डा. केसी निषेधाज्ञा हटाउने पक्षमा

पाँच बुँदे माग पूरा नगरे पुनः अनशन


नेपाल समाचारपत्र, काठमाडौं
चिकित्सा क्षेत्रका अनियमितताका विषय उठाएर बारम्बार सरकारलाई घचघच्याउँदै आएका डा. गोविन्द केसीले सरकारका नाममा पुनः पाँच बुँदे मागसहितको खबरदारीपत्र जारी गर्नुभएको छ । उहाँले सरकारले अझै ध्यान नदिए जुनसुकै बेला आमरण अनशन बस्ने चेतावनी पनि दिनुभएको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरिनुपर्ने, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाबअनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्नुपर्ने माग डा. केसीले राख्नुभएको छ ।

संघीय तथा कर्णाली प्रदेशको प्रशासनले नागरिक अधिकार कुण्ठित गर्ने प्रयास गरेको आरोप लगाउँदै डा. केसीले भन्नुभयो– ‘हाम्रो अभियानमा सहभागी हुने नागरिकलाई मात्रै नभएर हामीसित भेटघाट र बोलचाल गर्ने व्यक्तिलाई समेत केरकार गर्ने र तर्साउने तानाशाही गतिविधि तत्कार रोक।’

कोरोना महामारीका बेला भ्रष्टाचार र अनियमितता बढ्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता भर्ती गरिएको भन्दै सो नियुक्ति कुनै हालतमा स्वीकार्य नहुने अडान पनि देखाउनुभएको छ ।

‘यसरी सबै पदमा पार्टी कार्यकर्ताहरु भर्ती गर्दै जाने हो भने त्रिवि शिक्षण अस्पतालजस्तो देशकै अग्रणी स्वास्थ्य र शिक्षण संस्था धरासयी हुने निश्चित छ । यसरी नियुक्त भएका मानिसहरु संस्थाप्रति नभई आफूलाई नियुक्त गर्ने पार्टीप्रति बफादार हुने तथा ठेक्कापट्टाको धाँधलीबाट पार्टीलाई धनी बनाउने र संस्थालाई पार्टीको कार्यकर्ता भर्तीकेन्द्र बनाउनेबाहेक अरु काम नहुने निश्चित छ।’ –डा. केसी मागपत्रमा उल्लेख गर्नुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमबीबीएसलगायतका कार्यक्रमहरु सञ्चालन गर्न, प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्न, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन शुरू गर्न, प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन उहाँले माग गर्नुभएको छ ।

यसैगरी गत २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न, बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी निःशुल्क सेवा सुनिश्चित गर्न र मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्न पनि उहाँले माग गर्नुभएको छ ।