बागमतीको मेयर कपमा पहिलो जित



नेपाल समाचारपत्र, काठमाडौं ।

बागमती प्रदेशले जारी काठमाडौं मेयर कप क्रिकेट लिगमा पहिलो जित हासिल गरेको छ ।
मंगलबार त्रिवि मैदानमा भएको खेलमा बागमतीले विभागिय टिम नेपाल एपीएफ क्लबलाई २७ रनले हराएको हो । योसँगै ज्ञानेन्द्र मल्लको टिम बागमतीले ३ खेलबाट २ अंक जोड्न सफल भयो । बागमतीले पहिले ब्याटिङ गरेर २ सय ३३ रनको योगफल बनाएको थियो । जवाफमा एपीएफको पूरै टिम ४४.५ ओभरमा २ सय ६ रनमै समेटिएको थियो । यो एपीएफको ३ खेलमा पहिलो हारसमेत हो ।

एपिएफका ओपनर आसिफ शेखले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५० रनको योगदान दिनुबाहेक अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । बागमतीका बलर सोनु देवकोटाको घातक बलिङको कारण पनि एपीएफका खेलाडीहरूले सोचे जस्तो प्रदर्शन गर्न सकेनन् । सोनुले शीर्ष ७ ब्याटसम्यानमध्ये ६ जनालाई पभेलियन फर्काएका थिए । उनले आसिफको महŒवपूर्ण विकेट लिनुका साथै शंकर रानालाई २९ रनमा, भुवन कार्कीलाई १४ रनमा, सुमित महर्जनलाई ४ रनमा, सन्दीप जोरालाई २५ रनमा र वसन्त रेग्मीलाई ११ रनमा आउट गरे ।

‘प्लेयर अफ द म्याच’ सोनुले लगातार विकेट लिएपछि एपीएफको १ सय ६६ रनमा ७ विकेट पतन भएका थिए । त्यसो त रामनरेश गिरिले बागमतीका लागि शुरुआतमै पहिलो सफलता दिलाएका थिए । रामनरेशले ओपनर तथा कप्तान शरद भेषवाकरलाई ४ रनमै आउट गरेका थिए । यसपछि सोनुको जादु चलेपछि बागमतीले जारी प्रतियोगितामा पहिलो जितको स्वाद चाख्न अग्रसर भयो । बाँकि तीन विकेटमा रोहित पौडेलले २ तथा रामनरेशले १ विकेट लिएका थिए । सोनुले १० ओभरमा ४१ रन दिएर ६ विकेट लिँदा रोहित र रामनरेशले २÷२ विकेट हात पारेका थिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित ५० ओभरमा ६ विकेटको नोक्सानीमा २ सय ३३ रन बनाएको थियो । टिमका लागि सातौं नम्बरमा ब्याटिङमा आएका नन्दन यादवले सर्वाधिक ६० रनको योगदान दिए । नटआउट रहेका उनले ५६ बलमा ७ चौका र २ छक्का समेत प्रहार गरेका थिए । छैटौं विकेटका लागि नन्दन यादव र आदिल खानले ७३ रनको महŒवपूर्ण साझेदारी गरेका थिए । आदिल ४४ बलमा ४ चौकासहित ३४ रन बनाएर आउट भए । त्यस्तै, ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्लले ५७ रन बनाए । उनले ८४ बलको सामना गर्दै ७ चौका प्रहार गरेका थिए । अन्यमा इशान पाण्डेले ३१ रन र पारस खड्काले २९ रनको योगदान दिए । एपीएफका अमर सिंह राउटेला र किशोर महतो २–२ विकेट लिए । वसन्त रेग्मी र अभिनाश बोहराले १–१ विकेट लिए ।

साहबको घातक बलिङ, तर आर्मी पराजित

मूलपानीमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई स्पिनर साहब आलमले जित दिलाउन सकेनन् । साहब एक्लैले ७ विकेट लिएर घातक बलिङ गरे पनि आर्मी नेपाल पुलिस क्लबसँग ३ विकेटले हार्नपुग्यो । आर्मीले ८८ रनको कमजोर लक्ष्य पस्कनु नै हारको कारण बनेको थियो । सो लक्ष्य पुलिसले ७ विकेट गुमाएर १८.३ ओभरमा पूरा गरेको थियो । यो जितसँगै पुलिस ४ अंकसहित शीर्ष स्थानमा उक्लियो । एपीएफको पनि ४ अंक नै छ ।

साहबले आर्मीका ओपनर कुशल भुर्तेललाई आफ्नो पहिलो ओभरमा आउट गरेर विकेट लिन शुरु गरेका थिए । कुशलले १ रन मात्रै बनाएका थिए । यसपछि दिलिप नाथ र सुनील धमलाले स्कोर ४८ रनसम्म पु¥याउँदा दिलिपलाई साहबले आउट गरे । दिलीपले १५ रनको योगदान दिएका थिए । स्कोर ६० रन सम्म पुग्दा साहबले थप ४ विकेट हात पार्दै आर्मीलाई जितको संभावनामा राखे ।तर, सुनील र पवन शर्राफले सातौं विकेटका लागि २४ रन जोडेपछि आर्मीको जितको संभावना सकियो । यद्यपि, साहबले सुनीलको विकेट लिएका थिए । यतिबेलासम्म पुलिस जितको निकट पुगिसकेको थियो । सुनीलले पुलिसका लागि सर्वाधिक ३९ रनको योगदान दिए । पवन २२ रनमा नटआउट रहे । साहबले ९ ओभरमा १ मेडनसहित ४५ रन दिएर ७ विकेट लिएका थिए ।

यसअघि, आर्मीले ३०.१ ओभरमा अलआउट हुँदै ८७ रनको योगफल बनाएको थियो । टिमका लागि लोकेश बलले सर्वाधिक ३२ रन जोडे । यस्तै, विक्रम सोबले १४ रन र रोहित पौडेलले १३ रन बनाएका थिए । जबकी बाँकी ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन पनि सकेनन् । विक्रम र लोकेशले नवौं विकेटका लागि ४१ रन साझेदारी गरेर टिमलाई न्यूनतम रन बन्नबाट जोगाएका थिए । पुलिसका बलरमा सँगर ढकालले ५ विकेट लिए भने पवनले ३ तथा ललित नारायण राजवंशीले २ विकेट हासिल गरे ।

प्रतिक्रिया दिनुहोस्