पुलिस मेयर कपको फाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल पुलिस क्लब जारी काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
पुलिसले बुधबार लिग चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा काठमाडौं मेयर ११ लाई १ सय ३ रनले हराएको हो । योसँगै पुलिस ४ खेलमा ६ अंकसहित फाइनलमा पुगेको हो । आज हुने खेलमा काठमाडौं मेयर ११ लाई पराजित गरेमा एपीएफ फाइनलमा पुग्नेछ । एपीएफको जितले आजै हुने बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको खेल औपचारिकतामा मात्रै रहनेछ । एपीएफले जितपछि ६ अंक जोड्ने भएकोले २÷२ अंक जोडेका बागमती र आर्मीको फाइनलमा पुग्ने संभावना समाप्त हुनेछ ।

यदि एपीएफले हार आत्मसात गरेमा बागमती र आर्मीबीचको खेलको विजेता टिम, एपीएफ र काठमाडौ मेयर मध्ये एकले फाइनलको यात्रा तय गर्नेछ । यी तीनै टिमको ४-४ अंक हुने भएकाले नेट रनरेटमा जुन टिमको राम्रो औसत रहनेछ त्यही टिमले पुलिससँग फाइनलमा भेट गर्ने अवसर प्राप्त गर्नेछ ।त्रिवि मैदानमा भएको खेलमा पुलिसले १ सय ९८ रनको लक्ष्य दिएको थियो । तर, आयोजकको टिम काठमाडौ मेयरले ३१।२ ओभरमा सबै विकेट गुमाएर मात्र ९४ रन बनाएको थियो । पराजित टिमका लागि कप्तान सन्दीप लामिछानेले जोडेको २६ रन नै उच्चतम व्यक्तिगत योगदान सावित भएको थियो । यस्तै मध्यम क्रमका ब्याटसम्यान कृष्ण कार्की र सिद्धान्त लोहनीले क्रमशः १९ र १८ रन जोडेका थिए । जबकी बाँकी ८ जना ब्याटसम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।पुलिसका बलरमा पवन शर्राफले सर्वाधिक ४ विकेट लिए । उनले ६।२ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेका थिए । यस्तै दिपेन्द्रसिंह ऐरीले ३ विकेट लिए । उनले ८ ओभरमा ३ मेडनसहित १८ रन दिएका थिए । अन्यमा ललितनारायण राजवंशीले २ र सागर ढकालले १ विकेट हासिल गरेका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले ४७।४ ओभरमा सबै विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । टिमका लागि शीर्ष ब्याटसम्यानहरुले औसत प्रदर्शन गरेका थिए । जसमा योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रनको योगदान दिए । उनले ५५ बलमा ४ चौका प्रहार गरेका थिए ।यसैगरी ओपनर कुशल भुर्तेलले ३४ रन बनाए । उनले २९ बलको सामना गरेर ३ चौका र ३ छक्का प्रहार गरेका थिए । अर्का ओपनर सुनील धमलाले ३ चौका र १ छक्काको सहयोगमा २२ रन जोडेका थिए । उनीहरुले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेर राम्रो शुरुवात दिलाएका थिए । अन्य ब्याटसम्यानमा पवनले २८ रन जोड्दा दिपेन्द्रले २४ रन बनाएका थिए । काठमाडौं मेयरका बलरमा हरिशंकर साह, सन्दीप र बिपिन कार्कीले ३÷३ विकेट लिए । १ विकेट अनिल खरेलले हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्