँले कहिल्यै पनि नेकपा एमालेको विभाजन चाहनुभएन । रामेछापका कमरेड देवशङ्कर पौडेलले एउटा भिडियो शेयर गर्नुभएको छ, पशुपति दाइले नेकपा एमाले रामेछापको विस्तारित बैठक तथा ७३ औं नेकपा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको । शायद त्यो मन्तव्य उहाँको जीवनको अन्तिम थियो होला । उक्त कार्यक्रममा पनि पशुपति दाइले पार्टी एकताकै पक्षमा भनाइ राख्नुभएको थियो । म यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल दुवै पक्षका नेता एवं कार्यकर्ता कमरेडहरुलाई आग्रह गर्न चाहन्छु– नेकपा एमाले बनाउन पशुपति दाइको ठूलो त्याग र समर्पण छ । पार्टी एकतालाई अक्षुण्ण राख्दै पशुपति दाइप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गरौं ।२०७७ चैत्र २३ गते पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा मेरो पशुपति दाइसँग कुराकानी भएको थियो । पत्रकारको निर्वाचनलाई राजनीतिक नभई व्यावसायिक सहमतिको आधारमा सम्पन्न गर्नुपर्ने उहाँको धारणा थियो । त्यसपछि उहाँलाई कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना हुनुभएपछि मैले कुरा गर्न चाहेको थिएँ । हेमन्तजी (पशुपति दाइका भाइ) ले ज्वरो अलिक बढी भएकोले कुराकानी गर्न सहज छैन तर आत्तिनुपर्ने अवस्था छैन भन्नुभयो । मैले त्यस्तो बेला टेलिफोन गर्नु सान्दर्भिक ठानिन ।

पशुपति दाइ असल राजनीतिज्ञ हुनुहुन्थ्यो तर उहाँको निकटता मानवअधिकार, पत्रकार, सामाजिक अभियन्ता सबैसँग थियो । कुनै प्रसंगमा उहाँ भन्नुहुन्थ्यो– पञ्चायत कालमा मैले पनि प्रकाश, छलफलजस्ता साप्ताहिक पत्रिकाहरुमा रिपोर्टिङ गरेको छु तर त्यो मेरो चाहनाले भन्दा पनि त्यति बेलाको परिस्थितिको आवश्यकता थियो ।’ सदरमुकाम चरिकोटमा रहेको मानवअधिकारवादी संस्था मानवअधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) को संस्थापक अध्यक्ष पनि पशुपति दाइ नै हुनुहुन्थ्यो ।पशुपति दाइले सांसद विकास कोषको रकमबाट नेपाल पत्रकार महासंघमा गणतान्त्रिक पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । पत्रकार महासंघ दोलखाको भवन निर्माणको लागि पनि आर्थिक सहयोग गर्नुभएको छ । मलाई सम्झना भएसम्म दोलखाका अर्का सादगी नेता भीमबहादुर तमाङको जिवनी समेटेर प्रकाशन गर्न लागिएको पुस्तकको लागि वरिष्ठ पत्रकार राजेन्द्र दाहालसँग मिलेर धेरै काम गर्नुभएको थियो ।पशुपति दाइसँग जहाँ जुनसुकै बेला भेट हुँदा पनि उहाँले विखण्डन, विग्रह र विवादित कुरा कहिल्यै गर्नुभएन । राजनीतिक कुरा गर्दा उहाँ सधैँ कम्युनिस्ट पार्टीबीच एकता र विपक्षीहरुसँग सहकार्य तथा सहमतिको राजनीतिक संस्कारको मात्र कुरा गर्नुहुन्थ्यो । अनि विकास र समृद्धिको लागि सामाजिक अभियन्ता र पत्रकारहरुको भूमिकाको कुरा गर्नुहुन्थ्यो । पशुपति दाइ विगत लामो समयदेखि नसासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो तर उहाँले राजनीतिबाट थकाइ मार्न चाहनुभएन ।

राजनीतिक अभियानकै क्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै जिल्लामा पुग्नुभयो । राजनीतिमा त्याग, समर्पण र एकताको सन्देश प्रवाह गर्नुभयो ।पशुपति चौलागाईं राजनीतिक निष्ठा, त्याग, सादगीपन र अठोटका कारण पशुपतिनाथजस्तै सम्मानित र सबैको आस्थाको केन्द्र बन्नुभएको थियो । म सम्झन्छु, मुलुकमा सहकारी अभियानलाई उचाइमा पु-याउन उहाँले निकै मेहनत गर्नुभएको छ । नेकपा एमालेमा केशव बडाल र पशुपति चौलागाईंलाई सहकारी अभियन्ताको रुपमा सबैले चिन्छन् । त्यसै गरी राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनाको लागि होस् या दोलखामा विस्तार भएको सडक, चरिकोट अस्पताल स्थापना, कोरोना परीक्षणको लागि चरिकोटमै पीसीआर प्रयोगशाला स्थापनालगायत जिल्लाको हरेक विकासे गतिविधिमा उहाँको सक्रियता, संलग्नता र सद्भाव सधैँ प्रशंसनीय तथा अनुकरणीय हुने गरेको थियो ।

आफ्नो जन्मथलो दोलखाको विकासमा मात्र हैन, नेपालको हरेक जिल्लाको विकास अभियान र राजनीतिक सहभागितामा पनि उहाँको सहभागिता र सक्रियता उस्तै थियो । सामाजिक अभियान, कार्यकर्ताको व्यक्तिगत काम या राजनीतिक अभियान जसले जहाँसुकै जाऊँ भन्दा पनि हुन्न भन्ने उहाँको आदत थिएन । न कसैप्रति वैरभाव, न कसैलाई भेदभाव, सबैसँग उत्तिकै हार्दिकता र सद्भाव ।

प्रतिक्रिया दिनुहोस्