नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।

काठमाडौँको भिमसेनस्थानस्थित कामना प्रतिष्ठानको भवनमा भएको सो कार्यक्रममा मुख्य अतिथिका रुपमा कामना न्युज पब्लिकेसन प्रालिका प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठ, पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि एम विरही, नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्ले वरिष्ठ पत्रकार राजेन्द्र पराजुली, पत्रकार कमल ढकाल, कामना मासिकका सम्पादक विदुर गिरीलगायतको उपस्थिती रहेको थियो ।

नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाका कोषाध्यक्ष सूर्य अर्यालले स्वागत मनतब्य राख्दै स्वर्गीय वरिष्ठ पत्रकार तथा कामना न्यूज पब्लिकेसन्स प्रालिका सञ्चालक पुष्करलाल श्रेष्ठका योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

यस्तै, कार्यक्रममा शाखाका कार्यबहाक अध्यक्ष राजु श्रेष्ठले सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । श्रेष्ठले स्वर्गीय पत्रकार पुष्करलाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शाखाका आगामी कार्यक्रमका बारेमा विभिन्न योजना प्रस्तुत गर्नुभएको थियो ।

उहांले शाखाबाट बेला बखतमा आफ्ना सहकर्मीका लागि हुँदै आएको विभिन्न आर्थिक सहयोगका बारेमा बताउँदै श्रेष्ठले आगामी दिनहरुमा पनि यस्ता कार्य भइरहने जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा उपस्थित पत्रकारको हितकालागि प्रकाशन गृहमा कार्यरत पत्रकारहरुले प्रत्येक महिना महासंंघको कोषमा एक सय जम्मा गर्ने निर्णय गरेका छन ।

नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेले यस संस्थाबाट धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएको उल्लेख गर्दे पुष्करलालकै कारण यस संस्थाले निरन्तरता पाएको बताउनुभयो । काफ्लेले पनि विगत केही समयदेखि पत्रकार महासंघ राजनीतिक भागवण्डाको थलो बन्दैगएकोमा चिन्ता ब्यक्त गर्नु भयो ।

कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार राजेन्द्र पराजुलीले स्वर्गीय पत्रकार पुष्करलाल श्रेष्ठ र कामना प्रकाशनले आफूलाई स्थापित पत्रकार बनाउँनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । पत्रकार महासंघ केन्द्रले विगतमा पत्रकारका हितमा धेरै राम्रा काम गर्न नसकेको उल्लेख गर्दै पराजुलीले हाल राजनीतिक हस्तक्षेपका कारण भने महासंघ भातृ संगठन जस्तो हुन गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा उपस्थित पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि एम विरहीले ६ दशक अघि स्थापना भएको महासंघमा अब पहिलेको जस्तो ठेकेदारी प्रथाको अन्त्य हुँदै गएको बताउदै अव महासंघ खुला निर्वाचनमा जान लागेको बताउनु भयो । उहाँले पछिल्लो समय महासंघ श्रमजीवी मुखी बन्दै गएको दावी गर्नुभयो ।

विरहीले महासंघबाट राजनीतिक व्यक्तिलाई विस्थापित गर्दै श्रमजीवीको थलो बनाउने कार्यमा संलग्न हुन सबैलाई आग्रह गर्नुभयो । ३ वर्षको अन्तरालमा पत्रकार लक्षित कडा कानुन बनेता पनि महासंघले लडाई लडेर संसोधन गर्न सफल भएको उहांले दावी गर्नुभयो । हजारौँ गैर पत्रकारको घुसपैठ भएको उल्लेख गर्दै उहाँले अब खुला मतदानले सुधारिने अवस्था आएको बताउनुभयो ।

यस्तै, ३० वर्ष निरन्तर पत्रकारिता क्षेत्रमा लागेको ६० वर्ष नाघेका वरिष्ठ पत्रकारलाई छिट्टै पेन्सनको व्यवस्था गरिने उहाँले बताउनु भएको छ । यस्तै, पत्रकार दुर्घटना विमाका लागि १ करोडको कोष खडा भएको उहाँले जानकारी दिनुभयो ।

सर्वोच्चबाट विज्ञापन नीति पारित भएको जनाउँदै विरहीले महासंघका तर्फबाट समस्यामा परेका मिडियालाई सहुलियतपूर्ण ऋणको माग भएको जानकारी दिनुभयो ।

यस्तै, विभिन्न कामका लागि उपत्यका आएका पत्रकारको बस्ने व्यवस्थाका लागि पुरुष छात्रवास उपलब्ध भएको र महिला छात्रावास भने निर्माणाधिन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

हाल विभिन्न युट्युव र अनलाइनका कारण बेलाबखतमा समस्या उत्पन्न भएको बताउँदै विरहीले यस समस्या समाधानका लागि महासंघले विभिन्न कार्यक्रम बनाउँदै गरेको जानकारी दिनु भयो ।

कार्यक्रमको अन्त्यमा बोल्दै पत्रकार कमल ढकालले आर्थिक हिसाबमा पत्रकारीता क्षेत्र निकै कठिन भएता पनि ज्ञान आर्जनका लागि भने यो क्षेत्र मुख्य स्रोत भएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्