६० हजारभन्दा बढी दर्शक रंगशालामा



नयाँ दिल्ली, (एजेन्सी) । 

भारत र इंग्ल्यान्डबीच शुक्रबार अहमदाबादमा भएको पहिलो टी २० खेल ६० हजार भन्दा बढी दर्शकले रंगशालामा आएर हेरेका छन् ।उक्त नरेन्द्र मोदी रंगशालामा ६७ हजार २ सय दर्शकले खेल हेरेको भारतीय सञ्चार माध्यमले जनायो । कोरोना भाइरसको लकडाउनपछि पहिलोपटक यतिका संख्यामा दर्शक रंगशालामा आएका हुन् । रंगशालाको क्षमता भने १ लाख ३२ हजार दर्शकको हो ।

सिरिज शुरू हुनअघि गुजरात क्रिकेट संघले १ सय प्रतिशत समर्थकलाई रंगशालामा ल्याउने कुरा गरिएको थियो । यो निर्णयलाई खेलको केही समयअघि रद्द गरियो र ५० प्रतिशत समर्थकलाई मात्रै रंगशालामा प्रवेश गराउन स्विकृति दिएको थियो । संघको अनुसार टिकट पनि करिब ५० प्रतिशत मात्रै बिक्री भएको थियो । संघका एक अधिकारले बताए कि कम मूल्यमा टिकटको माग धेरै रहेको थियो । यो टिकटको मूल्य ५ सय र १ हजार भारतीय रूपैयाँ रहेको थियो । यी टिकट नै सबैभन्दा बिकेको थियो ।

लकडाउनपछि रंगशालामा समर्थकको प्रवेशबीच पहिलो अन्तर्राष्ट्रिय सिरिज अस्टे«लिया र न्युजिल्यान्ड महिला टिमले खेलेका थिए । यो वानडे सिरिज गएको वर्ष सेप्टेम्बरको अन्त्यमा ब्रिस्बेनमा खेलिएको थियो । पुरुष क्रिकेटमा पहिलो खेल नोभेम्बरको अन्त्यमा न्युजिल्यान्ड र अस्टे«लियाबीच खेलिएको थियो । दुवै खेलमा सीमित दर्शकलाई प्रवेशको अनुमति मिलेको थियो ।
इंग्ल्यान्ड जित्यो

५ खेलको टी २० सिरिजअन्तर्गत शुक्रबार खेलिएको पहिलो खेलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले हराएको थियो । भारतले पहिले ब्याटिङ गरेर ७ विकेटको नोक्सानमा १ सय २४ रन बनाएको थियो । जवाफमा इंग्ल्यान्डले १५.३ ओभरमा २ विकेट गुमाएर १ सय ३० रन बनाएर खेल जितेको थियो । जोफ्रा आर्चर ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए । उनले २३ रन दिएर ३ विकेट लिएका थिए । दोस्रो खेल आइतबार यही नरेन्द्र मोदी रंगशालामा खेलिनेछ ।

प्रतिक्रिया दिनुहोस्