पसल बन्द गरेर भागे माछा व्यापारी

कालीमाटीमा भएका २६ वटामध्ये अनुगमन सुरु हुनासाथ १५ बटा पसल बन्द गरिए


न्युज अफ नेपाल, काठमाडौं ।

सोमबार बिहान कालीमाटी तरकारी बजारको छेउमा भएका २६ वटा माछा पसलमध्ये १५ वटा पसलका व्यापारी सटर तानेर यताउता लागे । महानगरको अनुगमन टोली बजारमा पुगेर फलफुल बजारतर्फबाट माछा पसलको अनुगमन थालेपछि मुल ढोकातर्फका १५ वटा पसलका व्यापारीले सटर तानेर भागेका हुन् ।

यस क्रममा कसैले ताल्चा नै लगाउन भ्याए भने कसैले भ्याएनन् । व्यापारीले सटर तान्दा अनुगमन टोली सप्तरी माछा पसलमा भेटिएको ९ किलो सडेको माछा जफत गर्दै थियो । ‘आइस हाल्न बिर्सेछु । माछा त्यति त बिग्रेको छैन । अलिअलि मात्र हो ।’ माछा पसलका सञ्चालक मोहम्मद मज्लुम मियाँ आफूलाई बचावट गर्दै थिए ।

भागे त? कैफियत के हो? प्रश्नको उत्तरमा महानगरको पशु सेवा बिभागका पशु सेवा अधिकृत डम्मरबहादर बम भन्दै हुनुहुन्थ्यो — ‘माछाको गुणस्तरमा भन्दा, खरिद बिक्री बिल जारी नगरेकोमा व्यापारी आत्तिएका हृुन् । अनुगमनका क्रममा हेरिएका पसलहरुमध्ये धेरैमा दर्ता, नविकरण र खरिद बिक्री बिलमा समस्या देखियो ।’

खरिद बिक्री बिल जारी नहुँदा माछा कहिले प्याकिङ् गरिएको हो? भन्ने कुरा थाहा हुँदैन । अनुगमनका क्रममा रहनुभएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भन्नुभयो — ‘खरिद बिक्री बिल जारी नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठगिनु हो ।’

‘यो अनुगमनको हामी स्वागत गर्छौं । हाम्रा व्यापारीलाई सुध्रिने समय दिनोस् ।’ अनुगमन गर्दा गर्दै आउनु भएका काठमाडौं माछा बजार समितिका अध्यक्ष बीरेन्द्रकुमार यादव भन्दैहुनुहुन्थ्यो — ‘कानुन नमान्ने व्यापारीलाई कारवाही गर्न हामी पनि सघाउँछौं ।’

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।