भीमेश्वरको सिलामा पसिना, अब के होला ?



चिरञ्जीवी मास्के, दोलखा ।

दोलखा स्थित भीमेश्वर मन्दिरको सिलामा बैशाख २५ गते शनिवार झण्डै डेढ घण्टा पसिना आएको छ । भीमेश्वरको सिलामा दाँया पट्टी बाट पसिना आउदा राष्ट्रप्रमुख, बाँया पट्टीबाट पसिना आउदा जनता र सबैतिरबाट पसिना आउदा देशमा राम्रो या नराम्रो प्रभाव पर्ने जनविश्वास रहदै आएको छ ।

भीमेश्वर मन्दिरमा मध्यान्न पुजा चलिरहदा १२ः१५ बजे सिलामा पसिना आएको थियो । दिउँसो १ः४० बजेसम्म पसिना आएको भीमेश्वर गुठि तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो । म मध्यान्न पुजा गर्दै थिए भीमेश्वरको सिलाको दाँया माथिल्लो भागमा एक थोपा पसिना देखे मन्दिरका पुजारी काशिनारायण श्रेष्ठले भन्नु भयो – ‘त्यसपछि उक्त पसिना बढ्दै गएर सिलाको सबैतिर फैलियो ।’ सिलामा पसिना आएको देखेपछि आफुले अरु पुजारी र गुठियारलाई खबर गरेको श्रेष्ठले बताउनु भयो । भीमेश्वरको पूजा बिहान ५ बजेअघि आरम्भ, ९ बजे रुद्री, मध्यान्ह १२ बजे छक्काल (मध्यान्ह), दिउँसो २ बजे राजपूजा र साँझ ६ बजे सन्ध्या आरती पूजा गरिन्छ । कोरोनाका कारण सर्वसाधारणको लागि मन्दिर बन्द गरिएको भएपनि दैनिक पुजा भने भै रहेको थियो ।

कोरोना संक्रमणका कारण भीमेश्वर मन्दिरमा पसिना आउदा भीमेश्वर गुठि तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठ लगायत सिमित मानिसले मात्र पसिना पुच्छदै चम्मर हम्किएका थिए । बाहिर केहि मानिसले घण्टा र नगरा बजाएका थिए ।

मन्दिरमा पसिना आएपछि कपासले पसिना पुछेर चम्मरले हम्कने र ठूलो ठूलो आवाजमा घण्टा तथा नगरा बजाउने प्रचलन रहेको छ । पहिलो पटक पसिना पुछेको कपास राष्ट्रप्रमुखको मा पठाउने र राष्ट्र प्रमुखबाट क्षमा पुजा गर्ने प्रचलन समेत रहेको छ । यो पटक कोरोना संक्रमणका कारण प्रमुख जिल्ला अधिकारी मार्फत कपास राष्ट्रपति कहाँ पठाउने र उपयुक्त समयमा क्षमा पुजा गरीने दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखाका वडा अध्यक्ष विराजमान श्रेष्ठले बताउनु भयो ।

यस अघि २०७७ साल मंसिर ९ गते पनि भीमेश्वरको सिलामा पसिना आएको थियो । त्यसैगरी भीमेश्वरको सिलालाई १९९० सालमा पसिना आउँदा महाभूकम्प गएको, १९९७ सालमा पसिना आउँदा राणा सरकारले चार जनालाई फाँसी दिएको, २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य भएको, २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको, २०१८ सालमा पसिना आउँदा देशमा ठूलो बाढीपहिरो आएको स्थानीय स्मरण गर्दछन् ।

त्यसैगरी २०२८ सालमा पसिना आउँदा राजा महेन्द्रको मृत्यु भएको, २०३५ सालमा पसिना आउँदा जनमत संग्रह भएको, २०४५ साल चैत्रमा पसिना आउँदा भूकम्प गएको, २०५७ साल माघ १ र १५ गते पसिना आउँदा २०५८ सालमा दरवार हत्या काण्ड भएको स्थानिय बताउछन् । त्यस्तै २०६१ फागुनमा पसिना आउँदा २०६२ सालमा जन आन्दोलन भएको र २०६४ साल जेष्ठ ५ गते पसिना आउँदा राजतन्त्रको अन्त्य भएको उनीहरु बताउँछन् । त्यसैगरी पछिल्लोपटक २०७० साल मंसिर र फागुन १३ गते, २०७४ असोज १० गते र २०७६ फागुन ८ गते पनि भीमेश्वरको शिलामा पसिना आएको थियो ।

प्रतिक्रिया दिनुहोस्