वेस्ट इन्डिजले गर्‍यो क्लिन स्विप



लन्डन, (एजेन्सी) ।

एन्टीगुआमा खेलिएको तेस्रो र अन्तिम वानडेमा वेस्ट इन्डिजले श्रीलंकालाई ५ विकेटले हराएको छ । यो जितसँगै वेस्ट इन्डिजले ३ खेलको वानडे सिरिजमा क्लिन स्विप ग¥यो । २०१४ पछि विन्डिजले आफ्नै घरेलु भुमिमा पहिलो पटक कुनै टिममाथि क्लिन स्विप गरेको हो । वेस्ट इन्डिज भ्रमणमा रहेको श्रीलंका टिमले अहिलेसम्म ३ टी २० र ३ वानडे खेलेकोमा एकमा मात्रै जित हासिल गरेको छ ।

अब दुबै टिमले २ टेस्टको सिरिज खेल्नेछन् ।श्रीलंकाले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७४ रनको बलियो योगफल बनाएको थियो । तर, घरेलु टिम विन्डिजले ४८.३ ओभरमा ५ विकेटमा २ सय ७६ रन बनाएर जित हासिल गर्‍यो । टिमलाई जित दिलाउन डेरेन ब्राभो र शाइ होपले शानदार ब्याटिङ गरेका थिए । ब्राभो र होपले तेस्रो विकेटका लागि १ सय ९ रनको साझेदारी गरे । प्लेयर अफ द म्याच घोषित ब्राभोले १ सय २ रनको योगदान दिएका थिए । त्यस्तै प्लेयर अफ द सिरिज घोषित होपले ६४ रन बनाएका थिए ।होप आउट भएपछि निकोलास पूरन पनि १५ रन बनाएर आउट भए । तर, कप्तान किरोन पोलार्डले ब्राभोलाई राम्रो साथ दिएपछि विन्डिजको जित सुनिश्चित भएको थियो ।

ब्राभो ५ चौका र ४ छक्का प्रहार गरेर आउट भएका थिए । पोलार्डले ४२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५३ रनको नटआउट इनिङ खेलेका थिए । श्रीलंकाका सुरंगा लकमलले सर्वाधिक २ विकेट लिए ।यसअघि श्रीलंकाको ब्याटिङमा ओपनर गुणाथिलाकाले ३६ रन र कप्तान करुणारत्नेले ३१ रन बनाएका थिए । तल्लो क्रमका ब्याटसम्यान वनिंदु हसारंगाले ६० बलमा ७ चौका र ३ छक्काको सहयोगमा नटआउट रहँदै ८० रनको योगदान दिए । त्यस्तै आशेन बन्डाराले ७४ बलमा ३ चौका र १ छक्काको सहयोग ५५ रन बनाए । विन्डिजका अकिल हुसेनले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्