च्याम्पियन सातदोबाटोको जितबाट लिग अन्त्य



नेपाल समाचारपत्र, काठमाडौं ।

‘ए’ डिभिजन उक्लिएको टिम सातदोबाटो युवा क्लबले सहिद स्मारक बी डिभिजन लिग जितबाट अन्त्य गरेको छ ।

बिहीबार भएको लिगको अन्तिम खेलमा सातदोबाटोले रानीपोखरी कर्नर टिम (आरसीटी) लाई १–० ले हराएको हो । योसँगै ‘बी’ डिभिजन लिग च्याम्पियन सातदोबाटोले जितबाट प्रतियोगिता अन्त्य गर्‍यो । माल्दिना अन्गथुपोले ६७ औं मिनेटमा गरेको गोल नै टिमलाई जित्न पर्याप्त भएको हो । २८ अंक जोडेको सातदोबाटोले च्याम्पियन भएबापत १५ लाख नगद पुरस्कार प्राप्त गरेको छ ।

यस्तै, सातदोबाटोसँग ३ अंकले पछि परेको खुमलटार युथ क्लबले दोस्रो पुरस्कार १० लाख नगद हासिल गर्‍यो । तेस्रो स्थानमा रहेको बाँसबारी क्लबले ८ लाख प्राप्त गर्दा चौथो स्थानको ब्वायज युनियनले ५ लाख नगद हासिल गर्‍यो । ब्वायज युनियनले फेयर प्लेको अवार्ड जित्दै थप २५ हजार नगद पनि हात पार्‍यो ।

प्रतियोगितामा खुमलटारका अन्जल श्रेष्ठ र सबिन केसी क्रमशः उत्कृष्ट गोलरक्षक र उत्कृष्ट फरवार्ड घोषित भए । यस्तै, बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर घोषित हुँदा सातदोबाटोका दिनेश राई र सनोज श्रेष्ठ क्रमशः उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनीहरूले जनही २५ हजार नगद पुरस्कार पनि प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्