सोमपालको ब्याटिङमा आर्मीको जित



नेपाल समाचारपत्र, काठमाडौं ।

अलराउन्डर सोमपाल कामीको उत्कृष्ट प्रदर्शनमा जारी काठमाडौं मेयर कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले शानदार जित हात पारेको छ ।सोमबार त्रिवि मैदानमा भएको खेलमा आर्मीले काठमाडौं मेयर ११ लाई ५ विकेटले हरायो । आर्मीले काठमाडौं मेयरले दिएको १ सय ५६ रनको लक्ष्य २३.५ ओभरमा ५ विकेटको नोक्सानीमा भेटाएको हो । विभागीय टिमको जितमा ओपनर ब्याटसम्यान सोमपालले विस्फोटक ब्याटिङ गरे । उनले ५१ बलको सामना गरेर ८० रन बनाएका थिए । उनले ९ चौका र ६ छक्का प्रहार गरे ।

अर्का ओपनर लोकेश बम १ रनमै आउट भए भने भीम सार्की १६ रन र रोहित पौडेल शून्यमा आउट हुँदा आर्मीले ३६ रन मात्रै बनाएको थियो । तीन ब्याटसम्यान सस्तैमा पभेलियन फर्केको अवस्थामा सोमपाललाई कुशल मल्लले राम्रो साथ दिए । उनीहरुले चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्दै टिमको स्कोर १ सय ८ मा पु¥याए । कुशल २३ बलमा २३ रन बनाएर आउट भए । त्यसपछि १७ रन थप्दा सोमपाल पनि ठूलो शट खेल्ने क्रममा क्याच आउट भएका थिए । उनीहरु दुवैलाई काठमाडौं मेयरका कप्तान सन्दीप लामिछानेले आउट गरेका थिए ।

यसपछि कप्तान विनोद भण्डारी (२० रन) र राजेश पुलामी (८ रन) ले टिमको जितको औपचारिकता पुरा गरे । काठमाडौं मेयरको बलिङमा लामिछानेले ९ ओभरमा ७४ रन खर्चेर २ विकेट लिए । विपिन खत्रीले ४.५ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । अनिल खरेलको नाममा १ विकेट रह्यो ।यसअघि, टस हारेर ब्याटिङ गरेको काठमाडौं मेयरले ४२.१ ओभरमा १ सय ५५ रन बनाएको थियो । टिमका लागि सौरभ खनालले ७४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४२ रनको योगदान दिए । सन्दीप रजालीले ६३ बलमा ३ चौका सहित ३७ रन बनाए । एक समय ६५–४ को कमजोर अवस्थामा पुगेको टिमलाई पाँचौं विकेटका लागि सौरभ र सन्दीपले ६६ रनको साझेदारी गर्दै ब्याटिङ उकासेका थिए । तर त्यसपछिका ब्याट्सम्यानले साझेदारी गर्न नसक्दा बलियो योगफल बनाउन सकेनन् ।
आर्मीको बलिङमा स्पिनर साहब आलमले १० ओभरमा १ मेडनसहित ३९ रन खर्चेर ४ विकेट लिए । तीव्र गतिका बलर जितेन्द्र मुखियाले १० ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए । विक्रम सोब, कुशल मल्ल र सोमपाल कामीले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्