बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिता सम्पन्न, काभ्रे कराँते एकेडेमी प्रथम



मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रे कराँते एकेडेमीको आयोजनामा जिल्लाको ब्यापारीक नगरी बनेपामा बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको छ ।
१३ जिल्लाका २ सय १० खेलाडीहरु सहभागि प्रतियोगिताको उद्घाटन बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले गर्नु भएको थियो ।

प्रतियोगितामा आयोजक जिल्लाका दुई टिम सहित १४ टिम सहभागि भएका थिए । प्रतियोगिताको समापन सहित खेलाडीहरुलाई पुरस्कार वितरण सितोरियो कराँते महासंघका अध्यक्ष दावा गुरुङ्गले गर्नु भएको थियो । प्रतियोगिताका संयोजक एवं काभ्रे कराँते एकेडेमीका अध्यक्ष कुवेर मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा १८ लाख खर्च भएको आयोजकले जानकारी गराएका छन् ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा ४० केजी तौल समुह देखि ७५ केजी तौल समुहका महिला पुरुष खेलाडीहरु सहभागि भएका थिए । प्रतियोगितामा कराँते एकेडेमी प्रथम भएको थियो । ७ वटा स्वर्ण, १ वटा रजत र ३ वटा काश्य प्राप्त गरी काभ्रे कराँते एकेडेमी प्रथम भएको हो । त्यस्तै ४ वटा स्वर्ण, ४ वटा रजत सहित २ वटा काश्य प्राप्त गरी काठमाडौ जिल्ला दोश्रो र २ वटा स्वर्ण, २ काश्य पदक र ६ वटा काश्य पदक प्राप्त गरी भक्तपुर जिल्ला तेश्रो भएको छ । उदयीमान खेलाडीका रुपमा काभ्रेकी इशा श्रेष्ठ, उत्कृष्ट महिला खेलाडी काठमाडौकी एलिसा तामाङ र उत्कृष्ट पुरुष खेलाडी काभ्रे कराँते एकेडेमीका साजन लामा घोषित भए ।

त्यस्तै महिला तर्फ ४० केजी समुहमा इशा वाईवा, काभ्रे एकेडेमी, ४५ केजी समुहमा इशा श्रेष्ठ, काभ्रे एकेडेमी, ५० केजी समुहमा एलिसा तामाङ, काठमाडौं, ५५ केजी तौल समुहमा सुस्मिता वाईवा, काभ्रे एकेडेमी, ६१ केजी समुहमा रोजिता ढुङ्गेल, दोलखा र ६१ केजी तौल समुह भन्दा माथी विनिता श्रेष्ठ, काभ्रे कराँते एकेडेमीबाट प्रथम भएका छन् ।

पुरुष तर्फ ७५ केजी भन्दा माथी समुहमा काठमाडौका आशिष थापा, ७५ केजीमा नुवाकोटका दिनेश नेपाली, ६७ केजी समुहमा काठमाडौका रोशन बलामी, ६० केजी समुहमा काभ्रे एकेडेमीका एलोन श्रेष्ठ, ५० केजी तौल समुहमा काभ्रे एकेडेमीका साजन मोक्तान र ४५ केजी समुहमा काभ्रे एकेडेमीकै मनिष पुलामी मगर प्रथम भएका छन् । काटा तर्फ शिरिष श्रेष्ठ भक्तपुर र शर्मिला श्रेष्ठ काभ्रे कराँते एकेडेमीका खेलाडी प्रथम भएका छन् । विजयी खेलाडीहरुलाई प्रमाणपत्र, मेडल र ट्रफि वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागिहरुले प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरी सफल बनाएकोमा धन्यवाद ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्